काठमाडौं– प्रधानमन्त्री प्रचण्डले संसद बैठकबाट विश्वासको मत लिदै तेस्रो खड्गो पार गर्नु भएको छ । त्रिसंकु संसदमा एकल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले तेस्रो खड्गो पार गर्नु भएको छ । उहाँले संसदबाट विश्वासको मत पाउनु भएसँगै फागुन ३० गते त्यो खड्गो टर्न गएको हो ।
आजको संसद बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गर्नु भएको हो । उहाँले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरेको जानकारी दिनु भयो । एक जना सांसदले तटस्थ रहने काम गर्नु भयो । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो । प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए ।
प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गर्नु भएको हो ।
कांग्रेसँगको सहकार्य तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन फागुन २१ गते बनाउनु भएका प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिएका हुन् ।
नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरेका थिए ।
यो संसदको निर्र्वाचन पछि गत पुस १० गते पहिलो पटक प्रधानमन्त्री नियुक्त भएसँगै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत माग्नु भएको यो तेस्रो पटक हो । उहाँले पहिलो पटक पुस २५ गते विश्वासको मत लिनु भएको थियो । उहाँलाई त्यतिबेला प्रतिनिधिसभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
तर २०७९ फागुनमै एमालेसँग सहकार्य तोडेर कांग्रेससँग गठबन्धन बनाउनु भएपछि उहाँले गत वर्षकै चैत ६ गते विश्वासको मत लिनु भएको थियो । त्यतिबला उनले १७२ मत पाउनु भएको थियो । यसपटक भने १५७ मत मात्र पाउनु भएको छ । यसप्रकार उहाँले पाउने मत भने प्रत्येक पटक कम हुँदै गएको छ ।
प्रकाशित मिति २०८० फाल्गुन ३०, बुधबार १६:४० गते