इलाम– सभापति रवि लामिछानेसहित इलाम पुगेर यहाँ हुन लागेको इलाम– २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि रास्वपाले मिलन लिम्बूलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गरेको छ । इलामको लाँकुरी चौतारामा एक औपचारिक कार्यक्रम गरी रास्वपाले लिम्बूलाई आगामी उपनिर्वाचनको उम्मेदवार चैत १७ गते घोषणा गरेको हो ।
उम्मेदवार घोषणापछि सभापति रवि लामिछानेले लिम्बूलाई घन्टी हस्तान्तरण गरी शुभकामना दिनु भएको थियो । सभापति रविले अब चाँडै विजयी जुलुसमा उभिने घोषणा गर्नु भयो । उहाँले परिवर्तनको घण्टी बजिसकेको दावी गर्दै इलामले परिवर्तन खोजेको उहाँको भनाइ थियो ।
लिम्बूको उम्मेदवारी घोषणाका लागि उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, सांसद तोसिमा कार्कीसहितका नेताहरू इलाम पुगेर उमेदवार सार्वजनिक गर्नु भएको हो ।
लिम्बू यसअघि पत्रकार हुनुका साथै नेकपा (माओवादी केन्द्र) निकट हुनुहुन्थ्यो । तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम– २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि रास्वपाले उहाँसँग संवाद अघि बढाएर आफ्नो उम्मेदवार बनाएको हो ।
यहाँ एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ ।
रास्वपाले प्राइमरी इलेक्सनबाट लिम्बूलाई उम्मेदवार बनाएको दाबी गरेको छ ।
इलाम २ मा वैशाख १५ गते प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ ।
प्रकाशित मिति २०८० चैत्र १७, शनिबार २१:१२ गते