काठमाडौँ– सत्तारुढ दलका नेताहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगी प्रकरणमा सांसदीय छानविन समिति आवश्यक नरहेको बताएका छन् । सत्ताको प्रमुअ नेतृत्वकर्ता दल एमाले र तेस्रो ठूलो दल रास्वपाले त्यस्तो ठहर गरेका हु्न् । आज चैत १८ गते संसदको दुवै बैठक हुने कार्यसूचि छ तर सञ्चालन हुने नहुने बारेमा भने अन्योल कायमै छ ।
सभामुख देवराज घिमिरेले संसद् सञ्चालनका लागि चैत्र महिनाभित्रको आवश्यक कार्यसूची बनाउन बोलाएको बैठकपछि सञ्चारकर्मीमाझ एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्रधानमन्त्री लामिछानेमाथिको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन आवश्यक नरहेको एकै स्वरमा बतायनु भएको हो ।
नेपाली कांग्रेसले विवादमा मुछिएका उपप्रधानमन्त्री लामिछानेको राजीनामा नआई सदन चल्न नदिने अडान राख्दै आएको छ । तर सत्तारुढ प्रमुख घटक एमाले र राष्ट्यि स्वतन्त्र पार्टीले भने त्यो आवश्यक नभएको जिकिर गरेका छन् ।
एमालेका प्रमुख सचेतक बर्तौलाले सरकारलाई कामै गर्न नदिने नियतका साथ कांग्रेसले सो विषय उठाएको त्यसलाई स्वीकार गर्न नसकिने बताउनु भयो । उहाँका अनुसार राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर नेपाली कांग्रेसले सदनलाई अघि बढाउन वातावरण बनाउनुपर्छ भन्ने आफ्नो दलको धारणा छ ।
उता, गृहमन्त्री नेतृत्वकै राष्ट्यि स्वतन्त्र पार्टीका प्रमुख सचेतक परियारले पनि संसदीय छानविन समिति आवश्यक नभएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्रीले सो विषयमा संसदमा जवाफ दिइ सक्नु भएको, विभिन्न निकायले पनि सो विषयमा गृहमन्त्री संलग्न नभएको प्रतिवेदन दिदै आएको हुनाले सोही विषयलाई भजाएर नेपाली कांग्रेसले सदन अवरुद्ध गर्न नहुने तर्क तर्क गर्नु भयो ।
काँग्रेसले संसदको वेल घेराउ :
प्रतिनिधि सभाको चैत १६ गते बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदको वेल घेराउ गरेको थियो ।
बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरूले संसदको वेल घेराउ गर्न पुगेका थिए ।
उनीहरूले गृहमन्त्री राजीनामा दे ! सहकारी पीडितलाई न्याय दे ! लगायतका नाराबाजी गरी वेल घेराउ गरेका थिए । काँग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आईतवार ११ बजे बस्नेगरी स्थगित भएको थियो । तर आजको बैठक ३ बजेका लागि आह्वान गरिएको छ ।
दुवै सदनको बैठक आज :
संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्ने कार्य तालिका छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा शुरु हुने बताइएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट शुरु हुने सो सम्बन्धि सूचनामा उल्लेख छ ।
राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने तथा विभिन्न विधेयकको छलफल तथा प्रस्तुतिको कार्यतालिका रहेको छ ।
प्रकाशित मिति २०८० चैत्र १८, आईतवार १०:४२ गते