राष्ट्रिय विभूति सरदार भक्ति थापाको २०९ औँ स्मृति दिवस मनाउने तयारी

राष्ट्रिय विभूति सरदार भक्ति थापाको २०९ औँ स्मृति दिवस मनाउने तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत २७ गते मङ्गलबार ०७:३८

सो स्थानमा भक्ति थापको अर्धकदको सालिक निर्माण र पार्क बनाउनका लागि मर्स्याङ्दी– ९ सिम्पानीका स्वर्गीय टुकमान थापाले २ रोपनी ८ आना १ दाम जग्गा निःशुल्क उपलब्ध गराउनु भएको थियो ।

सो अवसरमा आयोजित विभिन्न कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्न विभिन्न ८ वटा उपसमिति गठन गरिएको छ ।

भूलभूले(लमजुङ)– राष्ट्रिय विभूति सरदार भक्ति थापाको २०९ औँ स्मृति दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । मर्स्याङदी गाउँपालिका– ३ ढंगैबेसी स्थित भक्ति थापाको जन्मस्थलमा आउँदो बैशाख ६ गते विविध कार्यक्रमका साथ स्मृति दिवस मनाउने तयारी गरिएको भक्ति थापा जन्मस्थल संरक्षण, सम्बद्र्धन तथा विकास समितिले जनाएको छ ।
सरदार भक्ति थापाको स्मृति दिवसको अवसरमा खुला आमा समूह नृत्य प्रतियोगिता, खुला महिला र पुरूष रसी तान्ने प्रतियोगिता र खुला पुरूष छेलो हान्ने प्रतियोगिता आयोजना गरिने भएको आयोजक समितिको साँस्कृतिक उपसमितिको संयोजक अमृता पोखरेलले बताउनुभयो । उहाँका अनुसार खुला आमा समूह नृत्य प्रतियोगितामा प्रथम पुरस्कार १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार तथा सहभागी हुन टिम दर्ता शुल्क १ हजार राखिएको छ ।
खुला पुरूष रसी तान्ने प्रतियोगितामा प्रथमलाई ५ हजार र द्वितीयलाई ३ हजार, खुला महिला रसि तान्ने प्रतियोगितामा प्रथमलाई ४ हजार र द्वितीयलाई २ हजार पुरस्कार रहेको छ । खुला छेलो हान्ने प्रतियोगितामा पहिलो पुरस्कार ३ हजार र पगरी, दोस्रो हुनेलाई २ हजार र पगरी र तेस्रो हुनेलाई १ हजार र पगरी पुरस्कार प्रदान गरिने भएको खेलकुद सञ्चालन उपसमितिका संयोजक रवि थापाले बताउनुभयो ।
सो अवसरमा आयोजित विभिन्न कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्न विभिन्न ८ वटा उपसमिति गठन गरिएको छ । ती उपसमिति र संयोजकमा क्रमशः साँस्कृतिक उपसमिति अमृता पोख्रेल, प्रचारप्रसार देवेन्द्र भण्डारी, अतिथि सत्कार मुना गुरूङ, मञ्च निर्माण तथा सरसफाइमा हेमबहादुर तामाङ, आर्थिक हिरादेवी गुरूङ, प्रतिवेदन लेखन प्रेमबहादुर बस्नेत, चन्दादाता सम्मानमा तीर्थबहादुर बस्नेत र खेलकुद उपसमितिमा रवि थापा संयोजक रहनु भएको प्रचारप्रसार देवेन्द्र भण्डारीले जानकारी दिनु भयो ।
राष्ट्रिय विभूति सरदार भक्ति थापाको जन्मस्थल मस्र्याङदी– ३ ढगैँबेसी र उहाँले गाईबस्तु चराउँदै खेल्नेको हर्सिङडाँडाको प्रचारप्रसार र संरक्षणका लागि स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको भक्ति थापा जन्मस्थल संरक्षण, सम्बद्र्धन तथा विकास समितिका संयोजक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार गाउँपलि– ३ मा अवस्थित सरदार भक्ति थापाको जन्मस्थल ढंगैबेसीको संरक्षरण तथा प्रर्वद्धनको लागि भक्ति थापा पार्क निर्माणाधिन अवस्थामा रहेको छ । त्यस्तै, यसै वडामा रहेको हर्सिङडाँडालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
अध्यक्ष गुरुङका अनुसार भक्ति थापा पार्क र हर्सिङडाँडाको पर्यटकीय संरचनाहरूको विकासमा संघ र प्रदेश सरकारले यथोचित सहयोग गर्न नसकेको स्थिति रहेको छ । उहाँले भन्नुभयो, ‘तीन वटै सरकारको सहयोग र अन्य सहयोगी दातासमेतलाई समेटेर यस क्षेत्रको विकासमा लागि पर्न सबैपक्ष एकजुट भएर अघि बढ्नु पर्ने वतावरण बनाउन गाउँपालिका लागि परेको छ ।’
को हुन् भक्ति थापा ?
वि.सं. १८०२ सालमा हालको मर्स्र्याङदी गाउँपालिका– ३ को खुदीको ढंगैबेसीमा भक्ति थापाको जन्म भएको थियो । भक्ति थापाको वाल्यकाल ढंगै क्षेत्रमै बितेको हो ।
भक्ति थापा विसं १९७१ मा नेपाल– अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । नेपालको एकीकरणमा भक्ति थापाको महत्वपूर्ण योगदान रहेको छ । त्यसैले उनलाई वीर भक्ति थापासमेत भनिन्छ । उनलाई राज्यले सम्मान गर्न नसकेको भन्दै राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरिएको छ ।
गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धवन्दीका रुपमा काठमाडौं पुगेको करिब एक वर्ष पछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए ।
१८७८ मा ७३ वर्षको उमेरमा नेपाल अंग्रेज युद्धमा देउथलको लडाईंको नेतृत्व उनले गरेका थिए । देउथलमा अंग्रेज विरुद्ध तरबारसहित तीनसय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो ।
अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओडाएर सम्मानकासाथ अमरसिंह थापालाई बुझाएको इतिहासमा पढ्न पाइन्छ ।
उनै वीर योद्धा भक्ति थापाको ढंगैबेसीमा अर्धकदको सालिक निर्माण गरिनुुका साथै पार्क तथा अन्य पर्यटकीय संरचनाका साथ संग्राहलय निर्माण गर्ने क्रम जारी रहेको भक्ति थापा जन्मस्थल संरक्षण सम्वर्द्धन तथा विकास समितिका सचिव तीर्थ बस्नेतले बताउनु भएको छ ।
भक्ति थापाको जन्मस्थानको प्रचारप्रसार, संरक्षण र पर्यटकीय गन्तव्य बनाउनका लागि हसिंङडाँडामा बास बस्ने धर्मशाला, खानेपानी र शौचालयको व्यवस्था गरिएको छ ।
सो स्थानमा भक्ति थापको अर्धकदको सालिक निर्माण र पार्क बनाउनका लागि मर्स्याङ्दी– ९ सिम्पानीका स्वर्गीय टुकमान थापाले २ रोपनी ८ आना १ दाम जग्गा निःशुल्क उपलब्ध गराउनु भएको थियो । ।
लमजुङको राइनासकोटका साथै दाङको लमहीमा पनि थापाको सालिक बनाइएको छ ।

प्रकाशित मिति २०८० चैत्र २७, मंगलवार ०७:३८ गते
हजुरको प्रतिक्रिया