आजदेखि यो वर्षको एसईई परीक्षा : गत वर्षभन्दा १३३ जना कम विद्यार्थी सहभागी हुँदै

आजदेखि यो वर्षको एसईई परीक्षा : गत वर्षभन्दा १३३ जना कम विद्यार्थी सहभागी हुँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १५ गते बिहिबार ०५:५३

परीक्षा मर्यादित बनाउनका लागि प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक÷एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइएको छ ।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।

लमजुङ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आज चैत १५ गतेदेखि सुरु हुने भएको छ । सो परीक्षामा गत वर्षको तुलनामा १३३ जना कम विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ ।
यस वर्ष एसईईमा जिल्लाका २ हजार ६ सय ७८ जना विद्यार्थीले परीक्षामा भाग लिने भएका छन् । एसईई परीक्षामा नियमित साधारणतर्फ २ हजार ४ सय ९७ जना, प्राविधिकतर्फ १ सय ७१ जना र ग्रेड वृद्धितर्फ ११ जना विद्यार्थी परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ लमजुङले जनाएको छ । गत वर्ष यस परीक्षामा जिल्लाका ८७ माविका दुई हजार आठ सय ११ जना विद्यार्थीले भाग लिएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङले एसइई परिक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि केन्द्राध्यक्षहरूलाई एकदिने अभिमुखिकरण गरी परीक्षा केन्द्रमा खटाएको बताउनु भयो । उहाँका अनुसार परीक्षालाई परीक्षा जस्तो बनाउन र परीक्षा सञ्चालन निर्देशिका बमोजिम परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्षलाई निर्देशन गरिएको छ ।
केन्द्राध्यक्षहरूको अभिमुखीकरणका अवसरमा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले परीक्षा मर्यादित शिष्ट र अनुशासीत बनाउन केन्द्राध्यक्षलाई निर्देशन गर्नुभएको थियो । उहाँले कुनै पनि अवान्छित गतिविधि हुन नदिने गरि परीक्षा सञ्चालनको तयारीमा लाग्न केन्द्राध्यक्षहरूलाई अनुरोध गर्नुभएको थियो । कहिलेकाहीँ सानो घटनाले ठूलो रुप लिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सहज र सरल तरिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ त्यसैले पूर्व तयारी गर्न आवश्यक रहेको प्रजिअ गुरुङले बताउनुभयो । त्यस्तै, फरक क्षमता भएका विद्यार्थीहरू परीक्षामा सहभागी हुन सक्ने अवस्थालाई ध्यानमा राखेर हरेक तवरबाट मैत्रीपूर्ण ढंगबाट परीक्षा सञ्चालन गर्न उहाँको जोड थियो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले परीक्षा सञ्चालनका लागि आवश्यक सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभयो ।
आवश्यकता अनुसार १७ वटै परीक्षाकेन्द्रमा सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले परिक्षा सञ्चालनका लागि आवश्यक प्रश्नपत्र लगायतका सामग्री माताहतका कार्यालयमा पुगीसकेको र सुरक्षाकर्मीहरू समेत हिजो १४ गते बेलुका परीक्षाकेन्द्रमा पुगेको जानकारी दिनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख वीरबहादुर गुरुङले जिल्लामा १७ वटा परीक्षा केन्द्र रहेका छन् । सबै केन्द्राध्यक्षहरूलाई परीक्षा सामग्री समेत हस्तान्तरण गरी आवश्यक निर्देशन गरिएको छ । उहाँले भन्नुभयो, ‘प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक÷एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइएको छ ।’
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष मुलुकभर परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएको जनाएको छ ।

प्रकाशित मिति २०८० चैत्र १५, बिहीबार ०५:५३ गते
हजुरको प्रतिक्रिया