ठाडोभाकाका दुई व्यक्तित्वको स्मरणमा श्रद्धाञ्जली सभा

ठाडोभाकाका दुई व्यक्तित्वको स्मरणमा श्रद्धाञ्जली सभा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २७ गते आईतबार ०७:०४

सो अवसरमा भर्लोटार सेरोफेरो समाज युकेका सल्लाहकार, मध्यनेपाल नगरपालिका– ७ भार्ले निवासी गंगाबहादुर गुरुङले यू.के.मा जम्मा पाँच दिनको प्रयासमा आफूमार्फत विभिन्न दाताहरूबाट प्रदान भई संकलन भएको एक लाख २९ हजार ५सय रुपैयाँ प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र कोषाध्यक्ष सीता गुरुङल ाई हस्तान्तरण गर्नु भयो । उहाँले सो रकममा आधा प्रतिष्ठानको अध्यक्षकोषमा राख्ने र आधाले स्मृति दिवसको कार्यक्रम सञ्चालनका लागि खर्च गर्नका लागि हो भन्ने जानकारी दिनुभयो । उहाँले ठाडोभाका भोर्लेटार क्षेत्रको गहना हो, यसलाई मर्न दिनुहुँदैन । म आफूले गाउन नजाने तापनि यो भाका बचाउनु पर्छ भनेर यो कार्यक्रम शिवरात्रीको बेलामा यसरी हुँदैछ भन्ने थाहा पाएपछि जम्मा पाँच दिनमा यो रकम संकलन गरेको हुँ भन्ने जानकारी दिनु भयो । 

यू.के.बाट एक लाख साढे २९ हजार सहयोग

करापुटार(लमजुङ)– महाशिवरात्री पर्वका अवसरमा यहाँ ठाडोभाकाका दुई व्यक्तित्वको स्मरणमा श्रद्धाञ्जली सभाको आयोजना गरियो । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले उक्त कार्यक्रम फागुन २५ गते गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सो सभाको उदघाटन गर्नु भएको हो । उहाँले पछिल्लो पुस्ताका लागि मौलिक कला, संस्कृति, साहित्यको जगेर्नाका लागि प्रतिष्ठानका माध्यमबाट जुन खालको मेहनत र लगनशीलताका साथ काम गर्नु भएको छ त्यसको म मुक्तकण्ठले प्रशंसा गर्दछु भन्नुभयो । उहाँले हिजोआज मानिसहरू बेफुर्सदिला छन् र आफ्नो निजी जीवनका लागि मात्र सोच्ने प्रवृत्ती हावी भएको छ, यस्तो बेलामा पनि समाजका लागि, भोलिको पुस्ताका लागि स्वयम्सेवी काम गर्नु गर्वको कुरा हो, कला संस्कृतिले आफ्नो ठाउँलाई चिनाउने काम गर्दछ । यस्तो कर्ममा जुट्नु हुने प्रतिष्ठानका अध्यक्ष सहित सबैमा शुभकामना व्यक्त गर्दछु र यो संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु उहाँले भन्नुभयो ।
यसैगरी, विगतमा योगदान गर्नु हुने दुई अग्रज व्यक्तित्व नरेन्द्रराज ढुंगाना र सन्तबहादुर गुरुङको योगदानलाई सम्झना गर्दै अघि बढ्ने काम पनि उत्तिकै प्रशंसनीय छ प्रजिअ अधिकारीले उल्लेख गर्नुभयो । उहाँले लमजुङ कला र संस्कृतिको उत्कृष्ठ भण्डार भएको जिल्लाका रुपमा आफूले पाएको र यसको जगेर्ना गर्ने कार्य अन्त्यन्तै सराहनीय छ, जो जो जोडिएर यो पुनित कार्यमा सहयोग गर्नु भएको छ यहाँहरू सबैलाई विशेष धन्यवाद दिन चाहन्छु र अन्य महानुभावहरूलाई पनि यस पुनित कार्यमा जोडिन आग्रह गर्दछु भन्नुभयो ।
सो अवसरमा प्रजिअ अधिकारीले प्रतिष्ठानका आजीवन सदस्य समेत रहनु भएका कलाकार सन्तबहादुरकी श्रीमती आइतमाया, बहिनी डिलमाया, जेठी बुहारी निर्मला र कान्छी बुहारी मायालाई संयुक्त रुपमा दोसल्ला ओढाउँदै सम्मान पत्रद्वारा सम्मान गर्नु भएको थियो । स्व. सुवे सन्तबहादुर गुरुङको स्मृतिमा स्थापित पुरस्कारको संरक्षक उहाँका जेठी बुहारी निर्मला गुरुङ रहनु भएको छ ।
यसैगरी, वरिष्ठ समाजसेवी एवम् प्रतिष्ठानका सल्लाहकार स्व. नरेन्द्रराज ढुंगानाले स्थापना गरिदिनु भएको ठाडोभाका– टीकाकुमारी स्मृति पुरस्कारको संरक्षकका रुपमा उक्त पुरस्कारका संस्थापक नरेन्द्रराजकी सहधर्मिणी सीता ढुंगानालाई उक्त पुरस्कारको संरक्षकको रुपमा सम्मान गरिएको थियो ।
सो अवसरमा भर्लोटार सेरोफेरो समाज युकेका सल्लाहकार, मध्यनेपाल नगरपालिका– ७ भार्ले निवासी गंगाबहादुर गुरुङले यू.के.मा जम्मा पाँच दिनको प्रयासमा आफूमार्फत विभिन्न दाताहरूबाट प्रदान भई संकलन भएको एक लाख २९ हजार ५सय रुपैयाँ प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र कोषाध्यक्ष सीता गुरुङल ाई हस्तान्तरण गर्नु भयो । उहाँले सो रकममा आधा प्रतिष्ठानको अध्यक्षकोषमा राख्ने र आधाले स्मृति दिवसको कार्यक्रम सञ्चालनका लागि खर्च गर्नका लागि हो भन्ने जानकारी दिनुभयो । उहाँले ठाडोभाका भोर्लेटार क्षेत्रको गहना हो, यसलाई मर्न दिनुहुँदैन । म आफूले गाउन नजाने तापनि यो भाका बचाउनु पर्छ भनेर यो कार्यक्रम शिवरात्रीको बेलामा यसरी हुँदैछ भन्ने थाहा पाएपछि जम्मा पाँच दिनमा यो रकम संकलन गरेको हुँ भन्ने जानकारी दिनु भयो ।
ठाडोभाकालाई बचाउने राम्रो काम भएको छ, प्रतिष्ठानले राम्रो काम गरेको सुन्दै आएको छु, भोलिका दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाइरहनु आफुहरू सहयोगका लागि सधैं तयार छौं भन्नुभयो ।
यसैगरी, सोही वडाको धोद्रे गाउँ निवासी अर्का सहयोगी मनका धनी व्यक्तित्व चिजबहादुर गुरुङले पनि यो कार्यक्रमले आफूलाई उत्साहित बनाएको बताउनु भयो । उहाँले आफू ब्रिटिश सेनामा कार्यरत रहँदा छुट्टीमा गाउँ आएको बेलामा त्यो बेलामा टेप रेकर्डमा रिल राखेर गाउँका घर– घरहरूमा डुलेर बुढा बा–आमालाई ठाडोभाका सुनाउने गरेको स्मरण गर्नु भयो । उहाँले यो भाकालाई मर्न दिनु हुँदैन बचाउनु पर्छ, त्यसका लागि प्रतिष्ठानकोतर्फबाट भएका कामहरू राम्रा छन् थप प्रगति होस् भन्ने कामना गर्नु भयो ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले विभिन्न पेशा व्यवसाय गर्ने क्रममा यूकेमा बसेर पनि आफ्नो गाउँ ठाउँमा रहेको मौलिक कला, संस्कृति र त्यसमा पनि खासगरी ठाडोभाकालाई बचाउनु पर्छ भनेर जुन सहयोग आज प्राप्त भयो, प्रतिष्ठानका सल्लाहकार गंगाबहादुर गुरुङसहित सबै सबै सहयोगी मनहरू तथा समाजसेवी महानुभावहरूमा हार्दिक बधाई सहित प्रतिष्ठानको तर्फबाट कृतज्ञता व्यक्त गर्नु भयो । उहाँले यस्तै मनकारी महानुभावको सदभाव एवम् सहयोगले प्रतिष्ठानले गौरवपूर्ण काम गर्न सकेको हो, यो सहयोगले हामीलाई थप उर्जा प्राप्त भएको छ, उत्साहित बनाएको छ र उत्प्रेरित गरेको छ हामी ती सबै सहयोगी मनहरू प्रति कृतज्ञ छौं भन्ने उल्लेख गर्नु भयो । उहाँले प्रतिष्ठानले गरेका कार्यहरूको संक्षिप्त रुपमा जानकारी दिनु हुँदै आजका मितिसम्म प्रतिष्ठानले विभिन्न तीनवटा अक्षयकोष सहितका पुरस्कार सञ्चालन गरेको, थप दुईवटा पुरस्कारका लागि प्रस्ताव गरेको, छात्रवृत्तीका लागि पनि एक लाख एक हजार रुपैयाँको अक्षयकोष राखिएको । भोलिका दिनमा गायक बन्न चाहने दुईजना बालबालिकालाई प्लस टुसम्म पढाउने काम विगतका चारवर्षदेखि गरिरहेको र प्रतिष्ठानकै सिफारिसमा थप दुई बालिकाले आउँदो शैक्षिक सत्रबाट प्लस टुसम्म पढ्ने प्रवन्ध गरिएको बताउनु भयो ।
उहाँले आजका दिनसम्म सबैप्रकारको अक्षयकोषको कुल रकम १५ लाख ६३ हजार पुगेको जानकारी दिनु भयो । त्यसैगरी, ह.ने.सुवे. सन्तबहादुर गुरुङको स्मृति कोषको कुल रकम दुई लाख ३७ हजार रुपैयाँ पुगेको र यसको व्याज रकमबाट यसै वर्षदेखि २२ हजार २२२ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला सहितको ४० वर्षभन्दा कम उमेरका ठाडोभाकाका अभियन्ताहरूलाई प्रदान गर्ने गरेको जानकारी दिदै यो वर्ष रोधिं टेलिभिजन पोखराकी सञ्चालिका लोककला संस्कृतिको अभियानकर्मी बालकाशी गुरुङलाई उक्त पुरस्कार प्रदान गरिएको बताउनु भयो ।
यसैगरी, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ एक लाख रुपैयाँ अक्षयकोष सहित स्थापना गरिदिनु भएको असल आमा– बाबु सम्मान कार्यक्रम यसै वर्षबाट यही फागुन २९ गते बाहुनाडाँडा स्थित चन्द्रोदय माविका अभिभावकलाई प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । सो पुरस्कारको राशि १० हजार पाँच रुपैयाँ नगद, दोसल्ला र सम्मान पत्र रहेको उहाँले उल्लेख गर्नुभयो । यसैगरी, प्रशिक्षण र प्रतियोगिताको सञ्चालन, विभिन्न कार्यक्रमको युटुभ निर्माण आदि कार्य गरिआएको जानकारी दिनुभयो ।
अर्को एक प्रसङ्गमा सिंहदरबार गाउँघरमा आयो भनिन्छ, तर हामी कला, संस्कृति, साहित्यका क्षेत्रमा काम गर्नेहरूले सरकार भएको अनुभूति गर्न नपाएको, कतिपय सरकारबाट यस्ता कार्र्यक्रममा सुको पैसा सहयोग गर्ने नगरेको भन्दै दुःख व्यक्त गर्नु भयो । उहाँले लोकतान्त्रिक गणतन्त्र आएको यतिका वर्ष वित्दा पनि हामीहरू कति दिनसम्म टुहुरो भएर अभिभावक विहीन रुपमा रहनु पर्ने हो ? भन्ने प्रश्न गर्नु भयो । उहाँले समाजमा भएका खेलकुदसहित सबै क्षेत्रको विकास समानरुपमा हुनुपर्छ । तर स्थानीय हतले समेत खेलकुदका लागि वर्षेनी कति खर्च गर्दछन् ? तर लोककला संस्कृति, साहित्यको क्षेत्रमा कति खर्चिने गरेका छन् ? भन्ने प्रश्न गर्दै स्थानीय तहले आफ्नो कुल बजेटको कम्तिमा एकप्रतिशत बजेट लोककला संस्कृति साहित्यका लागि छुट्याउने नीतिगत व्यवस्था हुनु पर्ने प्रतिष्ठानको माग रहेको दोहोर्याउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको उक्त श्रद्धाञ्जली सभामा रातभर स्व. ढुंगाना र स्व. गुरुङको स्मृतिमा विभिन्न क्षेत्रबाट करापुटारमा भेला भएका ठाडोभाकाका गायक गायिकाहरूले ठाडोभाका गाउने नाच्ने काम गरी रात बिताइएको थियो । सो कार्यको रोधिं टेलिभिजनबाट छायांकनको गरिएको थियो । सो ठाडोभाका प्रस्तुति कार्यक्रममा पोखराका साथै, लमजुङको दूधपोखरी गाउँपालिका, क्बहोलासोथर, बेसीशहर, सुन्दरबजार तथा मध्यनेपाल नगरपालिकाका कलाकारहरूको जमघट भएको थियो ।
स्मरणीय छ, धेरै वर्षको अन्तराल पछि गतवर्षबाट ठाडोभाका गाएर रात छिचोल्ने कार्य हुन थालेको हो ।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० फाल्गुन २७, आईतवार १९:०४ गते
हजुरको प्रतिक्रिया