काठमाडौं– राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहालद्वारा पदभार ग्रहण गर्नु भएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ ग्रहण गरे लगत्त फागुन २९ गते पदभार ग्रहण गर्नु भएको हो ।
दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन माओवादी केन्द्रसहित नेकपा (एमाले) नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का सांसदले मतदान गरेका थिए । मनोनीत सांसद वामदेव गौतमले पनि दाहालका पक्षमा मतदान गर्नु भएको थियो ।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा निर्वाचन भएको थियो ।
नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित हुनु भएको हो ।
दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १७ मत परेको छ । निर्वाचनका बेला राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए ।
दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन रहेको थियो ।
पराजित शर्माका पक्षमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले मतदान गरे । एक मत रहेको राष्ट्रिय जनमोर्चाका सांसद तटस्थ बसे, कतै मतदान गरेनन् ।
राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित नारायण दाहाल नातामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुनुहुन्छ ।
दाहालको राजनीतिक पृष्ठभूमि ः
२०२७ सालमा तत्कालीन अनेरास्ववियुबाट राजनीति आरम्भ गरेका दाहालको पुख्र्यौली घर कास्कीको ढिकुरपोखरी हो । दाहालको परिवार २०१९ सालमा कास्कीको ढिकुरपोखरीबाट चितवन बसाइँ सरेको थियो । त्यसयता उहाँको परिवार भरतपुर महानगरपालिका– १४ मा बस्दै आएको छ ।
शिक्षाशास्त्र संकायतर्फ स्नातक उत्तीर्ण गर्नु भएका उहाँले सानोठिमी क्याम्पसबाट शिक्षा शास्त्रमा स्नातक पास गर्नु भएको हो । २०२७ सालमा राजनीतिक जीवन सुरूआत गरे पनि २०३१ सालमा मात्र उहाँले कम्युनिस्ट पार्टीको पुष्पलाल समूहबाट सदस्यता प्राप्त गर्नु भएको हो । २०३६ सालदेखि उनी तत्कालीन चौथो महाधिवेशन (चौम) समूहबाट पूर्णकालीन बन्नु भएको हो ।
२०३७ सालदेखि प्रवास पार्टी कामको विभिन्न जिम्मेवार पद लिनु भएका उहाँ २०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य बन्नुभयो । २०५३ सालमा पुनः अखिल भारत नेपाली एकता समाजको केन्द्रीय अध्यक्ष बन्नु भएका उहाँ २०५७ सालमा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बन्नु भएको थियो । स्वदेशमा भूमिगत रहनु भएका उहाँ २०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली ब्युरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज हुनुहुन्थ्यो ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता हुँदा उनी केन्द्रीय सदस्य र बागमती प्रदेशको अध्यक्ष बन्नु भएका उहाँ नेकपा विघटनपछि २०७७ सालमा उनी नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष बन्नु भएको हो ।
२०६३ सालको अन्तरिम व्यवस्थापिका सदस्य भएर संसदीय फाँट छिर्नु भएका उहाँ पहिलो संविधान सभामा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी हुनु भएको थियो । २०७८ चैत २५ गते मन्त्रिपरिषद्को कोटाबाट राष्ट्रिय सभा सदस्य बन्नु भएको हो ।
संघीय संसद् सदस्य विवरण, २०८० मा दाहालले उपलब्ध गराएको विवरणानुसार, उनी वि.सं. २०१२ फागुन १२ गते जन्मिनु भएको उल्लेख छ ।
प्रकाशित मिति २०८० फाल्गुन ३०, बुधबार ०६:४२ गते