काठमाडौं– वरिष्ठ गायक, संगीतकार एवम् भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा फागुन १४ गते दिउँसो बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले बताउनु भयो । उहाँ ८२ वर्षीय हुनुहुन्थ्यो ।
भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहनु भएको संगीतकार हरि लम्सालले बताउनु भयो । उहाँका अनुसार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उहाँलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो । गत बडादशैंमा लडेर उहाँको टाउकोमा चोट लागेको थियो ।
आचार्यको पार्थिव शरीरलाई फागुन १५ गते बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उहाँको बिदाइ गरिने कार्यक्रम रहेको छ ।
स्वरसम्राट नारायणगोपालका समकालीन गायक आचार्य बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ गते धनकुटामा जन्मिनु भएको हो । भक्तराजले ‘संगीत प्रभाकर’सम्म अध्ययन गर्नु भएको थियो । उहाँको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । आचार्यका ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । त्यस्तै, ‘सबै बेहोसी नशा पिएर’ गीत तथा ‘एकदिन मैले प्रभुसँग सोधेँ’, ‘तन मन बचनले’, ‘सब निदाए प्रभु’ लगायत थुप्रै लोकप्रिय भजन छन् ।
वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उहाँले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन’ प्रथम भएपछि उनी रेडियो नेपालमा जागिरे हुनु भएको थियो । त्यस यता वि.सं. २०४६ सालसम्ममा उहाँले साढे चार सय गीत रेकर्ड गरिकोमा दुई दर्जनबाहेक सबै गीत उहाँले आफ्नै रचनामा तयार पार्नु भएको थियो ।
त्यो समयमा स्वर परीक्षा पास नगरेका व्यक्तिले रेडियो नेपालको स्टुडियोमा रेकर्ड गर्न पाउँदैन थिए । स्वर परीक्षा पास गरेका व्यक्तिले पनि रेकर्ड गर्न डेट लिनुपर्थ्यो । त्यस्तो बेलामा रेडियो नेपालमा कार्यरत भक्तराज आचार्यले समय कुरेर सयौँ गीत रेकर्ड गराउनु भएको थियो ।
भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएपछि उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि उहाँको जिब्रो काट्नु पर्यो । त्यस यता उहाँको गायनयात्रामा पूर्णविराम लागेको थियो ।
उहाँले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, राष्ट्रिय, बालगीत गाउनु भएको छ ।
आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
भक्तराजका दुई छोरा सत्य– स्वरुप आचार्य पनि नेपाली गीतसंगीतका लोकप्रिय गायक बन्न सफल छन् ।
प्रकाशित मिति २०८० फाल्गुन १४, सोमबार २१:०२ गते