भोर्लेटार(लमजुङ)– बालकवि एवम् साहित्यकार, यहाँ स्थित ईशानेश्वर क्याम्पसका प्रमुख रमेशचन्द्र घिमिरे मातृशोकमा पर्नु भएको छ । उहाँकी ममतामयी आमा भीष्मकुमारी घिमिरेको ७९ वर्षको उमेरमा अप्रत्यासित रुपमा हिजो साँझ पाटन अस्पताल लगनखेल, ललितपुरमा निधन भएसँगै उहाँ शोकमा पर्नु भएको हो ।
उहाँमा खासै त्यस्तो विरामी भने केही नभएको परिवार स्रोतको भनाइ छ । परिवार स्रोतका अनुसार गत बडादशैंदेखि राजधानी काठमाडौं बस्दै आउनु भएकी उहाँले एकसाता अघि मात्र आफ्ना पति स्व. पूर्णचन्द्र घिमिरेको श्राद्धकर्ममा समेत सक्रियपूर्वक भाग लिनु् भएको थियो ।
स्वर्गीय भीष्मकुमारी अन्त्यन्तै मेहनती कुशल गृहिणी हुनुहुन्थ्यो । उहाँको त्यही स्वभावले ३७ वर्ष अघि ४९ वर्षमै उहाँको श्रीमान् पूर्णचन्द्र(तत्कालीन प्रअ ईशानेश्वर मावि)ले त्यो परिवारलाई टुहुरो बनाउनु भएता पनि उहाँले आफ्ना छोराछोरीलाई बाबुको अभावको आभास हुन दिनु भएन । फलस्वरुप उहाँले आफ्ना पाँच जना छोराछोरीहरूलाई आजका दिनमा गौरवपूर्ण जीवन यापन गर्न सक्ने स्थितिको सुनिश्चित गराउनु सफल हुनुभयो ।
स्व. भीष्मकुमारी स्थानीय ईशानेश्वर मावि तथा ईशानेश्वर क्याम्पसको संस्थापक आजीवन सदस्य समेत हुनुहुन्थ्यो ।
आमाको शव लिएर आफूहरू भोर्लेटार आइपुग्न लागेको बालकवि एवम् साहित्यकार रमेशचन्द्र घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार स्व. आमाको आजै अन्त्येष्टि गरिनेछ ।
पाँच जनामध्ये तीन छोराहरूमा बालकवि एवम् साहित्यकार रमेशचन्द्र घिमिरे स्व. भीष्मकुमारीका माइलो छोरा हुनुहुन्छ । स्व. भीष्मकुमारीका ११ जना नातिनातिना छन् ।
प्रकाशित मिति २०८० फाल्गुन ११, शुक्रबार ०६:४५ गते