दुबई– मधेशी एकता समाजको होली समारोह दुबईमा धुमधामका साथ मनाइएको छ । मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह यहाँ स्थित बरदुबईस्थित एक होटलमा धुमधाम र भव्यताका साथ फागुन २० गते दिउँसो सम्पन्न भएको हो ।
श्रम तथा रोजगार मन्त्री शरत्सिंह भण्डारी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा विशिष्ट अतिथिमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र युएईस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन विशाल भट्टराई हुनुहुन्थ्यो ।
प्रमुख अतिथि श्रम तथा रोजगार मन्त्री भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै मधेशी एकता समाजले विदेशी भूमिमा पनि सम्पूर्ण मधेशीलाई जोडेर राखेकोमा प्रशंसा गर्नुभयो । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने सीप र पैसा नेपाल सरकारले उपलब्ध गराउने जानकारी दिनुभयो । त्यस अवसरमा भण्डारीले एक प्रकारको होली गायन अर्थात् जोगिरा समेत गाएर सुनाउनुभएको थियो । 
नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन भट्टराईले होली पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभयो
त्यसैगरी, एकता समाजका नेपाल संयोजक डा. बबी सिंह यादवले होलीको शुभकामना दिनुभयो । उहाँले मधेशी एकता समाजको नेपाल इकाइले विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग र समन्वयबारे जानकारी दिनुभयो ।
यस्तै, समाजको अन्तर्राष्ट्रिय संयोजक डा. रविन्द्रकुमार यादवले वर्तमान समयमा वैदेशिक रोजगारमा रहेका मधेशी युवाहरूको अवस्था अत्यन्त जोखिमपूर्ण रहेको बताउनुभयो । डा. यादवले कम्तीमा प्राविधिक प्रशिक्षण लिएर र २० वर्ष उमेर पुगेपछि मात्रै वैदेशिक रोजगारमा आउने वातावरण बनाउन सल्लाह दिनुभयो ।
सो अवसरमा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए यूएईका अध्यक्ष विकाश शाही, नेपाली दूतावासका तृतीय सचिव विमलेश मिश्र, अर्का तृतीय सचिव दिल्लीराम शर्मा र श्रम कन्सुलर दिनबन्धु सुवेदी अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।
त्यसैगरी, मधेशी एकता समाजको संस्थापक र अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्रकुमार यादव, समाजको नेपाल इकाइकी संयोजक बबीसिंह यादव, समाजका पूर्व अध्यक्षहरु मुकेश झा, कृष्णा ठाकुर, वरिष्ठ उपाध्यक्ष अम्बिका साहलगायतका अतिथिको सहभागिता थियो ।
होली समारोहमा नेपालबाट आएका मधेशका चर्चिच कलाकारहरु जागेश ठाकुर तथा निरुता साहको सानदार प्रस्तुति थियो ।
त्यसैगरी, यहाँ रहेका स्थानीय कलाकारहरू गायक भोला पासवान तथा नृत्यतर्फ इशा, शीतल र पुनमका साथै नेपाली बोइज ग्रुप समेतको प्रस्तुतिले कार्यक्रममा रौनक बढाएको थियो ।
समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने उद्घाटन समारोहको सञ्चालन महासचिव रोशन देव र सांस्कृतिक कार्यक्रमको सञ्चालन ललित राय र भोला पासवानले गर्नुभएको थियो ।
त्यस अवसरमा सांस्कृतिक नाचगान, होली गीत र जोगिरा गायनका साथै खानपिनको पनि भव्य व्यवस्था गरिएको थियो ।
प्रकाशित मिति २०८० फाल्गुन २३, बुधबार ०५:२५ गते