काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बिमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनेको दावी गर्नु भएको छ । उहाँले राष्ट्यिसभा अन्तर्गतको राष्ट्यि सरोकार तथा समन्वय समितिले संसद् भवनमा आयोजना गरेको कार्यक्रममा राजनीतिक दल र जनप्रतिनिधिमा चेतनाको अभावका कारण सो कार्यक्रम भ्रष्टाचारको माध्यम बनेको फागुन १२ गते बताउनु भएको हो ।
उहाँले राजनीतिक दल र जनप्रतिनिधिले मसिनोसँग ख्याल गरे त्यस्ता कार्यक्रममा हुने भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताउँदै भन्नुुभयो, ‘ … यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ । स्वास्थ्य बिमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ– संस्थाहरूकै चेतना छैन, सरकारले यो कसरी लागु गरिरहेको छ र योभित्र भ्रष्टाचार कसरी हुनसक्छ भन्ने जानकारी छैन ।’
उहाँले क्यान्सरजस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्यमा राजनीतिक दल जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोग लाग्ने हुँदा रोग लाग्नै नदिने गरी जनप्रतिनिधिले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले क्यान्सर रोगको निदानका निम्ति आवश्यक ऐन, कानुन बनाउने विषयमा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।
राष्ट्यि सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा (रावल)ले स्वास्थ्य बिमा कार्यक्रम समेटेर क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराउनु भयो । उहाँले आफू क्यान्सरको पीडाबाट मुक्त भएको स्मरण गर्दै किशोरीका निम्ति पाठेघरविरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘क्यान्सर रोगलाई स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत समेटी उपचारको व्यवस्था मिलाउन सरकारसँग आह्वान गर्दछौँ । क्यान्सर रोगको सचेतनाका लागि विद्यालय तहदेखि नै पाठयक्रममा समावेश गरी पठनपाठन गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछौँ, किशोरीहरूका लागि पाठेघरविरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न सरकारसँग माग गर्दछौँ ।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनु भयो । उहाँले काठमाडौं उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने गरेको बताउँदै ेत्यसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्न नहुने उहाँको जोड थियो ।
प्रकाशित मिति २०८० फाल्गुन १२, शनिबार १८:२३ गते