
धनगढी– एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढंगाना निर्वाचित हु्नुभएको छ । ढुंगाना पूर्वप्रदेश सचिवालय सदस्य समेत हुनुहुन्छ । उहाँ जिल्ला कार्यसमितिका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद जोशी र सचिव डेजी पाण्डेलाई हराएर अध्यक्ष पदमा फागुन १२ गते निर्वाचित हुनु भएको हो ।
ढुंगानाले २ सय ८७, पाण्डेले २ सय १८ र जोशीले ६३ मत प्राप्त गर्नु भएको छ । अध्यक्षका उमेदवार तीनै जनाले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका थिए । तर परिणाम प्यानलको मिश्रीत रुपमा आएको छ ।
उपाध्यक्षमा डेजी पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी हुनुभयो । उहाँले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाउनु भएको छ । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत पाएको बतताइन्छ ।
सचिवमा पनि पाण्डे प्यानलका ममताप्रसाद चौधरीले दुई सय ४३ मतसहित विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत पाउनु भएको छ । सचिव पदमा अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गर्नुभयो । विश्वकर्मा दुर्गाप्रसाद जोशी प्यानलबाट चुनावी मैदानमा हुनुहुन्थ्यो ।
उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्टले दुई सय ५१ मत पाएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाउनु भएको छ । अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएको बताइन्छ ।
उपसचिव (महिला) मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी हु्ँदा प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाए ।
कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो । फागुन ६ गते सुरू भएको एमाले नवौँ अधिवेशनमा छैटौं दिन ११ मात्र मतदान भएको थियो ।
गए रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब सुरु हुने निर्वाचन कमिटीले जनाएको छ ।
प्रकाशित मिति २०८० फाल्गुन १२, शनिबार ०९:३९ गते