देशदेशान्तरका बाइस जना प्रतिभालाई २०७९ सालको नइ पुरस्कार समपर्ण

देशदेशान्तरका बाइस जना प्रतिभालाई २०७९ सालको नइ पुरस्कार समपर्ण

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १ गते शनिवार १०:०६

ती पुरस्कारको राशि दुई लाखको, एक लाखको १०, ६० हजारको एक, २५ हजारको एक १०– १० हजारको छ, सात हजार पुरस्कार राशिको एक र पाँच हजार रुपैयाँ राशिका थिए ।

भारतीय नेपाली प्राज्ञ नव सापकोटालाई दुई लाख रूपैयाँ पुरस्कार राशिबाट सम्मान गरिएको हो ।

काठमाडौं– राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहमा देशदेशान्तरका बाइस जना प्रतिभालाई २०७९ सालको नइ पुरस्कार समपर्ण गरिएको छ । नइ प्रकाशनले सो पुरस्कार चैत ३० गते समपर्ण गरेको हो ।
सम्मानित हुनुहुनेमा प्रसूति विशेषज्ञ प्रा.डा. सरस्वती पाध्ये, भारतीय नेपाली प्राज्ञ नव सापकोटा लगायत हुनुहुन्छ । समारोहमा नेपाली प्राज्ञ नव सापकोटालाई प्रसुति विशेषज्ञ प्रा.डा.सरस्वती पाध्येले ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्नुभयो । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउनु हुने भारतीय प्राज्ञ नव सापकोटालाई सो पुरस्कार समर्पण गरिएको हो । सो पुरस्कारको राशि दुई लाख रूपैयाँ रहेको छ ।
उक्त अवसरमा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले प्रसुति विशेषज्ञ प्रा.डा.सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ समर्पण गर्नुभएको थियो । सो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
यसैगरी, समारोहमा प्रा.डा.सरस्वती पाध्येले देशविदेशका नौ जना महानुभावलाई पनि ताम्रपत्र र जनही एक लाख रूपैयाँ राशिसहित २०७९ सालका नइ पुरस्कार समर्पण गर्नुभएको हो ।
सो पुरस्कारबाट सम्मानित हुनुहुनेहरूमा भारतीय साहित्यकार स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, देशभक्त चिन्तक डा. भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ शिक्षाविद् प्रा.जर्ज जोनलाई नइ भूपालदुर्गा पुरस्कार, खेलकुदका लागि कुमार मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’, चित्रकारिताका लागि कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’, पत्रकार हरिहर बिरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, धर्म तथा संस्कृतिमा प्राज्ञिक योगदानका लागि कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’, साहित्यकार श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ र काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र संवर्धनमा विशिष्ट योगदान पुर्याएबापत स्याङ्जाका विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गर्नुभएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार ताम्रपत्रसहित साठी हजार रुपैयाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ हास्यव्यङ्य मार्फत जनचेतना जगाउने शैलेन्द्र सिम्खडा, पचास हजार रुपैयाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ झापाका रीमा पाण्डेलाई र पच्चीस हजार रुपैयाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ मिस नेवा नीतु डङ्गोललाई प्रदान गरिएको छ ।
समारोहमा प्रा.डा.सरस्वती पाध्येले छ जना बाल बालिकालाई दस– दश हजार रुपैयाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभएको थियो । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना र खेलकुदतर्फ आहाना कार्की हुनुहुन्छ ।
त्यस्तै, सात हजार रुपैयाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ ऋषिका घिमिरे र ताम्रपत्रसहित पाँच हजार रुपैयाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ चार वर्षीय श्रेस्मी दाहाललाई प्रदान गरिएको थियो ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतमध्ये नव सापकोटा, प्रा.डा. सरस्वती पाध्ये र श्रीओम श्रेष्ठ तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट अनुभव सहितको मन्तव्य व्यक्त गर्नु भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भयो । उहाँका अनुसार
यसैगरी, उक्त समारोहमा शैलेन्द्र सिम्खडाले अभिनयका साथ कविता प्रस्तुत गर्नुभएको थियो भने पुरस्कृत बालबालिकाद्वारा गायन तथा नृत्य प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति २०८१ बैशाख १, शनिबार १०:०६ गते
हजुरको प्रतिक्रिया