काठमाडौं– गृह मन्त्रालयले आज फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । गृहले एक सूचना गरी गरी माघ २९ गते त्यस्तो जानकारी दिएको हो ।
गत वर्ष फागुन १ गते सरकारको निर्णयबाट सार्वजनिक बिदा दिइएको थियो । त्यसलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
गृह मन्त्रालयको सूचनामा ‘फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको’ प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भएको छ ।
सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो । सर्वोच्चले बिदा बदर गरिदिएपछि गृह मन्त्रालयले सूचना निकालेर फागुन १ मा सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको हो ।
संघीय सरकारले गत वर्ष ’जनयुद्ध दिवस’का नाउँमा फागुन १ मा बिदा दिएको थियो ।
सर्वोच्चले गत पुस १३ गते अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो । शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो ।
माओवादीले जितेका केही स्थानीय तहहरूले ‘जनयुद्ध दिवस’का नाउँमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
प्रकाशित मिति २०८० फाल्गुन १, मंगलवार ०५:३९ गते