
काठमाडौँ— ‘नइ प्रकाशन’द्वारा चार जना प्रतिभाशाली महानुभावहरूलाई २०७९ सालक‘ो ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले फागुन ११ गते सो निर्णय गरेको हो ।
‘नइ प्रकाशन’ले जनचेतनाको संवर्धनका लागि नेपाली भाषाका माध्यमबाट अभिनय, नाटक, सिर्जना र हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान दिए बापत शैलेन्द्र सिम्खडालाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार सो पुरस्कारको राशि साठी हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
त्यसैगरी राजधानीबाहिर बसेर नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्याएबापत झापाका श्रीमती रीमा पाण्डे ‘मिनी’लाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने निर्णय गरिएको छ । त्यस्तै, प्राध्यापन, अनुसन्धान तथा सिर्जनाद्वारा नेपाली भाषासाहित्यको विकासमा प्रशंसनीय कार्य गरेबापत डा.साधना प्रतीक्षालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ । ती दुवै पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेको नइ प्रकाशनका सदस्यसचिव प्रसाईले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो दिनमा मिस नेवा सुश्री नितु डङ्गोललाई ‘नइ देरुनीख पौैरख पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ । डङ्गोललाई समाजसेवाका फाँटमा समर्पित एवम् साहित्य, कला र संस्कृतिको संवर्धन हेतु क्रियाशील रहेको हुँदा त्यस्तो निर्णय गरिएको हो । उक्त पुरस्कारको राशि पच्चिस हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।
ती पुरस्कारहरू निकष्ट भविष्यमै राजधानीमा विशेष समारोहको आयोजना गरी समर्पण गरिने छ ।

प्रकाशित मिति २०८० फाल्गुन १२, शनिबार ०७:३८ गते