हिलेबजार(लमजुङ)– यहाँ सञ्चालन गरिएको १७ औ हिलेबजार खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि तनहुँको सिद्धगुफा युवा क्लव विमलनगरले जितेको छ । दोर्दी गाउँपालिका– ८ स्थित हिलेबजार युवा क्लवले फागु पूर्णिमाका अवसर सो प्रतियोयिगता चैत २० गते सम्पन्न भएको हो ।
आयोजक हिलेबजार युवा क्लव र सिद्धगुफा युवा क्लव विच भएको फाइनल खेलमा ३– १ गोल गर्दै सिद्ध गुफा विमल नगरले प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।
विजेता सिद्धगुफाले १ लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता हिलेबजारले दोस्रो पुरस्कार स्वरुप ९० हजार रुपैया, मेडल र प्रमाणपत्र पाएको छ ।
उक्त प्रतियोगितामा सेमिफाइलसम्म पुग्न सफल दुई टिम दुवार युथ सोसाइटी र शान्तिमिलन युवा क्लव नौथर सेरालाई १५÷१५ हजार रुपैया, मैडल र प्रमाणप्रत्र पुरस्कार दिइएको आयोजक हिलेबजार युवा क्लवका सचिव अमर तामाङले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिता दुवार युवा क्लवका अजुन भण्डारीले सर्वाधिक गोलकर्ताको उपाधि पाएको छन् । उनले अवधिभर ९ गोल गरेका थिए । यसैगरी, हिलोबजार युवा क्लवका लिलजंग तामाङले उत्कृष्ट खेलाडी र हिलेबजारकै सुजन विकले उत्कृष्ट किपरको उपाधि पाएका छन् । तिनै जना खेलाडीलाई नगद ५÷५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । चैत्र ११ गतेदेखि सुरु भएको भएको प्रतियोगितामा २६ टिमले भाग लिएका थिए ।
सोही अवसरमा सञ्चालन गरिएको भेट्रान फुटबल प्रतियोगितामा मालिङ युवा क्लव क्व्होलासोथार विजय भएको छ । फाइनल खेलमा दोर्दी– ४ साँदिखोलालाई २– १ गोलले पराजित गर्दै मालिङले उपाधि जितेको हो । विजेता मालिङलाई बोका र उपविजेता साँदिखोलालाई तीन वटा भाले पुरस्कार दिइएको छ । सो प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजकको भनाइ छ ।
क्लवले फागुपूर्णिमाका अवसरमा होली मेलाको आयोजना गरी दोर्दी गाउँपालिका स्तरीय आमा समुह नृत्य प्रतियोगिता समेत आयोजना गरेको थियो । जम्मा चार टिमले भाग लिएको नृत्य प्रतियोगितामा कन्या देवी आमा समूह दोर्दी– ८ टापगाउँ प्रथम, शितल आमा समूह खिनचोक बेसी द्वितीय र सिद्धार्थ मिलन आमा समूह हिलेबजार तृतीय भएका छन् । नृत्य प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ६ हजार र तीन हजार नगद सहित प्रमाणप्रत्र पुरस्कार दिइएको थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा विजयी टिम, खलाडी तथा नृत्यांगनाहरूलाई दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी र आयोजक हिलेबजार युवा क्लका अध्यक्ष सागर गुरुङले पुरस्कार वितरण गर्नुभएको आयोजक क्लवका सचिव अमर तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार सो अवसरमा दोर्दी गाउँपालिका– ८ का वडा अध्यक्ष नारायण घले, हिलेबजार टोल सुुधार समिति संयोजक लालवहादुर गुरुङ, क्लवका सहयोगीहरू, स्थानीय अगुवा तथा खेलप्रेमी व्यक्तित्वहरूको सहभागिता थियो ।
प्रकाशित मिति २०८० चैत्र २१, बुधबार ०९:२३ गते