काठमाडौं– सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले काठमाडौंस्थित टोखाबाट चैत २ गते पक्राउ गरेको हो ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिपेशमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता डीर्आजी भीम ढकालले बताउनु भयो । उहाँले दिपेश पक्राउ परेको पुष्टि गर्नु भयोे । उहाँले भन्नुभयो, ‘पक्राउ परेको हो । आजै पक्राउ हो । बाँकी पछि थाहा पाउनुहुनेछ ।’
स्मरणीय छ, साठी किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका दावा छिरिङसँग उनको सम्बन्ध रहेको बताइएको छ ।
सुनको तस्करी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुने ः
यसैबीच, सरकारले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले प्रतिवेदन कार्यान्वय गर्ने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले २०८० चैत १ गते माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय भएको छ ।’
पूर्वन्यायाधीश डिल्लिराज आचार्यको नेतृत्वको आयोगले चैत १ गतेमात्र प्रतिवेदन बुझाएको थियो ।
प्रकाशित मिति २०८० चैत्र २, शुक्रबार २०:४२ गते