बेसीशहर– लमजुङको जिल्ला सदरमुकामको यहाँ स्थित सहजी खेल मैदानमा सञ्चालन गरिएको आठौं लमजुङ महोत्सवको अवधि दुई दिन थप भएको छ । ११ दिवसीय रुपमा महोत्सव सञ्चालन गरी आज बैशाख ३ गते समापन गर्ने योजना रहेको महोत्सवको आकर्षण बढी रहेको हुँदा २ गते दुई दिन थप गर्ने र ५ गतेमात्र समापन गर्ने निर्णय गरिएको हो ।
महोत्सवको दुई दिन थप गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति समेत लिइएको आयोजक समितिका सचिव विपिन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पहिलो पटक व्यापार गर्न आउनु व्यापारीहरूको अनुरोधमा महोत्सवको अवधि थप गरिएको हो । उहाँले भन्नुभयो, ‘चैत दशैका दिन ४ गते विहान लमजुङ दरबार महोत्सवको टोलीसँग लउवा संघका पदाधिकारीको अन्तरक्रिया रहेको छ ।’ महोत्सवका दर्शकहरूको आकर्षण पनि उत्तिकै रहेकोछ, त्यसैले महोत्सवको दुई दिन थप गरिएको उहाँले जानकारी दिनु भयो ।
महोत्सवको अवसरमा नयाँ बर्ष तथा चैते दशैं मेला एवम् धार्मिक उत्सवका सन्दर्भमा बैशाख १ गते हाइकिङ पदयात्रा साइकलिङ एवम् शुभकामना आदान प्रदान गरिएको थियो । लमजुङ दरबारदेखि पुरानकोट गढी स्तुपासम्म हाइकिङ साइकलिङ र शुभकामना आदान प्रदान कार्यक्रम गरिएको आयोजकको भनाइ छ । चैते दशैं मेला एवम् धार्मिक मेला समारोह समिति अन्तर्गत पर्यटन प्रर्वद्धन उपसमितिको आयोजना लायन्स क्लब अफ लमजुङ बेसीशहर र लायन्स कल्ब अफ लमजुङ दरबारको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।
लमजुङ दरबार परिसरमा सहभागी भएर स्थानीय बासिन्दा लायन्स क्लबमा आवद्ध पदाधिकारी सदस्य र अन्य पर्यटकहरू हाइकिङ गरिएको पर्यटन प्रर्वद्धन उपसमितिका संयोजक देववहादुर गुरूङले बताउनु भएको छ । उहाँका अनुसार करिब डेढ घण्टाको सो यात्रामा शैक्षिक पदयात्रीहरूको सहभागिता थियो । ऐतिहासिक गढी स्तुपामा पदयात्रीले शुभकामना आदन प्रदान गर्नुका साथै राजा– रानी दरबारका भगनावशेष, स्तुपा देवीथान आदि क्षेत्रको अवलोकन गर्दै लालीगुँरासको जंगल घुमफिर र वरिपरिका मनोरम दृश्यको समेत अबलोकन गरेको लायन्स क्लब अफ लमजुङ बेसीशहरका संस्थापक अध्यक्ष सुरेशकुमार प्रधानले जानकारी दिनु भयो ।
सो अवसरमा लमजुङ साइकलिङ संघले पुरानकोट गढी स्तुपाबाट बेसीशहरसम्म सामुहिक साइकलिङ गरेको थियो । आठौं लमजुङ महोत्सवका अवसरमा जिल्लाको पर्यटन प्रर्वद्धन गर्नुका साथै साइकलिङ सम्भावना उजागर गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको सइकलिङ संघका संयोजक धु्रवराम प्रधानले जानकारी दिनु भयो ।
उहाँका अनुसार ऐतिहासिक गढी क्षेत्र स्तुपा घुमफिरसंगै साईकलिङ काउलेपानी होमस्टे, मङग्लेट्युड होमस्टे मन्दिर, लमजुङ दरबार र चण्डिस्थान बेसीशहर बजार हुँदै शहजी स्थित लमजुङ महोत्सव स्थलसम्म साइकलिङ गरिएको थियो । पर्यटन समितिका अध्यक्ष देवबहादुर गुरूङ, लायन्स क्लब बेसीशहरका संस्थापक अध्यक्ष सुरेश प्रधानका साथै आठौं लमजुङ महोत्सव स्थलमा आयोजकहरूद्वारा साइकल यात्रीलाई स्वागत गरिएको थियो ।
सो साइकलिङमा ११ बर्षीय दक्ष गुरूङदेखि ५८ बर्षसम्मका २४ जना साईकल यात्रीले भाग लिएका थिए ।
यसअघि गरिएको आमासमूह नृत्यमा मनाङ्गे चौतारा आमा समूह पहिलो, तामाङ घुदुङ दोस्रो, शान्ति टोल आमा समूह तेस्रो तमुकल्याण समाज र प्रगति टोल आमा समूहले सान्त्वना स्थान हासिल गरेका थिए । सो प्रतियोगितामा १० टिमले भाग लिएका थिए । तस् समूह लाई क्रमशः १५, १०, ५ हजार र २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
महोत्सवमा बैशाख २ गते साँझसम्म ३० हजार भन्दा बढी टिकट विक्री भएको छ ।
प्रकाशित मिति २०८१ बैशाख ३, सोमबार ०८:०५ गते