साहित्य सुधाको पाँचौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

साहित्य सुधाको पाँचौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

रमेशचन्द्र घिमिरे

@antaranganews

२०८० फाल्गुण ९ गते बुधबार १०:१७

कार्यक्रममा अध्यक्ष काफ्लेले वाचकहरूलाई आआफ्ना फोटोसहितको कप उपहारको रूपमा प्रदान गर्नु भएको थियो । प्राडा रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपाल संरक्षक रहेको संस्थाका परिकल्पनाकार कवि मनीषा प्रसाईं हुनुहुन्छ ।

सभाबाट कल्पना काफ्लेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित

काठमाडौं– साहित्य सुधा नेपालको पाँचौ वार्षिकोत्सव भव्यका साथ सम्पन्न भएको छ ।
साहित्य सुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो ।
पाँचौ वार्षिकोत्सवको अवसरमा महाकाव्यकार सीता भट्टराईलाई नगद राशि १५ हजार रूपैयाँका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष कल्पना काफ्ले, पुरस्कार संस्थापक र प्रमुख अतिथिले एकैसाथ स्रष्टालाई सम्मान गर्नु भएको हो ।
कार्यक्रममा प्राडा प्राज्ञ देवी नेपालले सम्मानित स्रष्टाबारे परिचर्चा गर्नु भएको थियो । उहाँले कवि भट्टराई सुझाव लिएर कार्यमा रूपान्तरण गर्ने सचेत लेखक भएको उल्लेख गर्नु भयो ।
त्यसैगरी वरिष्ठ समालोचक प्राडा रामप्रसाद ज्ञवालीले सम्मानित स्रष्टालाई शुभकामना दिंदै सम्मानित स्रष्टा निकै संघर्षशील भएको र उनको जीवन नै पठनीय रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी नेपाली समर्थक भयौ, नेतृत्व लिएनौ, फ्लोअर्स भयौं तर लिडर भएनौं । त्यसैले पछि परेका छौं । तर, यस्तो अवस्थामा पनि सम्मानित स्रष्टाको सोच बृहत् देखिन्छ ।’
उक्त कार्यक्रममा कृष्णप्रसाद प्रसाईं, जानुका गुरागाई, दुर्गाप्रसाद सिग्देल, पवित्रा दाहाल, पूजन मिश्र, बोधराज पौडेल, लक्ष्मण गाम्नागे, विष्णुप्रसाद आचार्य र श्रीराम राईले कविता तथा मुक्तक वाचन गर्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष काफ्लेले वाचकहरूलाई आआफ्ना फोटोसहितको कप उपहारको रूपमा प्रदान गर्नु भएको थियो ।
प्राडा रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपाल संरक्षक रहेको संस्थाका परिकल्पनाकार कवि मनीषा प्रसाईं हुनुहुन्छ ।
पुरस्कारका संस्थापक अध्यात्म चिन्तक कवि हरिभक्त सिग्देलले संस्थाका अध्यक्ष काफ्लेको उद्धारवादी सोच तथा क्रियाशीलताबाट प्रभावित भएर पुरस्कारको स्थापना गरेको बताउनु भयो ।
सो अवसरमा वरिष्ठ पद्य कवि प्रह्लाद पोख्रेल र मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सारगर्भित मन्तव्य रार्नुभएको थियो ।
कार्यक्रममा गत साल सम्मानित स्रष्टा तथा महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, सल्लाहकार तथा मुक्तककार रमेश पौडेल, लिलाध्वज थापा प्रतिष्ठानका संस्थापक अध्यक्ष विजयध्वज थापा, मुक्तककार सुनिल अधिकारी, प्राडा गोविन्दमानसिंह कार्की, सिस्नोपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, डा. वासुदेव काफ्ले जस्ता दर्जनौं महानभावको उपस्थिति रहेको थियो ।
‘साहित्यको संवर्द्धन, हाम्रो अभियान’ भन्ने नाराको साथ स्थापना भएको संस्थाको साधारण सभाबाट कल्पना काफ्लेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ ।
संस्थाका उपाध्यक्षमा गणेश मार्मिक घिमिरे, सचिवमा कृष्णदेव रिमाल, कोषाध्यक्षमा इन्दिरा दाहाल निर्वाचित हुनु भएको छ । यसैगरी, सदस्यहरूमा राजेन्द्र घिमिरे, मुकेश रिजाल, पवित्रा दाहाल, जानुका गुरागाईं र डिल्लीप्रसाद मूलतिहुन निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति २०८० फाल्गुन ९, बुधबार २२:१७ गते
हजुरको प्रतिक्रिया