नौथर(लमजुङ)– दोर्दी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि जिविकोपार्जन मौरी पालनको तीन दिने तालिमको समापन भएको छ । दोर्दी अपाङ्गता सञ्जालको आयोजनामा सो तालिम सञ्चालन गरी चैत २२ गते समापन गरिएको हो ।
दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेको प्रमुख आतिथ्यतामा उक्त समापन कार्यक्रम गरिएको हो । सो अवसरमा सहभागीहरू सबैलाई मौरी सहितको घार समेत वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि घले, राष्ट्रिय अपाङ्ग महासंघका पूर्वकेन्द्रीय अध्यक्ष एवम् अविलिज फाउण्डेसनका नेपाल निर्देशक डा. वीरेन्द्रराज पोखरेल, राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष राम कार्की, दोर्दी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिल घले लगायतले संयुक्त रुपमा सहभागीहरूलाई मौरीको घार वितरण गर्नु भएको हो ।
सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले अपाङ्गताका क्षेत्रका अभियन्ता एवम् राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमका साथै दोर्दी गाउँपालिकाको गौरव बढेको बताउनु भयो । उहाँले यो क्षेत्रमा काम गर्नका लागि सिर्जिएका केही द्विविधालाई समेत निराकण गर्न उहाँहरूको उपस्थितिले मद्दत मिलेको उल्लेख गर्दै यस्ता कार्यक्रममा भोलिका दिनमा पनि गाउँपालिका सहकार्य गर्न तयार छ भन्नुभयो ।
विषय विज्ञ समेत रहनु भएका राष्ट्रिय अपाङ्ग महासंघका पूर्वकेन्द्रीय अध्यक्ष एवम् अविलिस फाउण्डेसनका नेपाल निर्देशक डा. वीरेन्द्रराज पोखरेलले आफ्नो संक्षिप्त मन्तव्यमा यो क्षेत्रमा आफूले काम गर्न थालेको ३० वर्ष भएको जानकारी दिनुभयो । उहाँले आफूलाई गाउँपालिकाले सम्मान गरेर विगतमा गरेका कार्यको सराहना र आफूलाई थप जिम्मेवार बनाएको अनुभूति गरेको उल्लेख गर्नुभयो ।
उहाँले दोर्दीप्रति आफ्नो अपनत्व रहेको स्मरण गर्दै हिजोका दिनमा दोर्दी क्षेत्रमा हाइड्रोपावरको विकासका लागि पनि प्रमोटरको भूमिका खेल्ने मौका पाएको र लमजुङमा झण्डै एक दशकदेखि यस पालिका र जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवनका लागि विभिन्न परियोजनामार्फत सहयोगको काम गरेको गर्वका साथ बनाउनु भयो । उहाँले लमजुङमा अपाङ्ग अधिकारका धरोहरका रुपमा रहनु भएका चन्द्रकान्त पौडेलको संस्था अपाङ्ग संरक्षण समाजसँग पनि आफ्नो संस्थाले सहकार्य गरिरहेको र भोलि पनि एक कार्यक्रमको बेसीशहरमा समापन हुँदैछ भन्नुभयो । उक्त अवसरमा अविलिस फाउण्डेसनका नेपाल निर्देशक डा. पोखरेललाई गाउँपालिकाकोतर्फबाट सम्मान गरिएको थियो । 
अविलिस फाउण्डेसन कार्यक्रममा सरोकारवालाहरूको प्रत्यक्ष सहभागिता चाहन्छ :
अविलिस फाउण्डेसनका नेपाल निर्देशक डा. पोखरेलले अपाङ्गता भएका सरोकारवालाहरूको प्रत्यक्ष सहभागिता कार्यक्रम गर्न चाहन्छ, त्यसको यो कार्यक्रम एक उदाहरण हो भन्नुभयो । उहाँले अपाङ्गताका नाउँमा काठमाडौंमा बसेर कार्यक्रम माग गरी कागजमा मात्र प्रगति देखाउने प्रवृत्ती आफ्ना लागि रुचिकर नभएको स्मरण गर्नुभयो । उहाँले आर्थिक परिचालनमा सम्बद्ध व्यक्तिहरूसँग प्रत्यक्षसम्पर्क गरी उनीहरूलाई लाभ पुग्ने गरी विश्वासिलो, सीपयुक्त, क्षमतावान बनेर पारदर्शी रुपमा कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिदै त्यस्ता संस्थाको पहिचान गरी स्थानीय तहले पनि सहयोगका हात बढाउनु पर्नेमा ध्यानाकर्षण गर्नुभयो । त्यसका लागि शिक्षा सूचना लगायतका क्षेत्रमा पहुँच बढाउन आवश्यक छ उहाँले भन्नुभयो ।
अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्थालाई सक्षम बनाउन जरुरी रहेकोमा जोड दिदै त्यस्ता संस्थाहरू सक्षम भएमा जन विश्वास बढ्छ र त्यस्ता संस्थामा मात्र स्थानीय सरकारले लगानी गर्नु पर्ने हुन्छ भन्नुभयो । डा. पोखरेलले लमजुङलाई अपाङ्गताका क्षेत्रमा सीप, सिर्जना बढाएर स्वरोजगारको हव बनाउन सकिने उल्लेख गर्नुभयो । उहाँले स्वरोजगार बढाउन सक्दा त्यसले राजस्व संकलनमा समेत योगदान गर्न सक्ने हुँदा अपाङ्गता भएका व्यक्ति बोझ होइनन् भन्ने सिद्ध हुन्छ त्यसैले यसतर्फ सबैको ध्यानाकर्षण गर्न चाहन्छु भन्नुभयो ।
सो अवसरमा दोर्दी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिलबहादुर घलेले आफ्नो पालामा अपाङ्गताका क्षेत्रमा काम गर्नका लागि प्रयास गरेको तर प्रयास गर्दागर्दै समय बितेको बताउनु भयो ।
राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष राम कार्कीले महासंघले नीति निर्माणको काम गरिरहेको बताउँदै महासंघमा मुलुकभरका समाज कल्याण परिषदमा आवद्ध रहेका चारसय संस्था आवद्ध रहेको जानकारी दिनुभयो । उहाँले महासंघले पैरवी, सचेतना, क्षमता अभिबृद्धि, समन्वय र सहकार्य जस्ता कार्य गर्ने गरेको बताउँदै स्थानीय सरकारको काम परिचय पत्र वितरण गर्ने मात्र होइन, सहायता सामग्री समेत निःशुल्क वितरण तथा सशक्तिकरणका कार्य गर्नु पर्छ भन्नुभयो ।
कार्कीले नेपालमा छ लाख ६८ हजार मानिस अपाङ्ग रहेको र जन्मदै अपाङ्ग हुने संख्या ३३ प्रतिशतमात्र रहेको बताउनु भयो । उहाँले दुर्घटनाका कारण ५० प्रतिशत र द्वन्द्वका कारण १७ प्रतिशत मानिस अपाङ्ग हुने गरेको अनुसन्धानबाट पुष्टि भएको जानकारी दिदै यसै कारण अझै पनि सचेतनाको कार्य गर्नु पर्ने छ भन्नुभयो ।
प्रशिक्षणमा कर्मचारी हावी :
गण्डकी प्रदेशको अपाङ्ग निर्देशक समितिका सदस्य एवम् विषय विज्ञ राजेन्द्र घिमिरेले ‘जसको सवाल उसको नेतृत्व’ हुनुपर्छ भन्ने आन्दोलनको अभिप्राय रहिआएको छ । आजको प्रशिक्षक ओलिया पनि ६÷७ वर्ष अघि सहभागी हुनुहुन्थ्यो आज प्रशिक्षक हुुनु भएको छ । हामी यसरी काम गर्न चाहन्छौं तर कतिपय पालिकामा कर्मचारी हावी हुने र आफैले तालिम लिने तथा समितिमा समेत कर्मचारीको हालीमुहाली चल्ने गरेको छ यस्तो प्रवृत्ती निरुत्साहित हुन जरुरी छ उहाँले भन्नुभयो ।
सो अवसरमा गण्डकी प्रदेशको अपाङ्ग महासंघ निर्देशक समितिका अर्का सदस्य एवम् स्याङ्जा अपाङ्ग समाजका निवर्तमान अध्यक्ष युवराज पराजुली, पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष एवम् अपाङ्ग महासंघका निवर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त पौडेल, प्रशिक्षक गोपाल ओलिया, तालिमका सहभागी उमाकान्त आचार्य लगायतले मन्तव्य तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
अविलिसको प्रशंसा :
अविलिस फाउण्डेसनले यस प्रकार अपाङ्गता भएका व्यक्तिहरूको बसोबास रहेको स्थल(दोर्दी गाउँपालिकाको केन्द्र नौथर)सम्म पुगेर पालिका भरका अपाङ्गता भएका व्यक्तिहरूको प्रत्यक्ष सहभागितामा उनीहरूको जिविकोपार्जन एवम् आयस्तर बृद्धिका लागि तीन दिने मौरी पालन तालिमका साथ मौरी सहितको घार वितरण कार्य गरेर आर्थिक सशक्तिकरणमा गरेको आर्थिक योगदानले सहभागीहरू तथा सरोकारवालाहरूका बीचमा निकै प्रशंसा पाएको छ । यस कार्यले अपाङ्गता (आदिवासी जनजाति)को समेत दुहाई दिदै काठमाडौंमा बसेर आदर्श छाट्ने र कागजमा मात्र प्रगति देखाउँदै लुट मच्चाउने प्रवृत्तीलाई यो कार्यले थप पाठ सिकाउने कार्यक्रममा बताइएको थियो ।
दोर्दी अपाङ्ग सञ्जालका अध्यक्ष धु्रव परियारको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रमको सञ्चालन लमजुङ नेत्रहीन संघका जिल्ला सचिव विष्णु पोखरेलले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० चैत्र २२, बिहीबार २२:१३ गते