नयाँ मन्त्रीमण्डलका तीन जनामात्र मन्त्री, तीनै जना विनाविभागीय मन्त्री

नयाँ मन्त्रीमण्डलका तीन जनामात्र मन्त्री, तीनै जना विनाविभागीय मन्त्री

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २१ गते सोमबार ०७:०७

सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई, यसअघि नयाँ गठबन्धनका चारजना उपप्रधानमन्त्रीले आज शपथ लिने भनिएको थियो । तर सबै दलमा मन्त्री बन्नेहरूको तँछाडमछाडका कारण आज तीन मन्त्रीको मात्र शपथ भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष रहनु भएका प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरी सरकार चलाउन राजी हुनु भएको छ ।

काठमाडौँ– सत्ता समीकरणका लागि नयाँ गठबन्धनको जन्म भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । नवगठित मन्त्री मण्डलमा मात्र तीन जना नयाँ मन्त्रीहरू हुनुहुन्छ । तर उहाँहरू सबै बिना विभागीय रहनु भएको छ । तर उहाँहरूले फागुन २१ गते शपथ लिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको पुष्टि भएको हो ।
नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धनका तीन मन्त्रीहरूले पद सम्हाल्नु भएको छ । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनु भएको हो ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
योसँगै राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन समेत गर्नु भएको छ । जस अनुसार कार्यविभाजनमा सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले लिनु भएको छ ।
स्मरणीय छ, यसअघि नयाँ गठबन्धनका चारजना उपप्रधानमन्त्रीले आज शपथ लिने भनिएको थियो ।
सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक÷एक जना उपप्रधानमन्त्री हुने समझदारी भएसँगै चारै उपप्रधानमन्त्रीको शपथ हुने भनिएको थियो । तर सबै दलमा मन्त्री बन्नेहरूको तँछाडमछाडका कारण आज तीन मन्त्रीको मात्र शपथ भएको हो ।
नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाइरहदा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने सम्भावना छ । तर उहाँले कुन मन्त्रालय पाउने भन्नेबारे अलिहेसम्म टुंगो लाग्न बाँकी छ । त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री हुने पक्का भएको छ । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने हुनु भएको छ । यसअघि पनि उहाँ अर्थमन्त्री नै हुनुहुन्थ्यो ।
रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का जस्तै छ । उहाँले गृहमन्त्रालय मागे पनि दिनका लागि भने आनाकानी चलेको बताइन्छ ।
उता, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन् । उहाँ यसअघि दुईपटक परराष्ट्रमन्त्री भएसक्नु भएको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो चरणको बैठकमा सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लागेको थियो ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरी सरकार चलाउन राजी हुनु भएको छ ।

प्रकाशित मिति २०८० फाल्गुन २१, सोमबार १९:०७ गते
हजुरको प्रतिक्रिया