झपट पुरस्कारका लागि तीन व्यक्तित्वको छनोट

झपट पुरस्कारका लागि तीन व्यक्तित्वको छनोट

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २५ गते शुक्रबार ०५:२९

झपट पुरस्कार गुठीका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा आगामी चैत २४ गते झपट पुरस्कारहरू समर्पण गरिने कार्यक्रम तय भएको झपट पुरस्कार व्यवस्था समिति– २०३७ का सदस्यसचिव राणाले जानकारी दिनु भयो ।

अमरप्राज्ञ कञ्चन पुडासैनी, डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ र प्रा.डा.ऋषीराम शर्मालाई ती पुरस्कार समर्पण गर्ने निर्णय ।

काठमाडौं– झपट पुरस्कार गुठीको झपट पुरस्कार व्यवस्था समितिले यसवर्ष झपट पुरस्कारका लागि पुरस्कृत हुनुहुने तीन व्यक्तित्वको छनोट गरेको छ । समितिको फागुन २४ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
समितिले अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । उहाँले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत उहाँलाई उक्त पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।
यसैगरी डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’लाई २०८० सालको ‘यज्ञ केशर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । योगशिक्षा तथा प्राकृतिक चिकित्साका क्षेत्रमा अहोरात्र समर्पित भई मानव स्वास्थ्यसेवाको संवर्धनमा उल्लेखनीय योगदान दिनु भई डा. पोखरेलले समाज सेवा तथा समाजमा सकारात्मक सोचको विकासमा विशेष योगदान गर्दै आउनु भएको हुँदा सो सम्मान सपर्मण गर्ने निर्णय गरिएको झपट पुरस्कार व्यवस्था समिति– २०३७ का सदस्यसचिव रेखा राणाले बताउनु भयो । उहाँका अनुसार यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपयाँ रहेको छ ।
यसैगरी, प्रा.डा.ऋषीराम शर्मालाई २०८० सालको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । नेपाली कथासाहित्यका अमर स्रष्टा गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरी नेपाली समालोचनाका क्षेत्रमा विशिष्ट योगदान दिएबापत उहाँलाई उक्त पुरस्कार समर्पण गरिने भएको हो । सो पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेको छ ।
झपट पुरस्कार गुठीका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा आगामी चैत २४ गते झपट पुरस्कारहरू समर्पण गरिने कार्यक्रम तय भएको झपट पुरस्कार व्यवस्था समिति– २०३७ का सदस्यसचिव राणाले जानकारी दिनु भयो । उहाँका अनुसार झपट पुरस्कार व्यवस्था समितिका अध्यक्ष अरुण राणाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति २०८० फाल्गुन २५, शुक्रबार ०५:२९ गते
हजुरको प्रतिक्रिया