काठमाडौं– सरकारका नयाँ मन्त्रीहरूको शपथ आजै हुने भएको छ । त्यसको व्यवस्था मिलाउन राष्ट्रपति कार्यालयमा फागुन २३ गते पत्र पठाएको हो ।
सरकारले पठाएको पत्रमा शपथको समय उल्लेख राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस कार्यको तयारीका लागि केही घण्टा लाग्ने राष्ट्रपति कार्यालयको भनाइ छ ।
कुन पार्टीबाट को को मन्त्री :
सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबण्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन् ।
सत्तासिन गठबन्धन दलका नेताहरूले गरेको सहमति अनुसार एमालेलाई ८ मन्त्रालय, माओवादी केन्द्रले ५ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन् ।
गठबन्धनमा जसपा समेत सामेल पनि उसले मन्त्रीहरूको नाम दिन सकेको छैन ।
यसैगरी, नेकपा (एकीकृत समाजवादी)ले पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाउन बाँकी छ ।
स्मरणीय छ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाउनु भएपछि आज मन्त्रीमण्डल विस्तार हुन लागेको हो ।
मन्त्रीहरू : एमाले
१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
२. राजेन्द्रकुमार राई, भूमि व्यवस्था तथा सहकारी मन्त्री
३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री
४. बलराम अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, हेरफेर हुन सक्ने
५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
७. हरि उप्रेती, रक्षा मन्त्री
८. ज्वालाकुमारी साह, कृषि मन्त्री
माओवादी केन्द्रबाट :
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री
२. वर्षमान पुन, अर्थमन्त्री
३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री
५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी :
१. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री
२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री
४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ।
यसैबीच, नयाँ मन्त्रीहरूको शपथ अपराह्न ५ बजेका लागि तय भएको बताइएको छ ।
प्रकाशित मिति २०८० फाल्गुन २३, बुधबार १५:५७ गते