बेसीशहर– लमजुङमा सञ्चालन गरिएको महिला सशक्तिकरणको कार्यक्रम विस्तार गर्न माग गरिएको छ । महिला शक्ति विकास केन्द्र नेपालले यहाँ आयोजना गरेको एक दिने जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले चैत २६ गते त्यस्तो माग गरेका हुन् ।
उक्त कार्यक्रम मध्यनेपाल नगरपालिकाका उपमेयर सीता गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको उदघाटन गर्दै उपमेयर गुरुङले यो कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । उहाँले यस कार्यक्रमलाई जिल्लाका दुई पालिकाको चारवटा वडामा मात्र सीमित गर्न हुँदैन, सके जिल्लाभर नभए पनि आठवटै पालिकाको एक एक वटा वडामा भने पनि सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले लैङ्गिक उत्तरदायित्वका बारेमा प्रदेश सरकारले समेत आफूहरूलाई तालिम समेत दिएको स्मरण गर्नु हुँदै अब त्यसलाई कार्यान्वयन गर्न अर्थात महिलालाई सशक्तिकरण गर्ने यस्ता कार्यहरूमा आफूले पालिकाबाट समन्वय गरेर थप के सहयोग गर्न सकिन्छ आफूले गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा आयोजक संस्थाका कार्यक्रम संयोजक सीता शाहीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु हुँदै संस्थाको २०६७ सालको फागुनमा काठमाडौंमा दर्ता भएको हो । यसले मुलुकका लमजुङ समेत विभिन्न १२ जिल्लामा काम गरेको भन्दै संस्थाले गरेको क्रियाकलापका बारेमा समेत जानकारी दिनुभएको थियो । उहाँले एक वडामा कम्तिमा चार वटा समूह रहेको र त्यस्ता एक समूहमा कम्तिमा २० जनादेखि ३० जनासम्म महिला आवद्ध रहेको जानकारी दिनुभयो ।
शाहीले त्यो समूहले जम्मा गरेको रकममा आफ्नो संस्थाले रकम थप गरेर समूहको जामानीमा आवद्ध महिलाहरूको आर्थिकस्तर उठाउन सहयोग गरेको जानकारी दिनुभयो । उहाँले त्यस्तो रकम आजका मितिसम्म १६ लाख ७१ हजार १९४ रुपैयाँ समूहलाई हस्तान्तरण गरिएको बताउनु भयो । सो रकम समूहले फिर्ता गर्नु पर्ने तर समूह भित्रै परिचालन गर्नु पर्ने प्रावधान रहेको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘सो रकम समूह भित्र एक प्रतिशत व्याजमा लगानी गर्न समूहलाई भनिएको छ ।’ सो रकम दुरपयोग नहोस् भन्ने उद्देश्यले समूहका तीन जनाको दस्तखतमा समूहको खाता सञ्चालन गर्ने गरी खोलिएको खातामा रकम पठाउने गरिएको शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो संस्थाका समूहमा आवद्ध महिलाहरू जुनसुकै पार्टीको भएता पनि मतदातामा सीमित नभई पदमा र त्यो पनि सकेसम्म माथिल्लो पद लिने हैसियतको हुनुपर्ने र त्यस्तो व्यक्तित्व बनाउनु पर्नेमा जोड दिदै आएको छ ।’ संस्थाले महिलाको सामाजिक, आर्थिक एवम् राजनीतिक तीनवटै पाटोमा सक्रियताका लागि भूमिका खेल्दै आएको छ उहाँले भन्नुभयो ।
सो रकमबाट समूहका सदस्यले इच्छाएको पेशा व्यवसाय, कुखुरा, बाख्रा पालन आदि कार्य गरेका छन् शाहीले बताउनुभयो ।
उ्रक्त कार्यक्रममा जिल्ला समन्वय समितिमा सदस्य बविता मजाकोटीले पनि यो कार्यक्रम महिलाहरूका लागि अति आवश्यक छ । तर जिल्लामा ७५ वडा रहेका छन्, यो कार्यक्रम चार वटा वडामा मात्र सीमित हुन भएन विस्तार गर्नु पर्यो भन्ने सुझाव दिनुभयो ।
अपाङ्ग संरक्षण समाज, लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलले संस्थाले यतिको काम गर्दा पनि अपाङ्गता भएका महिलालाई कार्यक्रममा नसमेटेकोमा किन भन्ने प्रश्न गर्दै त्रुटी सच्याउन सुझाव दिनु भएको थियो ।
कार्यक्रममा सहभागी हुन आउनु भएकी मध्यनेपाल नगरपालिका– १ जिताको वडासदस्य समेत रहनु भएकी मनमाया भट्टराई पौडेलले आफू चुल्हो चौको गरेर बसेको महिलालाई यस्तो हैसियतमा ल्याउने काम यही संस्थाले गरेको हो भन्नुभयो ।
सो अवसरमा वरिष्ठ पत्रकार नवराज पहाडी, आरसिडिसीका कार्यक्रम संयोजक, जिल्ला गैसस महासंघका अध्यक्ष डिवि मजाकोटी, पत्रकार बसन्ता भट्ट लगायतले विभिन्न जिज्ञासा राख्नु भएको थियो । ती जिज्ञासाको समेत सीता शाहीले समाधानको प्रयास गर्नुभएको थियो ।
सो कार्यक्रम जिल्ला कोअर्डिनेटर गौरीमाया गुरुङको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति २०८० चैत्र २६, सोमबार १८:१३ गते