काठमाडौं– नेपालमा ठगीका धन्दा निकै मौलाइरहेका छन् । पछिल्ला दिनमा बचत सहकारी संस्थाबाट पीडित हुनेहरूको संख्या ठूलो भए पनि लिखित रुपमा उजुरी दिनेहरूको संख्या ज्यादै न्यून छ । यस्तै अर्को ठगी धन्दा मिर्गौला बेचबिखनको पनि डरलाग्दो दृश्यको खुलासा भएको छ राजधानी काठमाडौंसँग सीमा जोडिएको जिल्ला नुवाकोटमै ।
नुवाकोटको शिवपुरी गाउँपालिका– जो काठमाडौंको सामाखुसी चोकबाट टोखा– नुवाकोट सडक खण्ड पार गरेपछि पुगिन्छ । राजधानीबाट दुरीको हिसाबले २४ किलोमिटर पिच रोडको बाटो यात्रा गर्दा पुगिने शिवपुरी गाउँपालिका । जो प्राकृतिक रुपमा सुन्दर देखिन्छ । त्यसै पालिकाबाट हुने गरेको मिर्गौलाको तस्करी धन्दा ।
त्यस गाउँपालिकाको दलित समुदायको दैनिकी भने कारुणिक छ ।
शिवपुरी गाउँपालिकाको वडा– ६ खोलेगाउँ र वडा– ७ सुनखानीका दलित समुदायका अधिकांश युवाहरूको मिर्गौला(किड्नी) तस्करी र बेचबिखनमा लागेको तथ्यको रहस्य उजागर भएसँगै उनीहरूको पीडा पनि बचत सहकारीका पीडितसँग मिल्दोजुल्दो देखिन आएको हो ।
शिवपुरी गाउँपालिकाका चार युवालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले मिर्गौला तस्करीको आरोपमा एक वर्षयता पक्राउ गरी कानुनी कठघरामा उभ्याएको छ । केही आरोपीहरू भने अझै फरार छन् । उनीहरूले शिवपुरी गाउँपालिका– ६ खोलेगाउँका २२ वर्षीय (कुमार परियार) नाम परिवर्तनको झुक्याएर मिर्गौला बिक्री गरेको आरोपमा पक्राउ परेका हुन् ।
कुमार उनको परिवारका एक्ला छोरा हुन् । उनको दिदीहरू चार जना छन् ।
गत पुस १६ गते मात्रै थप एक आरोपीलाई ब्यूरोको टोलीले पक्राउ गरेको थियो । उनी नुवाकोट बेलकोटगढी नगरपालिका– १३ का ४३ वर्षीय हरि नेपाली हुन् । उनीहरू हाल पुर्पक्षका लागि थुनामा छन् । ब्यूरोको टोलीले उनलाई पछिल्लोपटक पक्राउ गरेका आरोपी बताएको छ ।
यसअघि साउन २१ गते, २०७९ का दिन शिवपुरी गाउँपालिका– ७ सुनखानीका मुरली दमाई, राजु नेपालीलाई ब्युरोको टोलीले पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेको भोलिपल्टै साउन २२ गते थप दुई शिवपुरी गाउँपालिका– ६ खोलेगाउँका राजेश परियार र सुवास नेपालीलाई पनि पक्राउ परेका थिए ।
मिर्गौला तस्करीकै अरोप लागेका शिवपुरीकै रमेश नेपालीसहित थप दुई अझै फरार रहेको ब्यूरोले जनाएको छ । यसरी पक्राउ परेका र फरार सबै दलित समुदायका युवाहरू हुन् ।
कुमारलाई २०७९ वैशाखमा काकडभिट्टा नाकाबाट भारतको कलकत्तास्थित मुकुन्पुरको रविन्द्रनाथ टेगोर अस्पतालमा पु¥याएर मिर्गौला झिक्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
कुमारलाई यसरी पुर्याइँएको थियो कलकत्ता :
सानै छँदा कुमारका बुबाको मृत्य भयो । त्यसपछि उनको लालनपालनको जिम्मा आमाको काँधमा पुग्यो । पढाई लेखाइ गर्ने घरको आर्थिक अवस्था बलियो थिएन । त्यसैक्रममा हुँर्कदै गएपछि कुमारले गाउँघरतिर पुर्खाले अपनाएको पेशा विवाह– ब्रतबन्धमा बाजा बजाउने काम गर्न थाले । सोही क्रममा ०७९ सालको वैशाखमा नुवाकोटको छहरे पुगे । त्यहाँ शिवपुरी गाउँपालिका– ७ सुनखानीका मुरली दमाई पनि थिए । मुरली पक्राउ परेका खोलेगाउँका राजेश परियारका सुसुरासमेत हुन् । राजेश पीडित कुमारका आफ्नै भतिजा हुन् ।
त्यसै भेटमा मुरलीले कुमारलाई गाउँमा बाजा बजाउनुभन्दा भारतमा काम गर्न गए राम्रो कमाई हुने आकर्षण देखाउँदै लोभ्याए । घरको दुःख सम्झेर भारतमा काम गर्न जान कुमारले सहजै स्विकार गरे ।
त्यसपछि मुरलीले आफ्नै ज्वाइँ राजेशको मोबाइलमा पटक– पटक सम्पर्क गराई कुमारलाई भारत जाने वातावरण बनाए । गत वैशाखमा मुरलीले कुमारलाई भेट्न सुनखानी बोलाए ।
मुरलीले भारतको कलकत्तामा ममः पसलका लागि काम गर्ने मानिस चाहिएको र मासिक ३० हजार भारु कमाई हुने आसवासन दिए । ३० हजार पाउने आशामा कुमार सुनखानीबाट राजु नेपालीसँगै काठमाडौं आएका थिए ।
काठमाडौं पुगेका कुमारलाई राजुले नयाँ बसपार्कस्थित गेस्ट हाउसमा लगे । त्यहाँ एक अपरिचित युवा थिए । ती युवाले कुमारलाई कोरोना टेस्ट गर्ने भन्दै एक निजी मेडिकलमा लगे । रगत परीक्षणपछि ती युवाले रिपोर्ट ठीक आएको भन्दै त्यही दिन साँझ ७ बजेको यात्रीबसमा झापाको काकडभित्ताको बस चढाए । कुमार ती अपरिचित युवासँगै झापाको काकडभिट्टा हुँदै कलकत्ता पनि पुगे ।
कलकत्ता पुगेपछि ती अपरिचित युवाले ममः साहुका छोरा बनाएर अनिस खड्कालाई भेटाई दिए । कुमार अनिसको जिम्मामा परे ।
अनिस को थिए ? भन्ने प्रहरीको समेत टाउको दुःखाईको विषय बनेको छ । किनकि, कुमारलाई अनिसको नाम बाहेक बाँकी केही जानकारी छैन । अनिसले कुमारलाई जागिर दिनुको सट्टामा आफ्नो बुबाको दुवै मिर्गौला फेल भएका कारण बोलाएको भन्दै मिर्गौला झिकेपछि ६ लाख रुपैयाँ दिने प्रलोभन देखाए ।
प्रहरीसँगको बयानमा कुमारले भनेका छन्, ‘म मिर्गौला दिन तयार नहुँदासमेत अनिस खड्काले अस्पतालमा लगेर अचेत पारेर मिर्गौला झिके । अस्पतालमा दुई हप्ता तथा खड्का परिवारले लिएको अपार्टमेन्टमा थप दिन हप्ता राखेर मलाई नेपाल पठाएका हुन् ।’
सहकारीका पीडितलाई झैं मिर्गौलाका पीडितालाई उजुरी नगर्न दबाब :
बचत सहकारीका ठग सञ्चालकहरूले पीडितहरूले अनेक जाल प्रपञ्च रच्दै फकाउँदै, धम्क्याउँदै र तर्साउँदै प्रहरीकोमा उजुरी नगर्न दबाब सहितको वातावरण तयार गरेझैं सोही बाटो मिर्गौलाका तस्करहरूले समेत अपनाएको देखिन्छ ।
अघिल्लो वैशाखमै कलकत्ता पुगेका कुमारलाई अनिसले २०७९ को असार ७ गते काठमाडौंको गौशाला ल्याएर छ लाख रुपैयाँ दिएर छाडेका थिए । त्यसपछि कुमार घर जान माछापोखरी स्थित शान्तियामा घलानको होटल पुगे । त्यो होटलमा उनकै भतिजा राजेश परियार पनि थिए । राजेश र उनका ससुरा मुरलीकै योजनामा कलकत्ता पुगेका कुमारलाई नेपाल फर्किएपछि पनि राजेशले घटनाबारे कसैलाई जानकारी नदिनु प्रहरीले थाहा पाए पक्राउ गर्छ भनेर त्रासमा राख्ने गरेको रहस्य समेत प्रहरीले यतिबेला पत्ता लगाएको छ ।
बायाँतर्फको मिर्गौला बिक्रीबाट कुमारले पाएको ६ लाख मध्येबाट एक लाख ५० हजार राजेशकी श्रीमतीलाई दिएको तर त्यो रकम समेत फिर्ता नपाएका कुमारले बताएका छन् ।
प्रहरीको अनुसन्धानबाट कुमारलाई काठमाडौंबाट कलकत्ता पु¥याउने सुवास नेपाली रहेको खुलेपछि उनी पक्राउ परेका हुन् ।
अर्कोतिर, ‘सहकारीबाट फसाइएका पीडितहरूजस्तै मिर्गौला पीडितका पीडकहरू पनि अधिकांश आफ्नै नातेदार परेका कारणले पीडितहरूलाई खुम्चिन बाध्य बनाएको स्थिति छ ।’ स्रोत भन्छ ।
मिर्गौला बेचबिखनमा गाउँको सिङ्गो समुदाय :
शिवपुरी गाउँपालिका र आसपासका पालिकामा रहेका दलित समुदायका केही व्यक्तिहरू मिर्गौला कारोबारमा लागेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धानका क्रममा खुल्न आएको स्रोतले बताएको छ ।
तर त्यसबारेमा उजुरी प्रहरीमा उजुरी दिन कुमारबाहेक अन्य नआएका कारण अनुसन्धानमा बाधा परिरहेको ब्युरोका एसपी कृष्ण पंगेनीले बताउनु भयो । उहाँका अनुसार आर्थिक विपन्न र जनचेतनाको अभावका कारण दलित युवाहरू आफैँ मिर्गौला बेच्नेदेखि तस्करीमा लाग्न बाध्य भएको छ । उहाँले भन्नुभयो, ‘कुमारबाहेक अन्य दलित युवाहरूको समेत मिर्गौला झिकिएको सूचना हामीले पाएका छौं । तर, पीडितले उजुरी नदिँदा पक्राउ गर्न सकिएको छैन ।’
शिवपुरीका अधिकांश दलित युवाहरूले सहमतिमै मिर्गौला बिक्री गरेको अनुसन्धानमा संलग्न ब्यूरोको डीएसपी ज्ञानबहादुर बिष्टको दावी छ तर पीडित सम्पर्कमा आएर उजुरी नदिँदा प्रहरी आफैँले अनुसन्धान गरेर मुद्दा लिन सक्ने अवस्था छैन ।’
खोलेगाउँमा यतिबेला नयाँ अनुहार देख्नासाथ प्रहरी नै हो कि ! भन्ने त्रासमा गाउँलेहरू रहेछन् । त्यसैले यो प्रतिनिधिले आफू प्रहरी नभएको र मिर्गौला बेचविखन घटनाबारे बुझ्न मात्र आएको जानकारी दिदै घुमाउरो शैलीमा कुमारको मिर्गौला बिक्रीबारे चासो बढाएको थियो ।
मिर्गौला तस्करीमै पक्राउ परेका राजेश परियारका बुबा राजु परियारले भन्नुभयो, ‘पीडित पनि हाम्रै आफन्त हो । उसैले पोलेको आधारमा छोरा पक्राउ परेको हो । सुनखानीतिर त सबैले मिर्गौला बेचेको छ भन्ने सुनिन्छ । त्यहाँकै मान्छेहरूसँगको संगतले हाम्रो छोरा राजेश पनि फस्यो ।’
प्रहरीले दिएको सूचना जस्तै उनले पनि सहमतिमै मिर्गौला बेचबिखन हुने हुँदा कोही पनि उजुरी दिन प्रहरीमा नपुग्ने बताए । उनीबाहेक खोलेगाउँ नजिकैको चिया पसलका अधिकांशको भनाई पनि राजुकै जस्तो थियो ।
मिर्गौला बेच्न हिँडेका रघुले भागेर फर्केका थिए :
शिवपुरी खोलेगाऊँ खाजा पसलमै भेटिएका त्यहीका रघु कामीले आफू पनि मिर्गौला बिक्री गर्न माछापोखरी पुगेर फर्किएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘हाल पक्राउ परेकाहरूकै समूहले किड्नी बेच्दा १२÷१३ लाख रूपैयाँ आउने प्रलोभन देखाएर काठमाडौं माछापोखरी पु¥याएका थिए ।’ उहाँले थप भन्नुभयो, ‘हाल पक्राउ परेकै समूहले मलाई पनि माछापोखरी पु¥याएको हो । मलाई माछापोखरीको एक होटलमा राखे । पछि रगत जाँच गर्न लगाए । यहाँबाट ठीक भयो भने मात्रै भारत लैजाँदा रहेछन् ।’
आफूलाई समेत मेडिकल टेस्ट गरेर भारत लैजान खोज्दा होटलबाट भागेर सितापाइलामा दिदीको घर पुगेको बचेको उहाँको भनाइ छ । उहाँका अनुसार, मिर्गौला तस्करी गर्ने समूहले होटलमा बस्दा युवतीदेखि मदिराको समेत व्यवस्थापन गरेर प्रलोभन पार्ने गर्दा रहेछन् ।
आफ्नै मिर्गौला बेचेर तस्करीमा :
यसैबीच, कुमारको मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका मुरली दमाईले आफ्नै मिर्गौलासमेत बिक्री गरेको खुलेको छ । उनले सहमतिमै भारतको कलकत्ता पुगेर मिर्गौला बिक्री गरेका हुन् । उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘म १३ वर्षको उमेरदेखि काठमाडौंको लाजिम्पाट बस्दै आएको छु । पञ्जेबाजा बजाउने ब्याण्डमा झुर्मा बजाउने काम गर्छु । कृष्ण दमाई भन्ने व्यक्तिमार्फत एक लाख ५० हजार रुपैयाँमा मैले दायाँ मिर्गौला बिक्री गरेको हुँ ।’
मिर्गौला बेच्ने मान्छे खोजेवापत एक लाख रुपैयाँ कमिसन आउने लोभमा परेर कुमार खोजेको उनले साविति बयानमा बताएका छन् । कुमारसँगै हाल पक्राउ परेका राजेश र राजुले समेत मिर्गौला बेच्न खोज्दा उनीहरूले रगत नमिलेपछि बिक्री गर्न नसकेको मुरलीले प्रहरीसँगको बयानमा भनेका छन् ।
प्रहरीले पक्राउ गरेलगत्तै पीडित कुमारले समेत सहमतिमै मिर्गौला बिक्री गरेको बयान प्रहरीलाई दिएका थिए ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द्रप्रसाद थपलियाले पनि अशिक्षा र आर्थिक अभावका कारण दलित समुदायका युवाहरू मिर्गौला बेचबिखनमा लागेको बताउनु भयो । उहाँका अनुसार तस्करीमा लागेका मानिसले आर्थिक प्रभावमा पारेर नै मिर्गौला बेच्न लगाउने रहेछन् । उहाँले भन्नुभयो, ‘केही समय अघिदेखि नै मिर्गौला बेच्ने धन्दामा लागेका रहेछन् । मुख्य कारण नै अशिक्षा देखियो । हामीले एकीकृत घुम्ती शिविरमार्फत जनचेतना जगाउने काम गरिराखेका छौं ।’
अध्यक्ष थपलियाले पनि सहमतिमै बेचविखनको काममा लागेकाले पालिकामासमेत कुनै गुनासो नआएको जानकारी दिनुभयो ।
खोलेगाउँमा यतिबेला नयाँ अनुहार देख्नासाथ प्रहरी नै हो कि ! भन्ने त्रासमा गाउँलेहरू रहेछन् ।
– स्रोत : बाह्रखरी ।
प्रकाशित मिति २०८० फाल्गुन ७, सोमबार १८:५६ गते