काठमाडौं– वानीरा फाउन्डेसनद्वारा हरेक वर्ष वितरण गरिने विभिन्न तीन पुरस्कारका लागि पुरस्कृत व्यक्तित्वहरू छनौट गरिएको छ । उहाँहरू प्रा. पुष्कर लोहनी, नाट्यभूषण मदनदास श्रेष्ठ र श्रीमती अनिता तुलाधर हुनुहुन्छ । सो निर्णय चैत ९ गते भएको हो ।
‘वानीरा प्रज्ञापुरस्कार’ प्रा. पुष्कर लोहनीलाई समर्पण गरिने भएको छ । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत उहाँलाई सो पुरस्कार समर्पण गर्ने निर्णय भएको छ । सो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेका छ ।
यसैगरी, ‘वानीरा शङ्कर पुरस्कार’ नाट्यभूषण मदनदास श्रेष्ठलाई समर्पण गर्ने निर्णय भएको छ । नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत समर्पण गर्ने निर्णय भएको वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार सो पुरस्कारका राशि पनि एक लाख रुपैयाँ रहेको छ ।
साथै ‘वानीरा पुरस्कार’ श्रीमती अनिता तुलाधरलाई समर्पण गर्ने निर्णय भएको छ । कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत उहाँलाई सो पुरस्कार समर्पण गर्ने निर्णय भयो । उक्त पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेको छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारहरू समर्पण हुने वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।
प्रकाशित मिति २०८० चैत्र ११, आईतवार ०६:२१ गते