
महेन्द्रनगर– पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासले चमत्कारिक गति पाउने बताउनु भएको छ । एमाले कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सुदूरपश्चिमको विकास निर्माणले तीव्रता पाउने विश्वास चैत्र २ गते व्यक्त गर्नु भएको हो ।
उहाँले भन्नुभयो, ‘देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको छ । हाम्रो नीति अनुसार हामी सुदूरपश्चिमको विकासलाई अगाडी बढाउँछौँ, तीन वर्षमा प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामहरूले अब निरन्तरता पाउँछन् ।’
उहाँले भत्किएको गठबन्धनले काम गर्न नसकेको दावी गर्दै भन्नुभयो, ‘एमाले सरकार हुँदा पुल बाटो सुख्खा बन्दरगाह बनाउन सक्ने अरूले चाहिँ जसले गरेपनि गाली गरेर बस्ने हो ? शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्रीलाई भएर के गर्नु भयो ? केही गर्न सक्नुभएन ।’ आफूले तीन वर्षमै थुप्रै काम गरेको र जनताले त्यसको महसुस गरेको पनि उहाँको दाबी थियो । उहाँले अहिले सरकार समस्या समाधान गर्न लागिपरेको बताउनुभयो ।
अध्यक्ष ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनु भएको छ । उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामिलामा सबैले मिलेर काम गर्न जरुरी रहेको छ ।’ उहाँले थप भन्नुभयो, ‘हामी लोकतान्त्रिक प्रणालीमा छौँ, बहुदलीय व्यवस्थामा छौँ । दलहरू फरक–फरक होलान् । विचार फरक–फरक होलान् । तर, संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ ।’
सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्नेमा जोड दिदै उहाँले सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणले पनि तीव्रता पाउने बताउनु भयो । ओलीले थप भन्नुभयो, ‘यहाँको विकासको कामलाई अगाडी बढाइने छ । कृषिमा आधुनिकीकरण गरिने छ । आधुनिक कृषि प्रणाली लागू गरिने छ । जग्गाधनीपूर्जा उपलब्ध गराइने छ ।’
उहाँले ठोकुवा गर्दै भन्नुभयो, ‘हामीले सुख्खा बन्दरगाह अगाडि बढाएका थियौँ त्यो काम प्रगतिहीन भयो । हामीले दैजीमा औद्योगिक क्षेत्र शिलान्यास गरेका थियौँ, त्यो पनि अगाडि बढेन, अब सुदूरपश्चिममा औद्योगिक विकासले गति पाउँछ । यहाँका औद्योगिक विकासको लागि यही बैतडीबाट निर्वाचित दामोदर भण्डारीलाई उद्योग मन्त्री बनाएका छौँ ।’
ओलीले आफ्नो साथ सुदूरपश्चिममा रहेको भन्दै डिल्लीराज भट्टलाई प्रदेश प्रमुख बनाएको विषय समेत उठाउनुु भयो । चाँदनी दोधारामा १० क्युसेक पानी छोड्नु पर्ने सम्झौता भएको तर, त्यो अहिले कार्यान्वयन नभएको भन्दै उहाँले यस विषयमा कूटनीतिक कुरा गर्ने उल्लेख गर्नुभयो । झोलुङ्गे पुल बनाएर तुइन विस्थापित गरेको भन्दै ओलीले आफू सरकार बाहिर भएपनि कुनै पनि काम अगाडि नबढेको उहाँको दावी थियो ।
सो अवसरमा अध्यक्ष ओलीले पार्टीको जिल्ला अधिवेशन उद्घाटन पूर्व कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ६ को वडा कार्यालय भवन उद्घाटन र दोधाराचाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण स्थलको अवलोकन समेत गर्नुभएको थियो ।
अध्यक्ष ओलीले जिल्ला नेतृत्वको लागि सक्षम र सबल नेतृत्व चयन गर्न पनि नेता कार्यकर्ताहरूलाई सुझाव दिए । ‘जनतामा राजनैतिक जागरण सामाजिक नागरिक सुरु गर्नु पर्छ त्यसको अगुवाइ नेकपा एमालेले गर्छ’ ओलीले भने ‘त्यस अनुसारको नेतृत्व अगाडी बढाउनु पर्छ । सबैले यहाँबाट सहयोग गर्नु पर्छ । ’
कञ्चनपुरका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सबै वडामा विजयी हुनेगरी काम गर्न समेत कार्यकर्ताहरूलाई निर्देशन दिनु भएको छ । उहाँले सर्वसम्मत मार्फत नेतृत्व चयन गर्न नभए स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नु भयो ।
प्रकाशित मिति २०८० चैत्र २, शुक्रबार ०७:१४ गते