बेसीशहर– बौद्ध धर्मको महान ग्रन्थ त्रिपिटकसहितका ग्रन्थहरू अब लाइब्रेरी (पुस्तकालय)मा अध्ययन गर्न पाइने भएको छ । बुद्धिजम डिजीटल लाइब्रेरीको त्रिपिटक अनुवाद परियोजना– २४ ले उक्त कार्य गर्ने भएको यहाँ आयोजित एक कार्यक्रममा फागुन १४ गते जानकारी दिइएको हो ।
लमजुङका वरिष्ठ समाजसेवी कप. रणबहादुर गुरुङको प्रमुख आतिथ्यतमा भएको उक्त कार्यक्रम वरिष्ठ समाजसेवी सानुमाया गुरुङको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा बुद्धिजम डिजिटल लाइब्रेरीका प्रमुख एवम् धर्म गुरु खेम्पो बसन्त, बुद्धिजम डिजिटल लाइब्रेरीका अध्यक्ष कल्याण मित्र धिरबहादुर गुरुङले डिजिटल लाइब्रेरी को त्रिपिटक अनुवादका बारेमा प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा ह्युल्स ह्यो गुम्बाका प्रमुख लामा लोपेन लेखमान घलेले वर्तमानमा बुद्ध दर्शन(धर्म)का बारेमा प्रकाश पार्नु भएको थियो । यसैगरी, ध्रुवबहादुर गुरुङले बुद्ध दर्शनका साथै तमु संस्कार तथा गुरुङ बुद्धिजमका बारेमा प्रकाश पार्नु भएको थियो । पुरातनपन्थी लामा गुरुले अध्ययन गरिरहेको तमु भाषा र उमेलिपिका बारेमा सम्मानित व्यक्तित्व खेमजङ गुरुङले प्रकाश पार्नु भएको थियो ।
उक्त अवसरमा समजसेवी खेमजङ गुरुङ, पत्रकार मीना गुरुङ र तमु समाजसेवी चोकबहादुर गुरुङ(दोर्दी– ९, हिलेटक्सार) लाई उहाँहरूले समाजमा गरेको योगदानका लागि सम्मान गरिएको थियो ।
ती ग्रन्थहरूमा भगवान बुद्धको जीवनी, बुद्धबचत द्वितीय संस्कार, गुरुङ बुद्ध संस्कार मोन्लम सग्रह अवतार पुनर्जन्मको अवधारणा, प्रज्ञापारमिताका(हृदय सत्र)को भाग– १, २ र ३, दशपारमिता भाग– १, २ र ३, भगवान बुद्धको पूर्वजीवनी, गुरुङ बुद्धिजम्, गुरुङ बौद्ध संस्कार, बौद्ध नेपाली शब्दकोष, विभिन्न निकाय, धम्मपद, दैनिक पूजा प्रार्थना र बौद्ध जातक संग्रह डिजिटल लाइब्रेरीमा राखिने भएको उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।
उक्त अवसरमा ती सामग्री प्रकाशनको तयारी भइरहेको जानकारी दिदै तिनलाई प्रकाशनार्थ सहयोग गर्न मुठीदानमा सहगाभी हुन समेत आह्वान गरिएको थियो । त्यस अवसरमा मुष्ठिदानमा सहभागी हुनुहोस्, अपनत्व अपनाउनु होस्, बौद्धधर्मको विकासमा योगदान दिनुहोस् । सुख, शान्ति र समृद्धिको अनुभूति लिनुहोस् भन्ने अनुरोध गरिएको थियो ।
हुल्स ह्यो गुम्बाका उपाध्यक्ष जीवि लामाद्वारा स्वागत तथा सचिव जंगबहादुर तमुले सञ्चालन, गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० फाल्गुन १५, मंगलवार ०८:१४ गते