पोखरा– पोखराको मदरल्याण्डमा आयोजित त्रिदिवसीय बृहत् सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी तथा विविध सम्मान विद्यालय प्राङ्गणमा संस्कृति संरक्षणमा जोड दिँदै सम्पन्न भएको छ ।
समापन सत्रको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले संस्कारयुक्त जीवन उपयोगी सीप प्रदान गर्ने प्रष्ट पार्दै बालबालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षक अभिभावक नै भएको उल्लेख गर्नु भयो । आचार्यले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी देश तथा विदेशसम्म आफ्नो पहिचान बनाउन सफल भएको प्रशंसा गर्दै अब कमजोर सामुदायिक विद्यालयलाई सघाउँदै अगाडि बढ्न सुझाव दिनु भएको थियो ।
सो अवसरमा विद्यालय निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य लगायतले संस्कार र संस्कृतिको प्रवर्द्धन, विकास र संरक्षणमा विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकले विशेष भूमिका खेल्न सक्नेमा जोड दिनु भएको थियो ।
कक्षा नर्सरीदेखि बाह्रसम्मका करिब एक सय चालिस प्रस्तुतिहरू राख्दै सम्पन्न भएको उक्त कार्यक्रममा २ हजारभन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष भाग लिएको विद्यालयले जनाएको छ ।
तीन दिनसम्म नै सङ्गीतमय बनेको त्यस विद्यालयको कार्यक्रममा विविधतामयी नेपाली संस्कृतिलाई पूर्ण रूपमा समेट्ने विषयवस्तुका साथ पृथ्वी तथा प्रकृति जोगाउनुपर्छ, परोपकार गर्नुपर्छ, अरू माथि दया देखाउनुपर्छ, संस्कृतिको संरक्षण गर्नुपर्छ जस्ता सन्देशमूलक विभिन्न गीत तथा नृत्य, गायन, नाटक÷प्रहसन, भजन, गाईजात्रा आदि प्रस्तुत गरिएको प्रत्यक्षदर्शी अभिभावकहरूले बताए । उनीहरूका अनुसार प्रस्तुतिमा कुनै कमीकमजोरी रहेको पाइएन ।
सम्पूर्ण प्रस्तुतिहरू अध्ययन विद्यार्थीहरूले कडा अभ्यास र मिहिनेतका साथ तयारी गरेको हुँदा कमजोरी नदेखिएको हो ।
यसैगरी मानव जीवनसँग सम्बन्धित समसामयिक विषयवस्तु समेटिएका मुहारचित्र, दृश्यचित्रहरू, स्केच तथा विभिन्न रङको संयोजनका साथ विद्यार्थीद्वारा तयार पारिएका कला तथा चित्रहरू पनि प्रदर्शन तथा बिक्री गरिएको विद्यालयका कला शिक्षक डिबी गुरुङले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण पोख्रेलको सभापतित्व तथा सहकार्यकलाप प्रमुख सुनिल सुवालको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमको सञ्चालन प्रा. वि. इन्चार्ज केशु शर्मा, शिक्षकद्वय बामनकुमार घिमिरे र विनीत छन्त्यालका साथमा कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरूले संयुक्त रूपमा गरेका थिए ।
सरस्वतीपूजा तथा अक्षरारम्भ :
यसैबीच, विद्यार्थीहरूमा समयअनुसारका पर्वहरू मनाउन सिकाउने उद्देश्यका साथ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा एक समारोह बिच सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम समेत फागुन २ गते गरिएको छ ।
प्रकाशित मिति २०८० फाल्गुन ८, मंगलवार १८:०४ गते