अपाङ्गता क्षमता विकास अभिमुखीकरण एकदिने कार्यशाला गरियो

अपाङ्गता क्षमता विकास अभिमुखीकरण एकदिने कार्यशाला गरियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख ९ गते आईतबार ०५:५८

सो अवसरमा स्वास्थ्य, शिक्षा, सहयोग सामग्री तथा व्यक्तिगत सहयोगी, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका भूमिका, अपाङ्गता भएको व्यक्तिहरूको सामाजिक सहभागिता बढाउने उपाय, तालिम, रोजगार र स्वरोजगारका विषयमा सहभागीहरूलाई छ समूह बनाई सुझाव संकलन गरिएको थियो ।

स्वावलम्बन जीवन पद्दति केन्द्र– पोखराको आयोजना तथा अपाङ्ग संरक्षण समाज लमजुङको संयोजनमा सो कार्यक्रम गरिएको हो ।

बेसीशहर– लमजुङमा प्रादेशिक ऐन तर्जुमा प्रक्रियामा स्थानीय अपाङ्गता भएका व्यक्तिका संस्थाको क्षमता विकास अभिमुखीकरण एकदिने कार्यशाला गरिएको छ । स्वावलम्बन जीवन पद्दति केन्द्र– पोखराको आयोजना तथा अपाङ्ग संरक्षण समाज लमजुङको संयोजनमा सो कार्यक्रम बैशाख ९ गते यहाँ गरिएको हो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष हेम गुरुङले आयोजक संस्थाको चिनारीका साथमा कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले आफूहरूले समाजका अन्य व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिले समेत सम्मानित जीवन बाच्न पाउनु पर्छ भन्ने उद्देश्यका लागि स्वावलम्बन जीवन पद्दति केन्द्र– पोखरा क्रियाशील रहेको छ र अपाङ्गता भएका व्यक्तिहरू पनि निर्णायक तहमा पुग्नु पर्छ भन्ने पैरवी गरिरहेको छ भन्नुभयो ।

उहाँले अन्तराष्ट्रिय महासन्धि(सिआरपि)लाई नेपालले स्वीकार गरिसकेको हुँदा सो अनुकुलका कानुन बनाउने र भएका कानुनलाई परिमार्जन गर्ने जिम्मा संघीय सरकारको रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहले काठमाडौंले बनाएको कानुन कार्यान्वय पनि उसैले गर्ने हो भन्दै अधिकारलाई वाइपास गरी उम्कने गरेको स्थिति छ, त्यसो गर्न पाइँदैन, कार्यान्वयनको जिम्मेवारी प्रदेश र स्थानीय सरकारको पनि उत्तिकै छ भन्नुभयो ।
सो अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा सुवेदीले प्रादेशिक ऐन तर्जुमा प्रक्रियामा कार्यपत्र प्रस्तुत गर्नु हुँदै स्थानीय अपाङ्गता भएका व्यक्तिको सरोकारका लागि प्रदेशस्तरमा बनाइएको नीतिका बारेमा जानकारी दिदै ऐनमा राख्नु पर्ने वुँदाका बारेमा सुझाव संकलन गर्नु भएको थियो । उहाँले लमजुङमा रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको तथ्यांक प्रस्तुत गर्दै आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले नीतिमा सैद्धान्तिक पद्दति समेटिने हुनाले ऐन जस्तो कार्यान्वयनका लागि सरकार बाध्यकारी हुने रहेनछ भन्दै सात प्रदेशमा अपाङ्गता नीति निर्माण गर्ने कार्यमा गण्डकी प्रदेश सरकार अग्रणी रहेको जानकारी दिनुभयो ।

सो नीति निर्माण गर्दा आफू पनि सुझावकर्ताका रुपमा सहभागी भएको जानकारी दिदै ऐनमा दुरदराजमा रहेबसेका अपाङ्गता भएका व्यक्तहरूका आवश्यकता र अपेक्षा नछुटु्न भन्ने कार्यक्रमको मूल उद्देश्य रहेको उल्लेख गर्नु भयो । सो अवसरमा स्वास्थ्य, शिक्षा, सहयोग सामग्री तथा व्यक्तिगत सहयोगी, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका भूमिका, अपाङ्गता भएको व्यक्तिहरूको सामाजिक सहभागिता बढाउने उपाय, तालिम, रोजगार र स्वरोजगारका विषयमा सहभागीहरूलाई छ समूह बनाई सुझाव संकलन गरिएको थियो ।
उक्त कार्यक्रममा अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष एवम् राष्ट्रिय अपाङ्ग महासंघका निवर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त पौडेलले अपाङ्गता भएको व्यक्तिहरूका चुनौति र सवाल तथा सकारात्मक उपाय विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
अनौपचारिक रुपमा सञ्चालन गरिएको कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सहजकर्ता दिनेश अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ बैशाख ९, आईतवार १७:५८ गते
हजुरको प्रतिक्रिया