इलाम– प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको इलाम क्षेत्र नम्बर– २ मा भएको मतदान पछि मतपेटिका संकलन कार्य थालिएको छ । बैशाख १५ गते मतदान सकिएपछि तीस्थलबाट मतपेटिका ल्याउन थालिएकोमा सो क्रम जारी छ ।
आज बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजे सकिएको हो । एक लाख १५ हजार ८८९ मतदाता रहेका इलाम– २ मा ५७ प्रतिशत मत खसेको आंकलन छ । करिब ६६ हजार जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनु भयो । उहाँका अनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उहाँले भन्नुभयो, ‘इलाम नगरपालिका– ७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतपेटिका संकलन गरिएको छ ।’
विहानसम्म करिब ७० हजार मत खस्ने आंकलन निर्वाचन कार्यालय र प्रशासनको थियो ।
मतगणना कार्य भोलि बिहान ७ बजेबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार, सबै मतपेटिका संकलन हुन मध्यरातसम्म लाग्न सक्ने देखिएको छ । उहाँले भन्नुभयो, ‘मतपेटिका संकलन सकिएपछि सर्वपक्षीय सहमतिपछि मतगणना सुरु गरिने बताइएको छ ।’
भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्ने स्थिति रहेको जिल्ला प्रशासनले जनाएको छ ।
यसैबीच, निर्वाचन आयोगले मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन दिएको छ । इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा भएको उपनिर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन सम्पन्न भएसँगै मतपेटिका सङ्कलन गरेर राजनीतिक दलहरूको सहमतिमा मतगणना अघि बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनु भयो । उहाँका अनुसार पर्सिसम्म दुवै क्षेत्रको मतगणना सम्पन्न हुने छ ।
इलाम– २ मा १९ उमेदवार चुनावी मैदानमा छन् । इलाममा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन् । उनीहरूका लागि ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको थियो ।
प्रकाशित मिति २०८१ बैशाख १५, शनिबार १९:३४ गते