नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ । भारत निर्वाचन आयोगका प्रमुख आयुक्त राजीव कुमारले आगामी संसदीय चुनावको तालिका ७ चरणमा हुने गरी चैत ३ गते निर्वाचन तालिका सार्वजनिक गरेका हुन् ।
यो भारतमा हुन लागेको १८ औ लोक सभा चुनाव हो । ५४३ सिटको लागि चुनाव हुने छ । यो निर्वाचनमा जेष्ठ नागरिकले घरमै मत दिन पाउने भएका छन् । निर्वाचनका लागि ८५ वर्ष भन्दा बढी उमेर रहेका मतदाताको संख्या ८२ लाख रहेको छ । यी मतदातको हकमा घरमै गएर मत लिने व्यवस्था गरिएको भारत निर्वाचन आयोगका प्रमुख आयुक्त राजीव कुमारले बताए । उनका अनुसार यदी उनीहरू मतदान केन्द्रमा आउँन चाहेमा आउँन सक्ने छन् । तर मतदान केन्द्रमा आउँन नचाहने र नसक्नेहरूको हकमा घर मै गएर मत संकलन गरिने छ । यो नियम ४० प्रतिशतभन्दा बढी अपांगता भएका व्यक्तिको हकमा पनि लागु हुने आयोगको भनाइ छ ।
घोषित तालिका अनुसार पहिलो चरण १९ अप्रिलमा, दोस्रो चरण २६ अप्रिल, तेस्रो चरण मे, चौथो चरण १३ मे, पाँचौ चरण २० मे, छैठौ चरण २५ मेमा र सातौ चरणको चुनाव १ जुनमा हुने छ । चुनाव ७ चरणमा भए ता पनि मतगणना भने देशभर एकै दिन अर्थात जुन ४ मा हुने भनिएको छ ।
भारतको तल्लो सदनको रुपमा चिनिने लोकसभा सदस्यको लागि निर्वाचन हुन लागेको हो ।
यो चुनावमा ९६ करोड ८० लाख मतदाता मत हाल्न योग्य भएको निर्वाचन आयोगको भनाइ छ । जस मध्ये ४९.७ करोड पुरुष र ४७.१ करोड महिला छन् ।
यो चुनावमा १.८ करोड जना पहिलो पटक मतदान गर्ने भएको आयोगले जनाएको छ । १९.७४ करोड जना मतदाता २० देखि २९ वर्ष उमेरका छन् । चुनावमा १० लाख बढी मतदान केन्द्र रहने छन् । ५५ लाख भन्दा बढी इलेक्ट्रिक भोटिंग मेशिन प्रयोग हुने छ ।
यो निर्वाचन प्रक्रिया मार्च २० तारिख अर्थात चैत ७ गतेबाट सुरु हुँदैछ र पहिलो चरणको मतदान अप्रिल १९ अर्थात २०८१ सालको बैशाख ७ गते हुने छ । त्यस्तै मतगणना कार्य जुन ४ मा देशभर एकै पटक हुनेछ ।
स्मरणीय छ, यस अघिको चुनावमा ५४३ सिट मध्ये भारतीय जनता पार्टी एक्लैले ५० प्रतिशत बढी सिट अर्थात् २९० सिट जितेको थियो । भारतीय जनता पार्टीपछि सर्वाधिक सिट जित्ने पार्टी भारतीय नेशनल कांग्रेस रहेको थियो, जसले ४६ सिट जितेको थियो ।
प्रकाशित मिति २०८० चैत्र ३, शनिबार १७:३६ गते