बेसीशहर– लमजुङको पौराणिक एवम् ऐतिहासिक तथा पुरातात्विक महत्वले परिपूर्ण स्थल लमजुङ कालिकामा मन्दिरमा रहेक वर्ष लाग्ने गरेको चैते दशैंको परम्परागत मेलालाई यो वर्ष विशेष बनाउने तयारी गरिएको छ । लमजुङ कालिका युवा क्लवले उक्त कार्य गर्ने भएको हो ।
प्राकृतिक दृष्टिले समेत मनोरम गाउँशहर स्थित लमजुङ कालिका मन्दिर परिषरमा परम्परागत रुपमा लाग्ने मेलामा उहिल्यै खासमा ठेलो र ठाडोभाका हुने गरेको थियो । ठेलोको परम्परा भने पछिल्ला वर्षमा पनि धानिदै आएको भएता पनि ठाडोभाका भने हुन छाडेको वर्षौं बितिसकेको छ । तर यो वर्षबाट त्यस परम्परालाई निरन्तरता दिन लागेको लमजुङ कालिका युवा क्लवका सचिव मधुसुधन अधिकारीले बताउनु भयो । उहाँका अनुसार त्यसलाई ‘गाउँशहर चैतेदशैं मेला, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम– २०८०’ कार्यक्रम नामाकरण गरिएको छ । उहाँले भन्नुभयो, ‘विगतका वर्षहरूमा यस लमजुङ कालिका युवा क्लवले चैतेदशैंको अवसर पारी विविध खेलकुद कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको र यस वर्ष त्यसमा केही फरकपन दिन खोजिएको हो ।’
‘ऐतिहासिक, धार्मिक, पर्यटन र सांस्कृतिक संगम वनाऔं, गाउँशहर चैतेदशैं मेला, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रममा रमाऔं’ भन्ने मूल नाराका साथ विगतका वर्षहरूमा भन्दा पनि भिन्न तरिकाले रमाऔं भन्ने आह्वान गरिएको आयोजक क्लबका शुभचिन्तक कृष्णबहादुर देउजाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘रमाइलोका लागि रमाइलो मात्र नभई मौलिक संस्कृतिको जगेर्नाका लागि समेत यो मेला अविस्मरणीय होस् भन्ने उद्देश्य राखिएको छ । आउँदो वर्षबाट यो मेलालाई झनै व्यवस्थित गर्ने सोच रहेको छ ।’
उक्त कार्यक्रममा लोक दोहारीका वादशाह राजु परियार, अग्रज गायिकाहरू माया गुरुङ, उमा गुरुङ तथा पछिल्लोपुस्ताकी लोकिप्रिय गायिका मन्जु वि.क. लगायतको विशेष प्रस्तुति रहनेछ भने साथमा लोक नित्यका कार्यक्रमहरू तथा स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा ठाडोभाका गायन कार्यक्रम समेत विशेष रुपमा (साँझदेखि राति अवेर ११ः३० बजेसम्म) गराउने तयारी रहेको आयोजक क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनु भयो । ठाडोभाकाका लागि ठाडोभाका लोककला प्रतिष्ठान नेपालले प्राविधिक सहयोग गर्ने भएको छ ।
उहाँका अनुसार यस कार्यक्रमले गाउँशहरको मुटुमा रहेको लमजुङ कालिका मन्दिर, शाहवंशको उदय गराउने तत्कालीन राजदरवार, काउलेपानी मन्दिर, नेपालको उत्कृष्ट होमस्टे, शिल्पी संग्रहालय, पुरानोकोट गढी र वौद्ध स्तुपा क्षेत्रको पर्यटन प्रर्वद्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको छ । उहाँले भन्नुभयो, ‘उक्त कार्यक्रममा बेसीशहर नगरपालिका अन्तर्गतका विभिन्न वडाका स्थानीयहरूको मैलिक तथा सांस्कृतिक झाँकी र प्रस्तुतिहरु रहनेछ । र साथ साथै स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रमको रौनक थपिने छ । साथै खेलकुदका कार्यक्रम अन्तर्गत खुल्ला फुटवल प्रतियोगिता, छेलो प्रतियोगिता, आमा समूहको कुर्चीचाल प्रतियोगिता र बाबा समूहको घैटो फुटाइ प्रतियोगिता पनि सञ्चालन हुने कार्यक्रम छ ।’
प्रकाशित मिति २०८० चैत्र २२, बिहीबार १६:५८ गते