राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आठौं लमजुङ महोत्सवका साथमा लमजुङ भ्रमणवर्ष– २०८१ को उघाटन

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आठौं लमजुङ महोत्सवका साथमा लमजुङ भ्रमणवर्ष– २०८१ को उघाटन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत २३ गते शुक्रबार ०९:०१

राजनीतिक परिवर्तनपछिको मुलुकको आवश्यकता अर्थतन्त्रलाई चलायमान, गतिशील र सुदृढ बनाएर देश विकासको गतिमा जोड दिनु जनताको चाहना भएको र त्यसलाई पूरा गर्नु राजनीतिक दलको अभिभाररा भएको पौडेलले बताउनु भयो ।

श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु पर्नेमा जोड

लमजुङ– राष्ट्रपति रामचन्द्र पौडेलले आठौं लमजुङ महोत्सवका साथमा लमजुङ भ्रमणवर्ष– २०८१ को उघाटन गर्दै लमजुङले मुलुकको साहित्य कला संस्कृतिका साथै लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको भन्दै सराहना गर्नु भएको छ । उहाँले लमजुङ उद्योग वाणिज्य संघको संयोजकमा आयोजना भएको ११ दिवसीय आठौ लमजुङ महोत्सवको जिल्लासदरमुकाम बेसीशहरमा उदघाटन गर्दै चैत २३ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले स्थानीयस्तरमा हुने यस्ता महोत्सव तथा मेला पर्वहरूले स्थानीयस्तरमा रहेका धर्म, कला, संस्कृति तथा परम्पराको परम्पराको जगेर्ना तथा उन्नयन गर्ने गर्ने मात्रै नभइ स्थानीय पर्यटन, व्यवसाय तथा उत्पादनको प्रवर्धन, औद्योगिक तथा परियोजनाका लागि लगानीमैत्री वातावरण समेत सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्नुभयो ।
उहाँले २००७ सालको परिवर्तनको पूर्वसन्ध्यामा जातीय भेदभाव, छुवाछुतविरुद्ध सामाजिक आन्दोलनको जागरण बनेको ‘हलोक्रान्ति’ यही भूमिबाट उब्जिएको स्मरण गर्दै राजनीतिक चेतनाका लागि ब्राम्हणहरूले चलाएको सामाजिक जागरणको अभियानले राणा शासनको जग हल्लाइदिएको र यहीबाट प्रजातन्त्रको उज्यालो प्रकाश पहाडी कन्दरामा फैलिएको उल्लेख गर्नु भयो ।
उहाँले लमजुङमा उत्पादित विद्युतको ट्रान्समिसन लाइन समयमा नबन्दा खेर जाने विद्युतलाई त्यसो हुन नदिन सम्बद्ध निकायको तत्काल ध्यानाकर्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले महोत्सव र भ्रमण वर्षले ‘धार्मिक, ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाः दीगो पर्यटन उद्योग प्रसार समुन्नत लमजुङको मार्गदिशा ।’ भन्ने उद्घोष साथ जिल्लामा रहेका भौगोलिक, साँस्कृतिक पर्यटनका ऐतिहासिक, साहित्य तथा गन्तव्यहरूका अलावा प्राकृतिक सम्पदाहरूको प्रचार गरी जिल्लाको दीगो पर्यटन प्रबर्धनमा सहयोग जुटाउने कार्यमा मद्दत गर्ने बताउनु भयोे । उहाँले जिल्लामा पर्यटक भित्र्याउने र सुस्ताएको व्यवसायलाई चलायमान गराउने, पर्यटन प्रबर्धनका माध्यमबाट स्थानीयस्तरका नागरिक तथा संरचनाहरूलाई समृद्ध बनाउनेजस्ता उद्देश्यहरूका साथ आगामी नयाँवर्ष २०८१ बैशाख १ गतेबाट सुरु हुन लागका भ्रमण वर्ष लक्षित अभियान तथा गतिविधिका माध्यमहरूबाट लमजुङ भ्रमण वर्ष २०८१ सफल हुनेछ भन्ने विश्वास लिएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले भौगोलिक रूपमा नेपालकै मध्यभागमा अवस्थित लमजुङ जिल्ला अनुपम प्राकृतिक सौन्दर्य, आस्थाका धरोहरका रूपमा धार्मिक सम्पदाहरू, गौरवपूर्ण ऐतिहासिक गाथा, लोकतान्त्रिक राजनीतिक आन्दोलन, मौलिक कला साँस्कृतिक पक्षका सर्व तथा दृष्टिले पनि आकर्षणको केन्द्रमा रहेको तथ्य स्वीकार्य नै रहेको स्मरण गर्नुभयो ।
श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु पर्नेमा जोड दिदै उहाँले मुलुकमा उत्पादन, रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ अब हामीले विशेष ध्यान दिनुपर्छ भन्नुभयो । निजी क्षेत्रसागको सहकार्यमा पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति विकास तथा मौलिक कला, संस्कृति, सम्पदा र रैथाने उत्पादनलाई पर्यटनसंग आवद्ध गराउनु पर्नेमा उहाँको जोड थियो ।
लमजुङमा लुकेको सम्पत्ति (हिडन ट्रेजर) को रुपमा रहेको र यहाँको हावापानी माटो र सिंगो प्रकृति अनुपम रहेको भन्दै कृषि क्रान्ति, पर्यटनको विस्तार र जलस्रोतको विकास लमजुङको सशक्त आधार रहेको हो उहाँले भन्नुभयो । यहाँको अन्तरनिहित सम्भावनालाई उजागर गर्न सके समृद्धिको स्वर्ग यही भेटिन्छ, रोजगारी र आम्दानीको खोजीमा देश विदेशमा भौतारिरहनु पर्दैन उहाँको थप कथन थियो ।
पौडेलले वाह्य तथा आन्तरिक पर्यटकहरूको आगमनले जिल्ला र प्रदेशको पर्यटन प्रबर्धन तथा आर्थिक समुन्नतिका लागि विशिष्ट योगदान त पुर्याउने नै छ, यसका अलावा यस्ता अभियान र गतिविधिहरूले राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुर्याउने छ भन्ने समेत आशा गरेको बताउनु भयो ।
राष्ट्रपति पौडेलले आफू छिमेकी जिल्ला तनहुँको बासिन्दा भएका कारण मेरा जीवनका ऊर्जाशील समयहरू तनहुँमा मात्रै होइन लमजुङमा समेत व्यतीत भएको स्मरण गर्दे यस कारण पनि यस जिल्लाका अधिकांश भू–क्षेत्र, राजनीतिक तथा सामाजिक पात्रहरू एवम् यहाँका धर्म, कला, संस्कृति परम्परासँग आत्मीयता मेरो भावनात्मकरूपमै अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्नुभयो । मुलुकको राष्ट्रपतिको भूमिकामा रहँदै गर्दा पनि लमजुङ जिल्लासँग जोडिएका मेरा जीवनका ती गतिशील समयका सम्झना तथा सङ्घर्षका यात्राहरू मेरा लागि हरदम प्रेरक क्षणका रूपमा लिइरहेको उहाँको भनाइ थियो ।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय सांसद उर्मिला रायमाझी, गण्डकी प्रदेश सभा सदस्य द्वय भेषबहादुर पौडेल, डा. टकराज गुरुङ, एमालेका जिल्ला अध्यक्ष राजकुमार विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक धर्म केसी, राप्रपाका जिल्लाध्यक्ष हरिप्रसाद रेग्मी, नेकपा (एकीकृेत समाजवादी)का जिल्ला अध्यक्ष रामबाबु अधिकारी, जसपाका जिल्ला अध्यक्ष बलबहादुर राना लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
महोत्सवमा विक्री हुने टिकटबाट प्रति टिकट ५ रुपैयाँ सामाजिक सेवा कोषका लागि सहयोग गर्ने निर्णय गरिएको छ । सो रकममध्येबाट नेपाल पत्रकार महासंघ लमजुङको भवन निर्माणका लागि १ रुपैयाँ सहयोग गरिने छ । त्यस्तै, कार्यक्रम स्थल रहेको सहजी खेल मैदान विकासका लागि १ रुपैयाँ, दैवीप्रकोप उद्धार कोषमा १ रुपैयाँ ५० पैसा, आदर्श महिला तथा बालविकास केन्द्र, मानव सेवा आश्रम र जेष्ठ नागरिक आरोग्य आश्रमलाई ५०– ५० पैसा सहयोग गरिने लउवा संघका सचिव विपिन श्रेष्ठले जानाकारी दिनु भएको छ ।
२०१ टल रहेको महोत्सव बैशाख ३ गते समापन गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ । स्थानीय व्यापारीका लागि ४० प्रतिशत छुटमा स्टल बुक गर्ने सुविधा दिइएको आयोजक समितिका निवर्तमान अध्यक्ष गुणराज सिलवालले बताउनु भयो । उहाँका अनुसार उक्त महोत्सवमा २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
उक्त कार्यक्रमको सञ्चालन लउवा संघका पूर्वअध्यक्ष राजेश थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८० चैत्र २३, शुक्रबार २१:०१ गते
हजुरको प्रतिक्रिया