अवैध अफिम खेती गर्ने व्यक्ति रङ्गे हात पक्राउ

अवैध अफिम खेती गर्ने व्यक्ति रङ्गे हात पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १३ गते मङ्गलबार ०९:५०

अफिमका बोट १४ हजार ५६६ वटा, सोही अफिमबाट संकलन गरिएको चोप एक सय सात थोप्लो चार ग्रामका साथमा त्यो काट्न प्रयोग गरिएको चक्कु र चोप संकलन गरिएको कचौरा समेत बरामद गरेको प्रनाउ घलेले बताउनु भयो ।

‘२६ वर्षीय हिमाल लामा मकवानपुरको राक्सीराङ गाउँपालिका– ८ का स्थायी बासिन्दा हुन् ।’

बेसीशहर– लमजुङमा व्यवसायिक रुपमा अवैध अफिम खेती गर्ने एक व्यक्तिलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले ती व्यक्तिलाई आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी चैत १३ गते सार्वजनिक गरेको हो ।
उनी २६ वर्षीय हिमाल लामा थिङ भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक धनबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार उनले लमजुङको मध्यनेपाल नगरपालिका– ३ को सूर्यपाल गाउँमा सो खेती गरेका रहेछन् । उहाँले भन्नुभयो, ‘हिमाल लामा मकवानपुरको राक्सीराङ गाउँपालिका– ८ का स्थायी बासिन्दा हुन् ।’
उनको बासस्थानमा खानतलासी गर्दा अफिमका बोट १४ हजार ५६६ वटा, सोही अफिमबाट संकलन गरिएको चोप एक सय सात थोप्लो चार ग्रामका साथमा त्यो काट्न प्रयोग गरिएको चक्कु र चोप संकलन गरिएको कचौरा समेत बरामद गरेको प्रनाउ घलेले बताउनु भयो । घलेका अनुसार हिमाल लामालाई सूर्यपाल गाउँका विष्णु सुवेदीले आफ्नो खेतबारी रेखदेख गर्नका लागि राखेकोमा सो खेती गरेको खुलेको हो । उहाँले भन्नुभयो, ‘उनले तीन रोपनीमा अफिमको खेती गरेको फेला पारी प्रहरीले ती बोट समेत काटेर बरामद गरी ल्याएको छ ।’
पोखरातिरका घर धनी सुवेदीले सो जग्गा करिब चार वर्ष अघि खरिद गरी रेखदेखका लागि गत वर्षदेखि हिमाल लामा थिङलाई राखेको खुल्न आएको प्रहरी भनाइ छ ।
पक्राउ परेका थिङलाई जिल्ला अदालतले थप अनुसन्धानका लागि पहिलो पटक सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख धनबहादुर घलेले बताए । उनका अनुसार उक्त स्थानमा विगतको एक वर्षदेखि बस्दै आएका लामाले लामाले गत भदौ महिनाको अन्तिम तिर अफिमको विउ ल्याएर आफैले सो खेती गरेको खुलेको छ ।
सो अफिम कच्चा पदार्थको रुपमा रहेको हुँदा मूल्य एकिन गर्न नसकेको र अनुसन्धानका क्रममा खुल्ने प्रहरीले जनाएको छ ।
लमजुङमा यसरी व्यवसायिक रुपमा खेती गरिएको अफिम फेला परेको यो पहिलो पटक भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख धनबहादुर घलेले जानकारी दिनु भयो ।

प्रकाशित मिति २०८० चैत्र १३, मंगलवार २१:५० गते
हजुरको प्रतिक्रिया