काठमाडौँ— नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जना महानुभावहरूलाई २०७९ सालको ’नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले फागुन ७ गते त्यस्तो निर्णय गरेको हो ।
ती सबै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ । उहाँका अनुुसार डा.भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । उहाँले भन्नुभयो, ‘नइ प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् रहनु भएको हुँदा उहाँलाई सो पुरस्कार समर्पण गर्ने भएको हो ।’
यसैगरी पोखराका प्रा. जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ । उहाँले छ दशकअघिदेखि नेपालको पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षाको थालनी र संवर्धनका लागि आजीवन समर्पित भएको सम्मान स्वरुप उक्त पुरस्कार प्रदान गरिने भएको हो ।
यसैगरी, छ दशकदेखि नारीहरूको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल समर्पित प्रसूति विशेषज्ञ डा.सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
नइ प्रकाशनले नेपाली कलाका फाँटमा अविच्छिन्न संलग्न रही अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली संस्कृतिमा आधारित चित्रकलाको प्रतिष्ठा बढाएबापत श्री कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
खेलकुदको विकासमा मन, वचन र कर्मद्वारा संलग्न रही अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको प्रतिष्ठा बढाएबापत कुमार श्री मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
सनातन अध्यात्म दर्शन र धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा समर्पित श्री कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।
त्यसैगरी, नेपाली साहित्यको श्रीवृद्धिमा सिर्जनात्मक र संस्थागत रूपमा निरन्तर क्रियाशील रही नेपाली भाषासाहित्यको गौरव बढाएबापत श्री श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ । उहाँका अनुुसार त्रिमूर्ति निकेतनको स्थापनाका निम्ति विशिष्ट भूमिका निर्वाह गर्नाका साथै पत्रकारिताका माध्यमबाट सामाजिक चेतनाको निर्माण एवम् नेपाली भाषाको संवर्धनका निम्ति अनुकरणीय योगदान गरेबापत हरिहर विरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र संवर्धनमा विशिष्ट योगदान पु¥याएबापत स्याङ्जाका श्री विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने निर्णय भएको नइ प्रकाशनका सदस्यसचिव प्रसाईले बताउनु भएको छ ।
प्रकाशित मिति २०८० फाल्गुन ७, सोमबार १५:४७ गते