काठमाडौं– इलाम– २ का लागि घोषित प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उमेदवार बनाएको छ । प्रारम्भिक उमेदवारको सूचीमा रहेका ६ जनामध्ये पाँचजनाले उमेदवारी चैत १५ गते फिर्ता लिएपछि लिम्बु एकल उमेदवार बाँकी रहनु भएपछि घोषणा गरिएको हो ।
प्रारम्भिक चरणमा उमेदवारको सूचीमा लिम्बुसहित गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र डा. शेषरमण न्यौपाने प्रत्यासित देखिनु भएको थियो ।
प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बु उम्मेदार बनेको महामन्त्री डा. मुकुल ढकालले बताउनु भयो । उहाँका अनुसार काठमाडौंको चःमतिस्थित केन्द्रीय कार्यालयमा भएको छलफलमा ५ जना उम्मेदवारले लिम्बुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवारी घोषणा भएको हो ।
‘मिति २०८१ वैशाख १५ गते हुने इलाम– २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा रास्वपाका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार चैत्र १५ गते उम्मेदवारहरूबीच छलफल भयो,’ रास्वपाका केन्द्रीय निर्वाचन सचिव भूमिनन्द बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उक्त छलफलपश्चात् देहायका उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएकाले उल्लेखित निर्वाचन क्षेत्रहरूमा सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा एकल उम्मेदवार मात्र कायम रहेको छ ।’
कुनै समय नेकपा (माओवादी केन्द्र) निकट लिम्बू पूर्वपत्रकार समेत हुनुहुन्छ । उहाँसँग दृष्टि साप्ताहिकमा सम्पादक भएर काम गरिसकेको तथा केही टेलिभिजनमा समाचारवाचको रुपमा पनि काम गरेको अनुभव छ ।
माओवादी पार्टी परित्याग गरेको घोषणा गर्दै उनले इलाम– २ का लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । इलाम घर भएका युवा उनै लिम्बूलाई रास्वपाले आफ्नो उम्मेदवार बनाएको हो । उपनिर्वाचन नजिकिएसँगै लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै निर्वाचन क्षेत्रमा अभियान थाल्नु भएको थियो । उहाँले आफूलाई अकबरे उम्मेदवार भन्दै प्रचार गर्ने गर्नु भएको छ ।
सो निर्वाचनका लागि एमालेले दिवंगत उपाध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाइसकेको छ । एमालेले यूवा उम्मेदवार अगाडि सारेपछि उसलाई टक्कर दिन रास्वपाले पनि जनजाति पृष्ठभूमिका लिम्बूलाई उम्मेदवार बनाएको हो ।
२०७९ को चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर चुनाव लड्दा एमाले एक्लै भिडेको थियो । जसमा सुवास नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए । नेम्वाङले ३० हजार २० र खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ एमालेले २६ हजार ५६२ र कांग्रेसले २२ हजार ३३३ मत ल्याएका थिए । यस्तै रास्वपाले ४ हजार ६८६ मत ल्याएको थियो । माओवादी केन्द्रले समानुपातिकमा ५ हजार १५३ र एकीकृत समाजवादीले ५८६ हाराहारीमा मत पाएका थिए । तर गत निर्वाचनमा इलाम– २ बाट रास्वपाबाट प्रत्यक्ष उम्मेदवार बन्नु भएका प्रकाश सापकोटाले १ हजार ३८० मत प्राप्त गर्नु भएको थियो ।
एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ रिक्त थियो ।
इलाम– २ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
प्रकाशित मिति २०८० चैत्र १७, शनिबार ०७:२७ गते