शोकमाथि शोक : दाहसंस्कार सकाएर फर्कंदै गर्दा एकै परिवारका पाँचजनाको मृत्यु

शोकमाथि शोक : दाहसंस्कार सकाएर फर्कंदै गर्दा एकै परिवारका पाँचजनाको मृत्यु

रासस

@antaranganews

२०८० चैत १७ गते शनिवार ०८:१४

क्यान्सरबाट मृत्यु भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कंदै गरेकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्कने छैनन् भने मृतकका छोरा बेपत्ता छन् ।

४० वर्षीय छोरा शंकरको दाहसंस्कार सकाएर गाउँमै काजकिरिया गर्न तीनवटा गाडी लिएर ७० वर्षीया आमा जुनकिरीसहित सपरिवार गोरखा फर्कंदै थियो ।

मुग्लिन(चितवन)– यहाँ भएको एक ट्याक्सी दुर्घटनाका कारण एक परिवारमा शोकमाथि शोक थपिएको छ । गोरखाको गोरखा नगरपालिका– ७, पौवाखेतका ४० वर्षीय शंकर रोकाको परिवारमा त्यस्तो बज्र चैत १७ गते परेको हो ।
शंकरको क्यान्सर रोगबाट उपचारका क्रममा काठमाडौंमा हिजो मृत्यु भएको थियो । मृत्यु त्यो खबरले उनकी ७० वर्षीया आमा जुनकिरीसहित सिंगो परिवार शोकमा डुब्यो । शंकरको अन्तिम संस्कारका लागि गाउँबाट काठमाडौं गएकी आमा जुनकिरीसहित सबै परिवार र आफन्त दाहसंस्कार गर्न अबेर राति पशुपति आर्यघाटमा पुगे । दाहसंस्कारको काम सकाएर गाउँमै काजकिरिया गर्न तीनवटा गाडी लिएर सपरिवार गोरखा फर्कंदै थियो ।
शंकरका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कंदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आइ पुगेन । घर फर्कंदै गरेका तीनमध्ये दुई गाडी मुग्लिन पुगेर रोकिए । निकै बेर प्रतीक्षापछि पनि गाडी नआएपछि अनेक शंका उपशंका बढ्दै गयो ।
मुग्लिन पुगेका आफ्न्तले त्यो खबर प्रहरीलाई दिए । प्रहरीमा तत्कालै चितवनको इच्छाकामना गाउँपालिका– ५, सिमलधारा नजिकै बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको अबर आएपछि रोका परिवारमा अर्को बज्रपात पर्न गयो ।
त्यो खबर पछि परिवार र आफन्त घटनास्थलमा पुगे । प्रहरीले दुर्घटनास्थलबाट पाँच जनाको शव निकाल्यो । दुर्घटनामा परेका एकजना अझै बेपत्ता रहेको प्रहरी भनाइ छ ।
सो दुर्घटनामा ज्यान गुमाउनेमा जुनकिरीसहित उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल र नौ वर्षीय नाति आगमन उपरकोटी (हरिमायाका छोरा) रहेका वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीया दिवस रोका क्यान्सरबाट मृत्यु भएका शंकरका छोरा भएको बताइन्छ । वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘पाँचैजनाको शव अहिले गोरखा अस्पतालमा परीक्षणका निम्ति राखिएको छ ।’
अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरू समेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । दुर्घटनामा परी रोका परिवारमा पाँचजनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिंगो पौवाखेत शोकमा डुबेको छ ।
क्यान्सरबाट मृत्यु भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कंदै गरेकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्कने छैनन् भने मृतकका छोरा बेपत्ता छन् ।

प्रकाशित मिति २०८० चैत्र १७, शनिबार २०:१४ गते
हजुरको प्रतिक्रिया