इलाम– आउँदो वैशाख १५ गते इलाममा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट मिलन योङहाङ लिम्बूले उम्मेदवारी दर्ता गराउनु भएको छ । रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र चैत २४ गते दर्ता गराउनु भएको हो ।
सो अवसरमा रास्वपा सांसद निशा डाँगी तथा बिपिन आचार्यको समेत उपस्थिति थियो । इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याल लगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै ¥यालीसहित मनोनयन दर्ता गराइएको हो ।
लिम्बूको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सह–संयोजक सन्तोष श्रेष्ठ र समर्थकमा तेजकुमार श्रेष्ठ हुनुहुन्छ ।
मनोनयन दर्तापछि मन्त्री समेत रहनु भएका रास्वपा उपसभापति अर्यालले अन्य पार्टीलाई गाली गलौच नगरी आफ्नो पार्टीलाई मात्र चिनाउने काम गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनु भयो ।
उम्मेदवारी दर्ता गरेलगत्तै पत्रकारहरूसँग प्रतिक्रिया दिदै लिम्बूले आफ्नो उम्मेदवारी आफ्नो मात्रै नभएर इलामेली नागरिकको उम्मेदवारी भएको बताउनु भयो ।
विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
विप्लव र माओवादी केन्द्रको समर्थन एमालेलाई :
इलाम– २ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्ने भएका छन् । एमालेसहित तीन दलको इलाम जिल्ला समितिले एक अपिल प्रकाशित गरी एमाले उम्मेदवार सुहाङ नेम्वाङका लागि मत मागेको बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने समझदारी भएको भन्दै सुहाङका लागि मत मागिएको छ ।
अपिलमा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत, माओवादी जिल्ला संयोजक विजय खम्बु र नेकपाका इन्चार्ज मौसमले हस्ताक्षर गरेका छन् ।
नेम्वाङ र खड्काको चुनाव जित्ने दाबी :
नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको बताउनु भयो । यस पटक नयाँ ढङ्गले उहाँले बिना गाली गलौज र टीकाटिप्पणी बिना प्रचारप्रसार गर्ने बताउनु भयो । उहाँले पिता स्व. सुवासचन्द्र नेम्वाङले गरेका कामहरूको पदचाप पछ्याउँदै झनै राम्रो गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले इलाममा गरेको सामाजिक कार्यहरू हेरेर भोट दिन आग्रह गर्नु भएको थियो । उहाँले आफूले नेपाली कांग्रेसमा २०३९ सालदेखि काम गरिरहेकाले पनि भोट दिएर जिताउन सबैलाई आग्रह गर्नुभयो ।
झलनाथको दाबी : इलाम–२ मा एकीकृत समाजवादीले जित्छ, धेरै चकित हुनेछन् :
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम– २ को उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नु भएको छ । उम्मेदवारी दर्ता पछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवार जितबहादुर राईलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ, इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौं, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’ उहाँले थप भन्नुभयो, ‘यो प्रतिष्पर्धाको सहमति हो ।’
अर्को एक प्रसङ्गमा उहाँले अहिले विचार मिल्नेहरूको बीचमा सत्ता सहकार्य भएकाले लामो समय टिक्नेसमेत दाबी गर्नु भयो ।
२० जनाको उम्मेदवारी दर्ता :
आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार उपनिर्वाचनका लागि एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, नेकपा (एकीकृत समाजवादी)बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बू लगायत राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यसैगरी, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमसहित ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
चैत २७ गते चुनाव चिन्ह दिने र वैशाख १५ गते मतदान :
आज उम्मेदवारी दर्ता गरेका उम्मेदवार विरुद्ध भोलि बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ ।
उहाँले भन्नुभयो, ‘चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ भने वैशाख १५ गते मतदान गर्ने कार्यसूची रहेको छ ।’
पूर्व संविधान सभा अध्यक्ष तथा एमालेका वरिष्ठ नेता सुबास नेम्वाङको अप्रत्यासित निधनपछि इलाम– २ मा उपनिर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति २०८० चैत्र २४, शनिबार २०:४१ गते