लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकामा कार्यालयका प्रमुख तथा कर्मचारी बिहीन हुँदा सेवाग्राही रित्तै फर्किन बाध्य भएको गुनासो आएको छ । निमित्त हाकिमले पनि निमित्त दिएर छाड्दा त्यस्तो स्थिति उत्पन्न भएको कार्यालय स्रोतबाट बैशाख ७ गते खुलेको हो ।
सो कार्यालयमा सेवा लिन जाँदा हाकिम फेला नपरेर सम्बन्धित शाखामा समेत गुनासो सुन्ने व्यक्ति फेला नपरेको हुँदा आफूहरू रित्तै फर्किएको दुईजना सेवा ग्राहीले नाम नछाप्ने सर्तमा अन्तरङ्गलाई फोनबाट बताएका छन् । यसबारेमा सो कार्यालयमा सम्पर्क गर्दा निमित्त प्रमुखको जिम्मेवारी पाउनु भएका प्रशासन प्रमुख विवेक पण्डितले पनि निमित्त दिएर छाड्दा यस्तो स्थिति उत्पन्न भएको रहस्य खुल्न आएको छ ।
सुन्दरबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पछिको दोस्रो वरियतामा शिक्षा शाखाका प्रमुख ठाकुरजी तिवारी हुनुुहुन्छ । त्यसपछि लेखा शाखाका प्रमुख लेखा अधिकृत कल्पना रेग्मी हुनुहुन्छ । त्यसपछिको वरियतामा प्रशासन प्रमुख विवेक पण्डित पर्नु हुन्छ । उहाँले ई. अतित खनाललाई निमित्त दिएर हिड्नु भएपछि समस्या सिर्जिएको जानकारीमा आएको छ ।
शिक्षा शाखामा तिवारी पछि पनि अर्का अधिकृत छन् भने नासु समेत रहेका छन् । तर शिक्षा शाखामा शिक्षकबाट तानिनु भएका अर्का विनिसमेत हुनुहुन्छ । तर त्यो शाखामा पनि बिनिबाहेक हिजो र आज कोही नदेखिएको स्रोतले बताएको छ । स्रोतका अनुसार विनि पनि सायद निजामति कर्मचारी हुन्थे भने गयल÷विदा मै हुन्थे होला । नगरपालिकाको कार्यालयमा यति अराजकता छ कि ! अनुशासन त कुन चरीको नाम हो ? भन्ने जस्तो छ, कसैले कसैलाई टेर्ने, सुन्ने वाला छैनन् स्रोतको दावी छ ।
यसबारेमा आजका कार्यालय प्रमुख ई. अतित खनालसँग सम्पर्क गर्दा हिजो र आज मैले निमित्त पाएको हुँ भन्नुभयो । उहाँसँग हाकिम नभएर निवेदनमा तोक लगाउन समेत पाइएन भन्ने गुनासो आएको छ नि ! भन्दा उहाँले भन्नुभयो, ‘म पुरै समय कार्यालयमै छु, हाम्रो खाजा खाने समय एक घण्टाको हुन्छ त्यो समयमा आएको भए जान्दिन, त्यसबेलामा पनि कोही आएर फर्केको भए कार्यालय सहयोगीले भन्नु पर्ने हो, केही भनेनन् ।’
‘निमित्तले निमित्त दिन मिल्दैन भन्ने निजामति ऐनमा उल्लेख छ भनिन्छ नि ?’ भन्ने अर्को जिज्ञासामा ‘म त प्राविधिक हुँ प्रशासनका कुरा धेरै थाहा हुँदैन, कार्यलय सञ्चालनको जिम्मा आएको हुँदा त्यो निर्वाह गरेको हुँ । थप कुरा मभन्दा माथिकासँगै बुझ्दा राम्रो होला’ उहाँले सुनाउनु भयो ।
यस बारेमा मेयर कृष्णप्रसाद कोइरालासँग सम्पर्क गर्दा ‘कार्यालयको स्थिति बेहाल, बेहाल जस्तै छ’ भन्नुभयो । मुख्य कुरा जिम्मेवारी लिएकाले जिम्मेवारी बुझ्नु पर्छ भन्ने हो, निमित्तले पनि निमित्त छाड्दा समस्या आइपरेको हो उहाँले बताउनुभयो । सेवाग्राहीको काम कसरी चलेको छ नि ? भन्दा त्यसरी रोकिएकै अवस्था त छैन उहाँले सुनाउनु भयो । हिजो तीन जना सेवाग्राही काम नभएर फर्के रे नि ! तोक लगाउने मान्छे नभएर ? भन्ने जिज्ञासामा एकछिन त्यस्तो रह्यो, पछि मैले खोजे र समस्या समाधान गरेको हुँ मेयर कोइरालाले उल्लेख गर्नु भयो । यतिबेला खेतीको मौसम छ, मानिसहरू काम छाडेर कार्यालयमा पुगेका हुन्छन्, रित्तै फर्कनु पर्दा त मीठो होला र ? भन्ने अर्को जिज्ञासामा उहाँले भन्नुभयो, ‘एकै घरमा तीन जना कर्मचारी छन्, एउटै कार्यालयमा एकै परिवारका २/३ जना हुन हुँदो रहेनछ भन्ने मेरो बुझाई हो ।’
प्रकाशित मिति २०८१ बैशाख ७, शुक्रबार २०:३७ गते