११ दिवसीय ८औं लमजुङ महोत्सव चैत २३ देखि

११ दिवसीय ८औं लमजुङ महोत्सव चैत २३ देखि

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २५ गते शुक्रबार ०८:३६

महोत्सवमा विक्री भएको टिकटबाट प्रति टिकट ५ रुपैयाँ सामाजिक सेवा कोषका लागि सहयोग गर्ने निर्णय गरिएको छ । सो रकम सहजी खेल मैदान विकासका लागि १ रुपैयाँ, दैवीप्रकोप उद्धार कोषमा १ रुपैयाँ ५० पैसा, आदर्श महिला तथा बालविकास केन्द्र, मानव सेवा आश्रम र जेष्ठ नागरिक आरोग्य आश्रमलाई ५०–५० पैसा र नेपाल पत्रकार महासंघ लमजुङको भवन निर्माणका लागि १ रुपैयाँ सहयोग गरिने छ ।

महोत्सवस्थलमा दुई सय व्यापारिक स्टल राख्ने लक्ष्य

बेसीशहर– ८औं लमजुङ महोत्सव ११ दिवसीय कार्यक्रमका साथ सञ्चालन गर्ने तयारी सुरु भएको छ । आयोजक लमजुङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारेमा फागुन २४ गते जानकारी दिएको हो ।
उक्त ८ औं लमजुङ महोत्सव– २०८० चैत २३ देखि बैशाख ३ गतेसम्म महोत्सव सहजी खेलमैदानमा सञ्चालन हुने भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार संघले प्रत्येक २– २ वर्षमा आयोजना गर्दै आएको महोत्सवलाई यसपटक पनि निरन्तरता दिने गरी तयारी थालिएको हो । महोत्सवलाई सभ्य र भव्य बनाउन ३ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको उहाँको भनाई छ । त्यसैगरी विभिन्न उपसमिति तथा सल्लाहकार समिति कार्य सम्पादन समिति, संयोजन समिति पनि गठन गरिएको उहाँको भनाइ छ ।
महोत्सवमार्फत समग्रमा जिल्लाको आर्थिक विकासमा टेवा पुग्नुका साथै यहाँको लोपुन्मुख कला संस्कृतिका जगेर्ना गर्ने कार्यक्रम रहेको आयोजक संघका महासचिव विपिन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युतलगायत क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्ने, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी ग्रामीयण पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने, आर्थिक मन्दिको प्रभावले सुस्ताएको जिल्लाको पर्यटन सहितका अन्य व्यवसायको पुनोत्थान गर्न महोत्सव आयोजना गरिने भएको श्रेष्ठले उल्लेख गर्नुभयो ।
महोत्सवले स्थानीयका साथै प्रदेशस्तरका उद्योग, व्यापार, हस्तकलाको प्रवद्र्धन गर्ने, स्थानीय, परम्परागत सीप र प्रविधिको प्रवद्र्धन गर्ने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने, स्थानीय मौलिक कला, संस्कृति, साहित्य, गीत संगीतको जर्गेना गर्ने तथा होमस्टेलाई प्रवद्र्धन गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ ।
महोत्सवस्थलमा दुई सय व्यापारिक स्टल राख्ने लक्ष्य लिइएको जानकारी दिदै सो अवसरमा विभिन्न जातजातिका झाँकी तथा र्याली, औद्योगिक तथा व्यापारीक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला, गण्डकी प्रदेशभित्रका उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरूको बिशेष प्रदर्शनी, कृषि, जडिबुटी, बृत्तचित्र प्रदर्शनी गरिने संघका महासचिव विपिन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जातीय संग्रालय, बाल उद्यान, आन्तरिक पर्यटन प्याकेज टुर, सरकारी तथा गैह्रसरकारी निकायको गतिविधि प्रदर्शनी र गृहिणी नृत्य लगायतका प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम छ । फोटो तथा बृत्तचित्र प्रदर्शनी, परम्परागत खाना महोत्सव, लोकदोहोरी कार्यक्रम, वाल उद्यान, नाटक प्रदर्शनी, कार्यशाला गोष्ठी, ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति महोत्सवमा रहने महासचिव श्रेष्ठले उल्लेख गर्नु भयो ।
महोत्सवमा २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको आयोजक समितिका निवर्तमान अध्यक्ष गुणराज सिलवालले बताउनु भएको छ । उहाँका अनुसार महोत्सवमा विक्री भएको टिकटबाट प्रति टिकट ५ रुपैयाँ सामाजिक सेवा कोषका लागि सहयोग गर्ने निर्णय गरिएको छ । सो रकम सहजी खेल मैदान विकासका लागि १ रुपैयाँ, दैवीप्रकोप उद्धार कोषमा १ रुपैयाँ ५० पैसा, आदर्श महिला तथा बालविकास केन्द्र, मानव सेवा आश्रम र जेष्ठ नागरिक आरोग्य आश्रमलाई ५०–५० पैसा र नेपाल पत्रकार महासंघ लमजुङको भवन निर्माणका लागि १ रुपैयाँ सहयोग गरिने छ ।
संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष गुणराज सिलवाल, पूर्वअध्यक्ष राजेश थापा, रामकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारीलगायतको उपस्थिति थियो । पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरूले महोत्सवलाई रामरमिताको रुपमा मात्र नभई महोत्सवको माध्यमबाट जिल्लाको उत्थानका लागि नयाँ सन्देश जाने गरी काम गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति २०८० फाल्गुन २५, शुक्रबार ०८:३६ गते
हजुरको प्रतिक्रिया