कांग्रेस : सत्ता खुस्केको रिस गृहमन्त्री रवि उपर

कांग्रेस : सत्ता खुस्केको रिस गृहमन्त्री रवि उपर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत २ गते शुक्रबार ०९:३०

कांग्रेसले प्रतिशोधको राजनीति गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको दावी छ ।

कांग्रेसलाई ९ मिनेट १८ सेकेन्ड पढाउने इच्छा छ : उपप्रधान तथा गृहमन्त्री रवि

काठमाडौं– अप्रत्यासित रुपमा प्रमुख प्रतिपक्षी बेञ्चमा पुगेको नेपाली कांग्रेसले सत्ता खुस्केको रिस गृहमन्त्री रवि उपर पोख्न थालेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिनिधि सभाको चैत २ गतेको बैठक नै अवरोध गरेको छ ।
विगतका दुईवटा बैठकमा लामिछानेमाथि प्रश्न उठाएएर प्रधानमन्त्रीसँग जवाफ मागेको कांग्रेसले आज राजीनामा नै मागेर प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न नदिएको हो । कांग्रेस सांसदहरूले प्रतिनिधि सभाको बैठकमा वेल नै घेराउ गर्दै गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका हुन् । वेलमा घेराउ गर्दै कांग्रेस सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे, सहकारी ठग्न पाइँदैन्, गृहमन्त्री राजीनामा दे’ भनी नारा लगाएका थिए ।
बिहान ११ बजे बैठक सुरु हुनासाथ सभामुखसँग समय समय लिएर बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘म आग्रह गर्न चाहन्छु– मेरा माननीय मित्र गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’
प्रतिनिधि सभामा गृहमन्त्री रविले राजनीतिक दल सम्बन्धी ऐनको संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची अनुसार सभामुख सो सूचीमा प्रवेश गर्नासाथ कांग्रेस सांसदहरूले उठेर अवरोध क्रम जारी राखे ।
सभामुखले समय दिएपछि पार्टीका तर्फबाट सांसद राजेन्द्र केसीले रविको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म गृहमन्त्री स्वीकार नगर्ने प्रष्ट्याउनु भयो । ‘गृहमन्त्री रवि सहकारी पीडक हुनुहुन्छ । पीडितहरू हजारौं संख्यामा सडकमा रोइरहनुभएको छ । यस्तो अवस्थामा जबसम्म प्रधानमन्त्रीले हाउसमा आम नेपाली जनतालाई आश्वस्त पार्न सक्नुहुन्न तबसम्म हाउस चल्न सक्दैन ।’ उहाँले भन्नुभयो ।
रविका विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीका पीडितहरूले उजुरी दिएका छन् ।
कांग्रेसले वेल घेर्दै नाराबाजी गरेपछि सभामुखले चैत ४ गतेसम्मका लागि बैठक स्थगित गर्नुु भएको छ ।
कांग्रेसको अवरोधमा माओवादीको नियमापत्ति :
प्रतिनिधिसभाको बैठक कांग्रेसका सांसदहरूले अवरोध गरिरहँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नियमापत्ति गरेको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउनु भएको हो । उहाँले भन्न्ुभयो, ‘संसदीय क्यालेन्डरसमेत बनेको र त्यसअनुसार अगाडि बढ्नुपर्नेमा त्यसो हुन नदिनु प्रतिनिधिसभा नियमावली विपरीत हुने उनको तर्क थियो ।’ प्रमुख सचेतक पाण्डेले नियमापत्ति गर्दा नियमावलीको नियम २० देखाउनु भएको थियो ।
उता, सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेसले गरेको संसद अवरोधलाई सरकार छोड्नुपर्दाको पीडाका रुपमा चित्रण गर्नु भएको छ । उनले काँग्रेसले सरकार छोड्नुपर्दाको पीडा एक हप्ता पनि सहन नसकेको उल्लेख गर्दै कांग्रेस पानीबिनाको माछा झैँ छटपटी रहेको टिप्पणी गरे।
संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरु अघि बढ्न रोक्ने कामलाई लाज पनि लजाउने अवस्था भएको टिप्पणी गर्दै उहाँले कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षका रुपमा उभ्याउन सक्नुपर्नेमा जोड दिनु भएको छ ।

विगतमा विवादित मन्त्रीबारे प्रश्न उठाएको एमालेका प्रमुख सचेतक बर्तौलाले यसपटक कांग्रेसले गृहमन्त्रीमाथि उठाएको प्रश्न असान्दर्भिक भएको बताउनु भयो । उहाँले अहिले नियुक्त भएका मन्त्रीलाई १०० दिनसम्म समय दिनुपर्ने बताउनु भयो । ‘कांग्रेसले यति पनि धैर्यता राखेको छैन, यो लोकतन्त्रको समान्य मान्यता विपरीत छ ।’ उहाँले भन्नुभयो, ‘आफूहरूले विगतमा विवादास्पद मन्त्रीबारे उठाएको प्रश्न र कांग्रेसले अहिले उठाएको प्रश्न उस्तै होइन ।’
बर्तौलाले थप भन्नुभयो, ‘सरकारमा हुँदा उहाँहरूले नै बनाएको आयोगले दोषी किटान गरेका कारण हामीहरुले प्रश्न उठाएका हौं । अर्का एक मन्त्रीले अख्तियारमा गएर बयान नै दिइसकेको अवस्थामा प्रश्न उठाएको हो । अहिलेको गृहमन्त्रीको हकमा कुनै पनि निकायले अनुसन्धान गरेर कुनै कसुर पुष्टि गरेको होइन ।’
प्रतिशोधको राजनीतिमा कांग्रेस :
यसैगरी कांग्रेसले प्रतिशोधको राजनीति गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दावी गर्नु भएको छ । मन्त्रिपरिषदको बैठकपछि पत्रकारहरूसँग उहाँले भन्नुभयो, ‘जुन ढंगले राजीनामा माग भएको छ, यो राजनीतिक प्रतिशोधको कुरा जस्तो हामीलाई लागिरहेको छ,‘उहाँहरू सबैले गम्भीरतापूर्वक सुन्नुप¥यो, आलोचना र समर्थन कामका आधारमा गर्नु पर्यो ।’
कांग्रेसलाई ९ मिनेट १८ सेकेन्ड पढाउने इच्छा छ : उपप्रधान तथा गृहमन्त्री रवि
कांग्रेसले राजीनामा मागेपछि गृहमन्त्री रविले ‘कति दिन मन्त्री हुन्छु थाहा छैन, डटेर काम गर्छु
‘उठेका विषयबारे नेपाली कांग्रेसलाई ९ मिनेट १८ सेकेन्ड पढाउने इच्छा छ ।’ भन्नुभयो । उहाँले थप प्रतिवद्धता व्यक्त गर्दै भन्नुभयो, ‘कांग्रेसको नारा चर्को होला, राजीनामा दे भन्ने होला। म आफ्नो काम गरिरहन्छु, मलाई यो शक्ति नेपाली जनताले दिएका हुन् । मैले प्राप्त गरेको यो शक्ति नेपाली जनतालाई ब्याजसहित फिर्ता गर्नका लागि आएको हो, कतिदिन हुन्छु मलाई थाहा छैन, जतिदिन हुन्छु डटेर, नझुकी आफ्नो काममा निरन्तर लागिरहनेछु ।’
अर्को एक प्रसङ्गमा उहाअँले सुन प्रकरणको अनुसन्धानमा प्रभावित हुन नदिने उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘कांग्रेसजस्तो लोकतान्त्रिक दलले सदनमा विधेयक नै प्रस्तुत हुन नदिने भन्नेजस्तो चिजलाई निरन्तरता दिने छैन भन्ने मलाई विश्वास छ, के विषय उठाएको छ, त्यसको मेरिट के हो, कहाँ उठेको छ । कस्तो उजुरी हो, कसले गराएको हो त्यति कुराचाहिँ एक पटक सदनमा मौका पाएँ भने नेपाली कांग्रेसलाई पढाउने इच्छा छ, ९ मिनेट १८ सेकेन्डमा धन्यवाद !’
गृहमन्त्री रविले संसदमा उठेका विषयमा जबाफ दिन आफू तयार रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘संसदमा विधेयक प्रस्तुत गर्न नदिने भन्ने त के गर्न सकिन्छ र ! जबाफ दिनका लागि तयार नै छु । जबाफ सुनेपछि उहाँहरू बेहोस हुने हो कि थाहा छैन, कानुन बनाउने प्रक्रिया रोक्नु भएन, कुन कुरा सडक कुन कुरा सदनमा गर्ने भन्ने हो कांग्रेसजस्तो इतिहास बोकेको लोकतान्त्रिक दललाई भर्खरै आएको दलले पढाउन सुहाउँछ, हामी पढाउँदैनौं, कांग्रेसले आफैँ पढोस् ।’
‘कांग्रेसलाई गफ गर्ने चिजहरू आज बेलुकीबाट पनि आउँछ,’ उहाँले जानकारी दिनुभयो ।
गत फागुन २१ गते एमाले–माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनेपछि लामिछाने २३ फागुनमा गृहमन्त्री बन्नु भएको हो । त्यसलगत्तै, कांग्रेसले सहकारी ठगी प्रकरणमा रविमाथि अनुसन्धान भइरहेको भन्दै उहाँमाथि प्रश्न उठाउन थालेको हो ।

प्रकाशित मिति २०८० चैत्र २, शुक्रबार २१:३० गते
हजुरको प्रतिक्रिया