काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा स्थापनाको छोटो अवधिमै अनुशासन पर्व सुरु भएको छ । रास्वपाले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाउने र कर्णालीको समिति नै विघटन गरेबाट फागुन १५ गते त्यस्तो पुष्टि भएको हो ।
रास्वपाले कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको र गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी कार्यक्षमता कमजोर भएको कारण देखाउँदै जिम्मेवारीबाट हटाइएको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार कर्णालीको प्रदेश समिति र जिल्ला समितिहरूले पनि संगठन विस्तार गर्न नसकेकाले विघटन गरिएको हो । संगठन निर्माण गर्न नसक्ने र खराब आचरण भएकालाई हटाउन नसके पार्टीमा भीडमात्रै जम्मा हुने भएकाले हटाउने गरिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिनु भएको छ ।
गण्डकी प्रदेशका महामन्त्री अशोक खड्कालाई समय नदिएको, कार्यसम्पादन कमजोर भएको, गुट निर्माण गरेको लगायत अभियोगमा मंसिर ५ गते नै बर्खास्तीमा परेका हुन् पार्टीका सहमहामन्त्री बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार उहाँको कार्यसम्पादन राम्रो देखिएन । बसोबास गरेको ठाउँहरूको पैसा नतिरेको कुराहरू आएका छन् । उहाँले भन्नुभयो, ‘जिम्मेवारी अनुसारको काम त हुनुप¥यो । नमस्ते ! खानका लागि पाएको जिम्मेवारी होइन ।’ अहिले गण्डकीको महामन्त्रीको भूमिकामा नवीन त्रिपाठी रहेको उहाँले जनाकारी दिनुभयो ।
उता कोशीका महामन्त्री थापाले सुनसरीको इटहरी उपमहानगरपालिका– ९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा सनमुन प्लाजाका नाममा भाडामा लिएका थिए । तर त्यस जग्गाको भाडा पाँच वर्षसम्म नतिरेको विषय बाहिरिएपछि प्रदेश समितिले स्पष्टीकरण सोधेको पार्टीका सहमहामन्त्री बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार तर चित्तबुझ्दो जवाफ नदिई सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएपछि केन्द्रीय अनुशासन आयोगको सिफारिसमा प्रदेश समितिले थापालाई हटाउने काम गरेको हो ।
उहाँले भन्नुभयो, ‘तिर्नुपर्ने कुरा मात्रै हो भने त्यो तिरिसकेपछि निलम्बन फुकुवा हुन्छ । अरु कुरा छ भने थप छानबिन गर्नुपर्ने हुन्छ’ नतिर्ने नै नियत हो वा अरु केही पनि छ कि भनेर पार्टीले छानबिन गर्दैछ ।’
‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने :
प्रदेश कमिटि विघटनसँगै केन्द्रबाट नै संगठन परिचालन हुने गरी तत्कालका लागि ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने रास्वपाले निर्णय गरेको छ । तीन महिनासम्म अभियान सञ्चालन गरेर जेठ मसान्तसम्म सक्ने रास्वपाको योजना छ ।
रास्वपाको सचिवालय बैठकले कर्णाली प्रदेशको कमिटी फागुन ६ गते विघटन गरेको हो । कर्णाली प्रदेश सभापति धिरज वली हुनुहुन्थ्यो । उहाँ नेतृत्वको प्रदेश समिति एक वर्ष पूरा गरेलगत्तै विघटनमा परेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यही बीचमा धेरै समय उहाँ भारतमा बस्नुभयो बुर्लाकोटीले भन्नुभयो । उहाँले भन्नुभयो, ‘धिरजजीले संगठन निर्माणका लागि समय दिन सक्नुभएन । संगठन बनाउन दक्षता पनि हुनुप¥यो’, उहाँले समय दिनसक्ने अवस्था आएन । वलीले संगठन निर्माणलाई गति दिन नसकेको स्वीकार्दै केन्द्रमा पत्र लेखेका थिए ।
कर्णालीका जिल्ला समितिहरू पनि प्रभावकारी नभएपछि विघटन गरिएको रास्वपाको भनाइ छ । कर्णालीमा गत वर्षको माघमा प्रदेश समिति गठन गरिएको थियो ।
सुदूरपश्चिम महामन्त्री भोजराज जोशीलाई हटाएर पारस बाहुनलाई जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ । त्यसो त जोशी यतिबेला केन्द्रीय विधेयक मन्थन विभागको सदस्य तोकिनु भएको छ ।
उहाँमाथि पनि कार्यक्षमता देखाउन नसकेको कारण देखाउँदै हटाइएको हो । कार्यकारी पद भएपनि जिम्मेवारी अनुसार भूमिका निर्वाह नगर्दा हटाउन परेको बुर्लाकोटीको भनाइ छ ।
रास्वपाले हरेक साता प्रदेशका महामन्त्रीहरूसँग संगठनको अवस्थाको जानकारी लिने गरेको छ ।
प्रकाशित मिति २०८० फाल्गुन १५, मंगलवार १८:१८ गते