
बैतडी– पुर्चौडी नगरपालिका– ४ की १७ वर्षीया भतिजीमाथि पटक–पटक बलात्कार गरी हत्या गरेको अभयोगमा ३० वर्षीय पुरूष पक्राउ परेका छन् । ती पुरूषलाई प्रहरीले बैशाख ३ गते साँझ पक्राउ गरेको हो ।
चैत २६ गतेदेखि हराएकी किशोरी दुई दिनपछि स्थानीय जंगलमा मृत अवस्थामा फेला परेको हो । पोस्टमर्टममा किशोरीको पेटमा १८ हप्ताको बच्चा रहेको र टाउकोमा चोट लागेको देखिएपछि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनु भयो । उहाँका अनुसार पक्राउ परेका व्यक्तिले किशोरीलाई आफूले ढुंगाले हानेर हत्या गरेको स्वीकार गरिसकेका छन् ।
उहाँले भन्नुभयो, ‘अनुसन्धानको क्रममा किशोरीको काकाले पटक–पटक बलात्कार गर्दै आएको र गर्भ बसेपछि हत्या गरेको खुलेको हो ।’ किशोरीको डेढ वर्षअघि नै विवाह भएको र श्रीमान रोजगारीका लागि भारतमा रहेको खुलेको प्रहरी निरीक्षक केसीले उल्लेख गर्नु भयो ।
उहाँका अनुसार किशोरी र काकाको घर नजिकै रहेछ । लामो समयदेखि जबरजस्ती करणी गर्दै आएको काकाले आफ्ना गल्ती लुकाउन हत्या गरेको खुल्न आएको छ ।
पक्राउ परेका पुरूषविरूद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा मृतकका बुबाले उजुरी दिनु भएको छ । सोही अनुसार इलाका प्रहरी कार्यालय पाटनबाट थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।
प्रकाशित मिति २०८१ बैशाख ४, मंगलवार २०:३० गते