नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्यपूर्ण : शशांक

नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्यपूर्ण : शशांक

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण ११ गते शुक्रबार ०७:५७

कांग्रेसका एक नेताले भने, ‘जनताले सबभन्दा बढी उठाएको भ्रष्टाचार नियन्त्रण, सुशासन जस्ता मुद्दामा जनताले चाहे जस्तो देखिने र सुनिने निर्णय गर्न सकिन्थ्यो, यो विषय नेतृत्वको प्राथमिकतामै परेन ।’

कांग्रेसले महासमिति बैठकबारेमा दिउँसो पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताउनु भएको छ । धर्म निरपेक्ष बनाउन नै गलत भएको बताउँदै उहाँले महासमिति बैठकको समापन समारोहमा ‘धर्म निरपेक्ष र सापेक्ष नभई स्वतन्त्र’ हुने फागुन १० गते बताउनु भयो ।
३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरु बन्नु राम्रो नहुने र चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘धर्म सम्बन्धी एउटा कुरा हो । धर्म न निरपेक्ष हुन्छ, न धर्म सापेक्ष हुन्छ । धर्म स्वतन्त्र हुन्छ । चार तारामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो । धर्म स्वतन्त्र हुन्छ । तर दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायौँ, यो गलत हो । हाम्रो पार्टी कमजोर छैन, हामीले गठबन्धन गर्नुपर्ने आवश्यकता म देख्दिनँ । गठबन्धन आफ्नो साथीहरूसँग गर्नुस् । नेपाली काँग्रेसको जुन मत खस्छ, त्यो ३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरुको बन्ने त्यस्तो काँग्रेस हामीलाई चाहिँदैन । चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउँदा गर्नुपर्छ ।’
कांग्रेसले महासमिति बैठकबारेमा दिउँसो पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी जानकारी गराउने जानकारी दिएको छ ।
महासमिति बैठक सफल भएको काँग्रेसको निष्कर्ष छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले भन्नुभयो, ‘नेपाल र नेपाली कांग्रेसको राजनीतिमा विशिष्ट ऐतिहासिक महत्व राख्ने मैले विश्वास लिएको छु ।’
सभापति देउवा मात्र होइन, समापन समारोहमा सम्बोधन गर्ने सबै नेताहरूले महासमिति बैठक सफल भएको दावी गर्नु भएको थियो । समापन समारोहमा लिखित सम्बोधन पढ्नु भएका सभापति देउवाले ‘वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको रुपमा मुलुकमा सुशासन, विकास समृद्धि ल्याउन सरकारलाई निरन्तर सहयोग गर्नु हाम्रो मुख्य दायित्व हो ।’ भन्नुभयो ।
तर महासमिति बैठक कांग्रेसको अबको बाटोको खाका कोर्न समेत असफल भएको आमबुझाइ छ । बैठकले पार्टी संगठन निर्माण, संविधान संशोधन र सरकारको काम कारबाहीबारे कुनै पनि निर्णय गर्न नसकेबाट त्यस्तो आंकलन गरिएको हो ।
कांग्रेस महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावलाई केन्द्रीय कार्यसमितले परिमार्जन सहित अन्तिम रुप दिने निर्णय गरेको छ । कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझाव सहित ग्रहण गरेको छ । लेखा समितिका संयोजक श्यामप्रसाद घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदन बैठकले अनुमोदन गरेको छ ।
गठबन्धनको बहसले अन्य विषय छायाँमा ः
तीनवटै प्रतिवेदन ३ फागुनमा बसेको केन्द्रीय कार्यसमिति बैठकमै पेश भएको थियो । दुई दिनसम्म भएको छलफलमा आएका सुझावका आधारमा परिर्माजनसहित अन्तिम रुप दिने निर्णय भयो । तर संस्थापन पक्षका नेताहरूबाट भविष्यमा चुनावी गठबन्धन नगर्ने संकल्प गर्ने महामन्त्री थापाको प्रस्तावमा आपत्ति व्यक्त भयो ।
गठबन्धनको विषय यति पेचिलो बन्न पुग्यो कि महासमिति बैठक उद्घाटन भइसक्दा पनि सांगठनिक प्रतिवेदन टुंगिन सकेन । महासमिति उद्घाटनकै क्रममा देउवा स्वयंले चुनावी गठबन्धन गर्ने कि नगर्ने परिस्थिति हेरेर निर्णय गर्ने विषय भएको बताउनु भयो । तर महामन्त्री थापाले अडान नछाडेपछि केन्द्रीय कार्यसमितिमा मतदान गर्ने निर्णय समेत भयो । तर भविष्यमा चुनावी गठबन्धन नगर्ने भन्नुको साटो एक्लै चुनाव लड्छौं भन्ने भाषामा सहमति जुट्यो ।
महामन्त्री थापा पक्षका नेताहरूले पनि त्यसको प्रतिवादमा समय खर्चिएपछि सदस्यता, नेतृत्व चयन प्रणाली, उम्मेदवार छनोट विधि (प्राइमरी इलेक्सन) लगायतका २० बुँदे सांगठनिक सुधारको कार्ययोजनमा छलफल नै भएन ।
नेताहरू बीच जुहारी ः
महासमिति बैठकको समापन समारोहमा पनि कांग्रेसको अलमल प्रष्ट देखिन्थ्यो । समापनमा पदाधिकारीहरुका साथै पूर्व पदाधिकारीहरूलाई ५–५ मिनेट बोल्न दिइएको थियो । नेताहरूले एउटै सन्देश दिएर पार्टी कार्यकर्तामा ऊर्जा भर्नुका साटो आ– आफ्ना तर्क र मत राख्ने काम गरे ।
महामन्त्री विश्वप्रकाश शर्माले प्राइमरी इलेक्सनलाई पाइलट प्रोजेक्टका रुपमा कार्यान्वयन गर्ने र कार्यकाल तोक्ने आफ्नो प्रस्ताव पास भएको दाबी गर्नुभयो । उहाँले निर्वाचित भएर शासनमा पुगेकाहरूले कसले कति पटकसम्म नेतृत्व गर्ने भन्ने समस्या रहेको भन्दै उहाँले एक्जिट पोलिसीबारे पनि महासमितिले निर्णय गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘देश दुनियाँलाई हामी सगौरव जानकारी चाहन्छौं, यो देशको कसैले पनि राष्ट्रपतिमा शपथ ग्रहण एक पटकभन्दा दोहो¥याएर गर्ने छैन । प्रधानमन्त्री पदको शपथ ग्रहण कसैले पनि दुईपटक भन्दा गर्ने छैन । मन्त्रीको सपथ तीन पटकभन्दा बढी गर्ने छैन । कसैले पनि सांसदको सपथ चार पटकभन्दा बढी गर्ने छैन ।’
तर महामन्त्री शर्माको कुरा मञ्चमा बसेर सुनिरहनु भएका सभापति देउवा भने खुेशी नहुनु भएको प्रष्टै देखिन्थ्यो । उपसभापति खड्काले त्यसको खण्डन नै गर्नुभयो । उहाँले भन्नुभयो, ‘महासमितिबाट आएका सुझावहरूलाई समावेश गरेर केन्द्रीय कार्यसमितिले सबै प्रस्तावलाई अन्तिम टुंगो लगाउने एउटा मात्र निर्णय गरेका छौं, यो बाहेक अरु कुनै निर्णय भएका छैन भन्ने प्रष्ट पार्न चाहन्छु ।’
उपसभापति पूर्णबहादुर खड्काले भन्नुभयो, ‘हामी ९ जनाले सरकारमा गएको दिनदेखि आजसम्म पार्टीका साथीहरुले शिर झुकाउनुपर्ने नुरु गिराउनुपर्ने गलत काम केही पनि गरेका छैनौं, बरु हामीले सुशासन ल्याउन, भ्रष्टाचार नियन्त्रण गर्न, दैनिक सेवामा ठूलो परिर्वतन ल्याउन प्रत्यन्न गरेका छौं ।’
कांग्रेसका एक नेताले भने, ‘जनताले सबभन्दा बढी उठाएको भ्रष्टाचार नियन्त्रण, सुशासन जस्ता मुद्दामा जनताले चाहे जस्तो देखिने र सुनिने निर्णय गर्न सकिन्थ्यो, यो विषय नेतृत्वको प्राथमिकतामै परेन ।’
तीन दिनसम्म गोदाबरीमा चलेको कांग्रेस महासमिति बैठकमा २ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।
काँग्रेसले महासमितिको बैठकका सहभागि तथा सहयोगी सबैलाई धन्यवाद दिएको छ ।
स्मरणीय छ, महामन्त्री थापाले आगामी चुनावमा कांग्रेस गठबन्धनबिनै होमिने प्रस्तावमा भने सभापति शेरबहादुर देउवाले आपत्ति प्रकट गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० फाल्गुन ११, शुक्रबार ०७:५७ गते
हजुरको प्रतिक्रिया