भक्तपुर– विद्यालयस्तरका विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउन थालिएको छ । कन्डम दिवसका अवसरमा सो कार्य सुरुवातले फागुन ६ गते गरेको हो ।
सुरुवातले किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्यका बारेमा कक्षा सञ्चालन गरेको छ ।
चाँगुनारायण नगरपालिका– ३ स्थित सुरुवात संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयमा पुगेर त्यहाँ अध्ययनरत कक्षा ९ र १० मा अध्ययन गर्ने किशोर किशोरीहरूलाई किशोर किशोरी अवस्थामा आउने परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित यौन व्यवहार तथा कन्डमको महत्त्व र उपयोगिता जस्ता विषयमा प्रकाश पार्ने काम गरेको हो ।
सो अवसरमा विद्यालयका कक्षा– ९ र १० का ४० विद्यार्थीहरूसँग संस्थाले यसको महत्वको विषयमा अन्तरक्रिया गरेको सुरुवातका अनुसन्धान संयोजक अनुप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कन्डमको विषय आयो भने शिक्षक शिक्षिकाले पनि पठाउन हिचकिचाउने अवस्था अझै पनि छ भन्दै उहाँले अब पनि किशोर किशोरीहरूलाई त्यो अवस्थामा आउने परिवर्तन तथा यौन तथा प्रजनन स्वास्थ्यको विषयमा जानकारी नदिने हो भने यसले भविष्यमा ठुलो समस्या ल्याउन सक्छ । उहाँले भन्नुभयो, ‘त्यसैले त्यसको समाधानका लागि सुरुवात मार्फत विद्यालयमै गएर विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य एव कन्डम लगायतको प्रयोगको विषयमा जानकारी दिइएको हो ।’
हामीले हरेक वर्ष कन्डम दिवस त मनाउँछौँ तर अझ पनि यसको प्रयोगको विषयमा राम्रो चेतना भने अभाव रहेको आफ्नो अनुभव समेत उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘किशोर किशोरीहरूलाई अझ यसको विषयमा जानकारी दिन आवश्यक छ ।’
सुरुवातले विद्यालयमा गएर यौन तथा प्रजनन स्वास्थ्यको विषयमा जानकारी दिनुका साथै कन्डम दिवसका अवसरमा सुरुवातको कार्यालय अगाडि कन्डमको प्रयोगलाई बढवा दिँदै एचआइभी एड्स जस्ता सङ्क्रमण कम गराउने, यौन रोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कन्डमको प्रयोग गर्नुपर्ने, कन्डम प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी लगायतका विषयमा जानकारी प्रदान गरिएको अधिकारीको बताउनु भएको छ ।
प्रकाशित मिति २०८० फाल्गुन ८, मंगलवार ०६:१७ गते