मुग्लिन(चिनवन)– आजदेखि नारायणगढ– मुग्लिन सडक खण्डमा यातायात बन्द नहुने भएको छ । सो खण्डमा निर्माण गरिएका पुलको कामका लागि दैनिक चार घण्टा गाडी रोकेर काम गर्दै आएकोमा आज फागुन १३ गतेबाट सो सडक खण्ड बन्द नहुने भएको हो ।
पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ– मुग्लिन सडक खण्ड आजदेखि बन्द नहुने भएको छ । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद हिजो फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको त्यही कामका लागि सवारी साधन रोक्नु पर्ने नभएको हो ।
गत पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड(नारायणगढ– मुग्लिन)का प्रमुख केदार नेपालले बताउनु भयो । उहाँका अनुसार यो अवधिका कुल ६३ दिनमा माघे सङ्क्रान्तिमा दुई दिनमा अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।
विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनः एक पटक भत्काउने प्रयास गरिएको हो । गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो ।
निर्माण कम्पनीले माग गरेको समय सकिएकाले अब सडक नरोकेरै काम गर्न भनिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनु भयो । उहाँका अनुसार ढिस्को होचोमात्रै बाँकी रहेकाले हेरेर काम गर्न मिल्छ । त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटर यो वर्ष भत्काउने काम भएको हो ।
यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ रहेको छ । पुलको निर्माण ठेक्का अनक कन्स्ट्रक्सनले पाएको थियो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ ।
सो सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो ।
यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने मुग्लिनस्थित ट्राफिक प्रहरी कार्यालयले जनाउको छ ।
प्रकाशित मिति २०८० फाल्गुन १३, आईतवार ०९:२४ गते