लमजुङको पहिलो सामूदायिक रेडियो मर्स्याङदी ९५ मेगाहर्ज १८ वर्षमा प्रवेश

लमजुङको पहिलो सामूदायिक रेडियो मर्स्याङदी ९५ मेगाहर्ज १८ वर्षमा प्रवेश

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १ गते शनिवार ०९:३२

रेडियो मर्स्याङदीले आफ्नो स्थापना दिवसका अवसरमा प्रत्येक वर्ष आफ्नो क्षेत्रमा क्रियाशील एक आमा समूहलाई सम्मान गर्दै आएको छ । सो क्रममा यसवर्ष बेसीशहरको शान्तिटोल आमा समूहलाई सम्मान गरिएको हो ।

सो अवसरमा उत्कृष्ट स्रोता सम्मानलाई समेत सम्मान गरिएको छ ।

बेसीशहर– लमजुङमा सञ्चालनमा आएको पहिलो सामुदायिक रेडियो मर्स्याङदी ९५ मेगाहर्ज १८ वर्षमा प्रवेश गरेको छ । सामूदायिक विकास तथा सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो मर्स्याङदीले १८ औ स्थापना दिवस शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमका साथ बैशाख १ गते मनाएको हो ।
गण्डकी प्रदेश सभाका सदस्य भेषवहादुर पौडेलेको प्रमुख आतिथ्यतामा स्थापना दिवस तथा नयाँ वर्षको २०८१ को शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रम भएको हो ।
पौडेलले विभिन्न व्यक्ति र निकायको सहयोगमा १७ वर्ष पुरै गर्दा अबका दिनमा अरुको भर नपरी आफै अघि बढ्न सक्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्नुभयो । सञ्चार क्षेत्रमा व्यक्तिगत र आफू सम्वन्धित सघं संस्थाहरूको तर्फबाट सहयोग गर्ने प्रतिवद्धटा समेत व्यक्त गर्नुभयो । उहाँले वितेको २०८० समग्रमा निराशाको वर्ष रहेको भन्दै विगतमा भूकम्पको प्रभाव, कोभिड– १९ को असर, रुस युक्रेनको युद्धको प्रभावले आर्थिक मन्दि छाएको उहाँको तर्क थियो । यसले हरेक क्षेत्र प्रभावित भएको भन्दै विशेषगरी व्यवसाय प्रत्यक्ष मारमा परेको र यसको असर व्यवसायिक क्षेत्रसँग निर्भर हुदै आएका मिडियालाई परेको उल्लेख गर्र्दै प्रदेशसभा सदस्य पौडेलले यस्तो परिस्थति सधै नरहने बताउनु भयो । उहाँले उच्च मनस्थितिका साथ नयाँ जोस जाँगर र इमान्दारिका साथ काम गर्नु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधि व्यापार व्यवसायिक, महिला सञ्जाल र आमा समूहका पदाधिकारीहरू, सञ्चारकर्मी लगायतले रेडियो स्थापना दिवस तथा नया वर्ष २०८१ को अवसरमा सहभागी सबैले शुभकामना व्यक्त गर्नु भएका थियो । सहभागीहरूले सुचना र सन्देश प्रवाह सँगै समाजमा सकरात्मक परिवर्तनका लागि रेडियोले महत्वपूर्ण भूमिका खेलको भन्दै आगामी दिनमा सहयोग र साथ दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्ष समेत रहनु भएकी रेडियो निर्देशक मिना गुरुङले स्वागत मन्तव्यका साथमा रेडियो स्थापनादेखि हालसम्म सञ्चालन गरेका गतिविधिको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो । उहाँले शुरुवातमा दैनिक चार घण्टाबाट प्रसारण शुरु गरेको रेडियो मर्स्याङदीले हाल दैनिक १७ घण्टा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार, सम्बाद, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, जलवायु, वातावरण संरक्षण, विपद व्यवस्थापनका क्षेत्रमा समाचार तथा सन्देशमूलक रेडियो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैगरी बालबालिका, महिला, प्रौढ र युवा वर्ग लक्षित मनरोञ्जनात्मक कार्यक्रमहरू पनि उत्पादन र प्रसारण गर्र्दै आएको उल्लेख गर्नुभयो ।
रेडियोले स्थापना दिवसकै अवसरमा फरक फरक समयमा वालवालिका, युवा, महिला, ज्येष्ठ नागरीकहरू लक्षित छुट्टा छुट्टै कार्यक्रम पनि आयोजना गरेको छ ।
स्थापना दिवसकै सन्दर्भमा गत चैत १५ गते जेष्ठ नागरिकहरूका अनुभव आदानप्रदान तथा स्वास्थ्य परीक्षण गरिएको थियो ।
शान्तिटोल आमा समूह सम्मानित :
रेडियोले विगत वर्षझैं सो अवसरमा एक आमा समूहलाई सम्मान गर्ने क्रममा बेसीशहर नगरपालिका– ७ मा रहेको शान्तिटोल आमा समूहलाई सम्मान गरेको छ । सामुहिक रुपमा सामाजिक कार्यमा पुर्याएको योगदानकोे कदर गर्दै शान्तिटोल आमा समूहलाई समूहलाई सम्मान गरेको हो ।
समूहमा आवद्ध भई सँस्थागत रुपमा समूदायमा सकरात्मक काम गर्ने र उदाहरणीय काम गर्दै आएका आमा समूहहरूलाई सम्मान गर्ने क्रममा यसवर्ष शान्तिटोल आमा समूहलाई छनौट गरी सम्मान गरिएको रेडियो मर्स्याङदीका निर्देशक मिना गुरुङले बताउनुभयो ।
उक्त आमा समूहले स्थापना कालदेखिनै समुदायमा सक्रिय भई समाजिक कार्यमा लाग्दै आएको छ । सामुदायिक भवन निमार्णलाई मुख्य उदेश्य मानेको समुहले शान्तिटोल बाबाआमा समूह भवन निमार्णका साथै गुरुङको मौलिक संस्कार संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनको कार्यमा प्रमुख भुमिका निर्वाह गर्दै आएको छ ।
समूहकै पहलमा भवन निमार्ण पश्चात बेसीशहरको मर्स्याङदी नदीको किनारमा मरनघाट निर्माण, मानवसेवा आश्रमको भवन निर्माणमा सहयोग, समुहमा संकलित रकमबाट त्रिवेणी युवा क्लवले आयोजना गर्ने फुटवल प्रतियोगिता सहित जिल्लामा हुने विभिन्न कार्यक्रमहरूमा समेत सहयोग गर्दै आएको छ । समुहले तमु ल्होसारको अवसरमा टोल भित्रका जेष्ठ नागरिकलाई सम्मान गर्ने, टोलबाट एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान, आफ्नो टोलका असहाय सदस्यहरूको औषधी उपचारमा संहयोग संकलन तथा हस्तान्तरण, जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायले संचालन गर्ने हरेक गतिविधिमा सक्रिय सहभागी हुनुका साथै टोल र बजार सरसफाई अभियान सञ्चालन गरी सक्रिय रहेको आमा समूलाई रेडियोले सम्मान पत्रका साथमा मायाको चिनो प्रदान गरी सम्मान गरेको हो ।
आमा समूहका अध्यक्ष लोकमाया घलेलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य भेषवहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी वुद्धवहादुर गुरुङ, रेडियोका निर्देशक मिना गुरुङलगायतले संयुक्त रुपमा खादा, सम्मान पत्र र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको हो । सो अवसरमा आमा समूहका सदस्यहरू, शान्तिटोल बाबा समूहका अध्यक्ष चित्रवहादुर गुरुङ र अन्य सदस्यहरूको समेत सहभागिता थियो ।
रेडियो मर्स्याङदीले आफ्नो स्थापना दिवसका अवसरमा प्रत्येक वर्ष आफ्नो क्षेत्रमा क्रियाशील एक आमा समूहलाई सम्मान गर्दै आएको छ ।
उत्कृष्ट स्रोता सम्मान :
सोही अवसरमा रेडियोले उत्कृष्ट स्रोता सम्मान गरेको छ । रेडियोलाई सकरात्मक सुझाव सहित सहयोग प्रदान गर्दै आउनुभएका सुन्दरवजार नगरपालिका– ७ निवासी लक्ष्मीप्रसाद मिश्रलाई उत्कृष्ट स्रोताको रुपमा कदर गर्दै खदा, सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको हो । मिश्र सामाजिक कार्यका साथै साहित्यिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
रेडियोले आफ्नो १८ वर्षको इतिहासमा पहिलो पटक उत्कृष्ट स्रोतालाई सम्मान गरेको हो ।
२०६४ सालमा स्थापना भएको रेडियो सञ्चालक समितिका कोषाध्यक्ष एवं रेडियोका निर्देशक मिना गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको रेडियोका स्टेशन प्रमुख सन्देश पौडेलले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति २०८१ बैशाख १, शनिबार २१:३२ गते
हजुरको प्रतिक्रिया