बेसीशहर– विश्व हिन्दू महासंघको गण्डकी प्रदेशस्तरीय दोस्रो अधिवेशन लमजुङमो जिल्ला सदरमुकाम बेसीशहरमा आज बैशाख १५ गते हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आयोजकको भनाइ छ ।
कार्यक्रम अनुसार विहान १० बजे मनाङे चौताराबाट बाजागाजा सहितको र्याली(शोभायात्रा) हुनेछ । सो र्यालीले बजार परिक्रमा गरेपछि बेसीशहर नगरपालिका– ८ को प्रगतिटोल स्थित, तामु बाबा– आमा समूहको सभाहलमा अधिवेशनको उदघाटन लगायतका निर्वाचनका कार्यक्रम हुने बताइएको छ । अधिवेशनको सम्पूर्ण तयारी भएको विश्व हिन्दू महासंघको गण्डकी प्रदेशस्तरीय अधिवेशन तयारी प्रचार उपसमितिका संयोजक कमल अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार सो अधिवेशनको सनातन हिन्दू राष्ट्र पुनःस्थापना महाअभियानका अध्यक्ष पूर्वमन्त्री शंकर भण्डारीले उदघाटन गर्नु हुनेछ । उहाँले भन्नुभयो, ‘विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको अधिवेशनमा अभिभाकत्व रहने कार्यक्रम छ ।’ सो अधिवेशनमा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लाका प्रतिनिधिहरू दुई सयभन्दा बढीको सहभागिता रहने भएको छ । महासंघको विधान अनुसार हरेक जिल्ला समितिका पदाधिकारीहरू अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव स्वतः प्रतिनिधि हुने प्रावधान छ । यसैगरी, प्रत्येक जिल्लामा भएका आजीवन सदस्यहरूमध्ये १० जना बराबर एक जना प्रतिनिधि छनौट भई भाग लिन पाउने विधानमा उल्लेख छ ।
लमजुङ जिल्लाबाट करिब २५ जनाले प्रतिनिधिको रुपमा सहभागी हुने स्थिति रहेको केन्द्रीय सदस्य एवम् जिल्ला वरिष्ठ उपाध्यक्ष रमाराज खनियाले बताउनु भयो । उहाँका अनुसार माहोल निकै उत्साहपूर्ण रहेको छ, हामीले आंकलन गरेको भन्दा दोब्बर उपस्थिति बाहिर जिल्लाबाट रहेको छ । उहाँले भन्नुभयो, ‘हिजो देखिनै अनौपचारिक कार्यक्रम सुरु भएको छ । हिजो ४० जना प्रतिनिधिले आफ्ना भनाइ राख्नु भएको छ । सकेसम्म आज अधिवेशन सक्ने कार्यक्रम हो तर भन्न सकिने अवस्था छैन ।’
समिति चयनमा निर्वाचन पनि हुन्छ कि ? भन्ने जिज्ञासामा ‘निर्वाचन नहोला, अन्यत्र पनि आजसम्म निर्वाचन भएको रेकर्ड छैन । निर्विरोधका लागि प्रयास सुरु भइसकेको छ ।’ अधिवेशनको सफलताका लागि विश्व हिन्दू महासंघको गण्डकी केन्द्रीय समितिदेखि प्रदेशस्तरीय समिति तथा अन्य वरिष्ठ व्यक्तित्वको आगमन भइसकेको छ । नजिकका जिल्लाबाट विहान आउँदै हुनुहुन्छ खनियाले बताउनु भयो ।
कार्यसमितिको कार्यकाल तीन वर्षको हुने विधानमा व्यवस्था रहेको छ ।
प्रकाशित मिति २०८१ बैशाख १५, शनिबार ०८:२५ गते