घनपोखरा(लमजुङ)– वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङलाई अमर बनाउने कार्यको थालनी भएको छ । कविवरको जन्मस्थल यहाँको मोर्ङी गाउँमा उहाँको अर्धकदको शालिक अनावरण गर्दै राष्ट्रिय कवि गोष्ठी गर्दै चैत १० गते उक्त कार्य गरिएको हो ।
नेपाली भाषा, कला, साहित्य संस्कृतिका मुर्धन्य व्यक्तित्व नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रमको ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आयोजना तथा मर्स्याङदी गाउँपालिकाको प्रवद्र्धन रहेको थियो । ‘साहित्यका लागि पर्यटन काव्ययात्रा’का साथमा उक्त कार्यक्रमका गरिएको हो ।
प्रमुख अतिथि डा गुरुङले कविवर डिल्लीजङ गुरुङको सालिक अनावरण गर्नु भएको हो । सो अवसरमा स्वस्ति शान्ति सहित विधिवतः रुपमा अनावरण गरिएको हो । उक्त कार्यक्रममा कविवरकी जेठी बुहारी मोहनकुमारी गुरूङ, कान्छा छोरा मेजर गोपाल गुरूङ र उहाँकी सहधर्मिणी हेमकुुमारी गुरूङका साथै नातिनातिना, नातिनी बुहारी लगायतका परिवारजन घनपोखरा बासीहरूका साथै ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडी सहितका पदाधिकारीहरू एवम् सदस्य गण, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, निवर्तन महासचिव ऋषभदेव घिमिरे सहितको टोलीका सदस्यहरूको सहभागिता थियो ।
यसैगरी, कविवर मेदिनी सुवेदीका सुपुत्रीहरू बासना, गौरी, गीता र सीता, मेरो गुरु कवि डिल्लीजङ गुरूङ कृतिका सम्पादनकर्ताद्वय डा. जीवन अधिकारी र ज्ञाननिष्ठ ज्ञवाली लगायतका कविका साथमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजना गरेको खुला कविता प्रतियोगिताका प्रतियोगी कविहरू लगायतको सहभागिता थियो ।
वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको अर्धकदको सालिक कविवरकै परिवारजनबाट निर्माण गरिएको हो । ‘लाँकुरीको बोट’ जसको फेदमा बसेर वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङले कविता रचना गर्ने गर्नु हुन्थ्यो, त्यतिमात्र हैन, सोही लाँकुरीको रुखलाई एक तपस्वी मानेर रचना गरिएको ‘लाँकुरी’ नाम खण्डकाव्य समेत वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको प्रकाशनमा आएको छ ।
२०६१ सालको कार्तिक १४ गतेका दिन पिता सुब्बामणि लाल र आमा पद्मकुमारीको कोखबाट जन्मनु भएका उहाँको नेपाली भाषा, साहित्यको श्रीबृद्धिमा अतुलनीय योगदान रहदै आएको छ । उहाँका लाँकुरी कपित गीता, प्रेमोपहार जस्ता १९ कृति प्रकाशनमा आएका छन् भने अन्य ६– ७ वटा पाण्डुलिपिका रुपमा रहेका छन् । यस्तो व्यक्तित्व पनि ओझेलमा परिहेको छ र त्यसो हुन दिनु हुँदैन भन्ने ठाडोभाका लोककला प्रतिष्ठानको आग्रह रहदै आएको छ । उहाँको योगदानलाई उजिल्याउनका लागि प्रतिष्ठानले गरेको यो दोस्रो ठूलो साहित्यिक कार्यक्रम हो ।
यस्ता मुर्धन्य व्यक्तित्व वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको २०२१ सालको जेठमा निधन भएको थियो ।
उक्त कार्यक्रममा रास्वपा लमजुङका संयोजक धर्म केसी, राप्रपाका जिल्ला उपसभापति ठाकुरप्रसाद गुरूङ, त्रिभुवन माविका व्यवस्थापन समितिका अध्यक्ष एवम् तत्कालीन घनपोखरा गाविसका अध्यक्ष देवीप्रसाद गुरुङ, सोही माविका प्रधानाध्यापक गंगाजङ गुरुङसहितका व्यक्तिहरूको सहभागिता रहेको थियो । प्रस्तुत छ, उक्त कार्यक्रमको फोटो फिचर समेत ।
वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङका कान्छा छोरा मेजर गोपाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले धन्यवाद मन्तव्य समेत व्यक्त गर्नु भएको थियो भने ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले सञ्चालन तथा उपाध्यक्ष शोभा थापाले स्वागत गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० चैत्र १०, शनिबार २०:३४ गते